स्वास्थ्य

निजी कम्पनीले बिचौलियाको काम गर्दा कोभिडविरुद्धको खोप ल्याउन सकेन

सरकार भन्‍छ; निजीले खोप आयात गरे खरिद गर्छौँ

अतिन आचार्य |
असार १५, २०७८ मंगलबार १९:८ बजे

काठमाडौँ : नेपालमा दोस्रो लहरको कोभिड-१९ संक्रमण गत वर्षको चैत अन्तिम सातादेखि फैलियो । वैशाखको अन्तिम सातादेखि अस्पतालको बेड भरिने र अक्सिजनको अभावसमेत भएको थियो । सुरुवाती दिनमा दैनिक करिब दुई सयको हाराहारीमा संक्रमितको मृत्यु हुन्थ्यो । हालसम्म नौ हजार भन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो समय खोप लगाएका भन्दा पनि नलगाउनेको मृत्युदर बढी रहेको छ । खोपको सर्वत्र माग रहँदा नेपालले भारतबाट खरिद गरेको र विभिन्न खोप कार्यक्रम अन्तर्गत पाउनुपर्ने खोप समेत पाएको छैन ।


नेपालमा अहिलेसम्म हुकम डिष्ट्रिब्युटर्स, लोमस फर्मा र इमाराल्ड फर्माले खोप आयात र बिक्री वितरणको अनुमति पाइसकेका छन् । हुकमले भारतको सेरम इन्स्टिच्युटबाट उत्पादित ‘कोभिशिल्ड’, लोमसले रसियाले निर्माण गरेको ‘स्पुतनिक–भी’ र इमाराल्डले बायोटेक इण्डियाको ‘कोभ्याक्सिन’ खोप ल्याउन अनुमति पाएका थिए । तर, खोप आयातको अनुमति पाएको करिब दुई महिना भइसक्दा समेत तीनैवटा कम्पनीले खोप आयात गर्न सकेका छैनन् ।

कोभिड महामारीको समयमा सरकारले तीन निजी कम्पनीलाई खोप आयात गर्ने अनुमति दिए पनि बिचौलियाको काम गर्न खोज्दा निजीले खोप ल्याउन सक्ने सम्भावना टर्दै गएको छ । विभागले विभिन्न मुलुकले निर्माण गरेको खोप आयात गर्ने अनुमति दिएको थियो । निजी कम्पनीले खोप आयात गर्ने अनुमति पायो तर ल्याउन सकेको छैन ।

हुकम डिष्ट्रिब्युटर्सले भारतबाट 'कोभिसिल्ड' खोप खरिद गरी आयात गरी सरकारलाई वितरण गर्ने भनिए पनि अहिलेसम्म आयात गर्न सकेको छैन । हुकमले खरिद गर्ने खोपमा कमिसनको चलखेल भएपछि खोप आयातमा कठिन भएको थियो । सरकारले भारतसँग खरिद गरेको खोप हालसम्म पनि पाएको छैन । निजी कम्पनीले राज्यलाई संकटमा सहयोग गर्नुपर्ने हो । खोप जस्तो संवेदनशील कुरामा बिचौलियाको काम गर्दा खोप आयात गर्न सकेका छैनन् ।

'कम्पनीलाई कागजात पठायौँ, खोप आयातको समय पर्खेका छौ'

खोप खरिदका लागि रसियन स्पुटनिक कम्पनीसँग खरिद गर्न खोजेको भए पनि कम्पनीले खोप नपठाएको लोमस फर्मास्युटिकल्स निर्देशक प्रज्वलजंग पाण्डे बताउँछन् । खोप खरिदका लागि सम्पूर्ण प्रक्रिया पूरा गरी  कम्पनीलाई कागजात पठाइसकेको उनको भनाइ छ ।

'खोप उत्पादन गर्ने कम्पनीसँग हामीले बुझ्दा खोप आउँछ भनेर प्रतिक्रिया दिने गरेका छन्,' पाण्डे भन्छन्,' कहिले आउँछ, खोप आउने मितिको पर्खाइमा हामी छौ ।' खोपको मूल्यसहितको सम्पूर्ण विवरण उपलब्ध गराउन नेपालबाट पटक-पटक आग्रह गरिसकेको उनले बताए ।

'खोप आयात गरेमा अनुमति दिन्छौँ'

नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका खोपलाई आयात गर्न केही निजी कम्पनीलाई यसअघि नै अनुमति दिइसकेको खोपऔषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । उनका अनुसार तीन वटा कम्पनीले खोप आयात गर्न अनुमति पाइसकेका छन् । हुकम डिष्ट्रिब्युटर्स, लोमस फर्मा र इमाराल्ड फर्माले खोप आयात र बिक्री वितरणको अनुमति पाइसकेका छन् ।

'अहिलेसम्म खोप आयात गरेको विभागलाई जानकारी आएको छैन, ' केसीले इकागजसँग भने,' विभागले अनुमति दिएको कम्पनीले खोप ल्याएमा केही पनि असहमति प्रकट गर्दैन ।' कुनै पनि कम्पनीले कोभिडविरुद्धको खोप ल्याएमा सहजै अनुमति दिने केसीले प्रस्ट पारे ।

'निजीले खोप आयात गरेमा सरकारले खरिद गर्छ'

खोपको आवश्यकता परेको समयमा निजी कम्पनीले खोप ल्याएमा नेपाल र नेपाली जनताको लागि राहत हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । महामारीमा निजी कम्पनीलाई खोप आयात गरी सहजीकरण गरिदिन सरकारले खोप आयातको अनुमति दिएको उनले जानकारी दिए ।

'निजी कम्पनीले खोप आयात गरेमा सरकारले खोप खरिद गर्छ,' डा. अधिकारी भन्छन, 'निजीले खोप ल्याएमा सर्वसाधारणलाई खोप बिक्री गर्न अनुमति दिने छैनौ ।'  निजीले खोप आयात गरेमा स्थानीय, प्रदेश र केन्द्र सरकारले खोप खरिद गर्न सक्ने उनले जानकारी दिए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x