Ekagaj Logo
०६ कात्तिक २०८१, मंगलबार
(Tuesday, 22 October, 2024)

स्वास्थ्य

स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुन संशोधन गर्न राय माग्दै स्वास्थ्य मन्त्रालय

इकागज |
भदौ २६, २०८१ बुधबार २१:३५ बजे

फाइल फाेटाे

काठमाडौँ - अस्पतालहरूमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरूमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुन संशोधनको तयारी गरेको छ ।

यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक दोस्रो संशोधनको मस्यौदा गरेको मन्त्रालयले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राय माग्दै पत्र पठाएको छ ।


प्रस्तावित विधेयकको मस्यौदामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनमा संशोधन गरी चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातपात भएमा तत्काल गैरजमानती गिरफ्तार (जेल विदआउट बेल) गर्ने व्यवस्था प्रभावकारी बनाइने विषय समेटिएको छ । ​

चिकित्सकहरूले उपचारकै क्रममा बेलाबखत आफूहरूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा माग गर्दै आएका छन् । यसलाई सम्बोधन गर्न गत साउन २७ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा चिकित्सकको सुरक्षा सुनिश्चित गर्दै आवश्यक नीतिगत सुधार गर्ने उल्लेख थियो ।

सोही अनुसार कानुन संशोधनको तयारी गर्दै मन्त्रालयले कानून मन्त्रालयसँग राय मागेको हो । संशोधन प्रस्ताव गरिएको व्यवस्थाले चिकित्सकको सुरक्षामा थप योगदान दिने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । कानुनबाट राय प्राप्त भए पछि विधेयकको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ ।


Author

थप समाचार
x