हप्तामा दुई पटक गराउनुपर्ने डायलाइसिस, रकम अभावमा एक पटक मात्रै
हेटौंडा : मकवानपुरको सरिखेत पालासेकी माया देवि मगर आफ्नो श्रीमान्लाई डायलाइसिस गराउन हप्तामा दुई पटक अस्पताल आउनुपर्नेमा एक पटक मात्रै आउँछिन् । श्रीमानलाई दुई पटक डायलाइसिस गराउनुपर्ने भए पनि उनलाई एकपटक गराउनै सकस पर्छ ।
सामान्य खेतिपाति गरेर उनीहरूको जीवनयापन चल्दै आएको छ । एक वर्षदेखि उनी हेटौंडाको चुरेहिल अस्पतालमा श्रीमान्को डायलाइसिस गराउँन आउने गर्छिन् । मकवापनुरमा डायलाइसिस गराउने एक मात्र चुरेहिल अस्पताल थियो । अघिल्लो पटक त उनले डायलाइसिस सेवाको खर्च तिर्न नसकेपछि अस्पतालका स्टाफ तथा डायलाइसिस गराउन आउने अन्यले रकम उठाएर तिरिदिएका थिए । एक पटक डायलाइसिस गर्न ३ हजार रुपैयाँ पर्छ । उनलाई घरबाट अस्पतालसम्म आउँजाउँ गर्न २५ सय रुपैयाँ अटोभाडा पर्छ ।
ऋण लिएर भए पनि श्रीमान्को उपचार गरिरहेको छु,' माया देवीले भनिन्, ‘ऋण दिनेहरू माग्न आउँछन् मसँग कुनै जवाफ नै हुँदैन । घर जमिन बेचेरै तिर्नुपर्छ अब ।’
चुरेहिल अस्पतालमा डायलाइसिस गराउने आउने मायादेवीले सोमबारबाट हेटौंडा अस्पतालमा निशुल्क डायलाइसिस सेवा सुरु हुने थाहा पाइन् । सोमबारदेखि हेटौंडा उपमहानगरको सहयोगमा अस्पतालमा ३ बेड डायलाइसिस सेवा सुरु भएको छ । जसमा एक माया देवीको श्रीमान् पनि छन् । अस्पतालले माया देवीको श्रीमान्लाई पहिलो प्राथमिकता दिएको छ ।
अन्य डायलाइसिस गराउन आउने परिवारका सदस्यहरूको पनि समस्या उस्तै छ । हप्तामा २ देखि ३ पटकसम्म डायलाइसिस गर्न निजी अस्पतालमा जानुपर्छ । 'स्वास्थ्य बिमामा डायलाइसिसको औषधि छैन भन्छन्' एक सदस्यले भनिन् । हेटौंडा अस्पतालमा पूर्ण निशुल्क डायलाइसिस सेवा हुने भएपछि केही सजह महशुस उनीहरुले गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकालाई युनिलिभर कम्पनीले २ थान र शिवम् सिमेन्टले १ थान डायलाइसिस मेशिन यसअघिनै दिएको थियो । केही दिनमा हेटौंडा उपमहानगरले फेरि ३ थान डायलाइसिस मेशिन अस्पताललाई दिदैछ भने हेटौडा उपमहानगरले आगामी वर्षमा २ वटा मेशिन खरिद गर्न बजेट विनियोजन गरेको हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले जानकारी दिए । ‘जनशक्ति व्यवस्थापन संघ र प्रदेश सरकारले गर्छ । हामी अस्पताललाई उपकरण दिन्छौं’ मेयर महतले भने ।
हेटौंडा अस्पतालले सबै मेशिनहरू आएसँगै अस्पतालमा एक सिफट्मा ११ जनाले डायलाइसिस सेवा लिन सक्ने जनाएको छ । अस्पतालका अध्यक्ष राजेश प्रसाईँले डायलाइसिसको लागि नेफ्रोलोजिमा डिएम गरेका चिकित्सक उपलब्ध भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया