Ekagaj Logo
२० कात्तिक २०८१, मंगलबार
(Tuesday, 05 November, 2024)

स्वास्थ्य

डाँडाफयाँ गाउँका जुमा र झोपा बिरामी पर्न थाले

इकागज |
कात्तिक २०, २०८१ मंगलबार ७:४८ बजे

सांकेतिक तस्विर

सिमकोट गाउँपालिका– ७ डाँडाफयाँका पशुवस्तुमा अज्ञात रोगको सङ्क्रमण देखिएको छ । केही दिन यतादेखि डाँडाफयाँ, थाया, जबुका गाउँलगायतका चौपायामा अज्ञात रोग देखिन थालेको स्थानीयले बताएका छन् ।

यहाँका जुमा र झोपाले घाँस नखाने, र्याल काढ्नेलगायत रोग देखिन थालेको स्थानीय डबल सिंहले बताए । आफ्ना लगायत अन्य जुमा, झोपा पुशमा यस्तो लक्षण देखिएको उनले बताए । हालसम्म दुईवटा झोपा अज्ञात रोगले मरेका छन् । झोपाको मूल्य पछिल्लो समय रु ८० हजारसम्म पर्ने गरेको छ । खेत जोत्नका लागि पालिएका झोपा अज्ञात रोगले मरेपछि ठूलो नोक्सानी हुने यहाँका किसानले गुनासो पोखेका छन् ।


अज्ञात रोगले झोपा मर्न थालेपछि धनजनको क्षति हुनुका साथै खेत जोत्न पनि समस्या हुने सिंहको गुनासो छ । तिहार बिदा भए पनि सोमबार पशु अस्पताल तथा पशु सेवा कार्यालय सिमकोट पुगेर औषधि लिएर आएको उनले बताए।

डाडाफयाँमा फैलिएको अज्ञात रोगका विषयमा पशु अस्पताल तथा पशु सेवा कार्यालयमा जानकारी लिँदा पशुवस्तुमा लागेको रोग प्रष्ट पहिचान हुन नसकेको कार्यालयले जनाएको छ । तिहार बिदामा पनि कार्यालयमा औषधि माग्न पुगेका किसानले भनेका आधारमा औषधि  पठाएको पशु अस्पतालका निमित्त प्रमुख कृष्ण रोकायाले बताए ।

बिदाको समय भए पनि किसान औषधि माग्न पुगेपछि आफूले औषधि दिएर पठाएको निमित्त कार्यालय प्रमुख रोकायाले बताए। गाउँमा रोग फैलिए पनि बिदाको समय भएकाले कुन रोग देखिएको हो प्रष्ट हुन नसकेको बताइएको छ ।

निमित्त कार्यालय प्रमुख रोकायाका अनुसार किसानले पशुवस्तुमा देखिएको रोगको उपचारका लागि प्राविधिक खटाइदिन आग्रह गर्न सिमकोट गाउँपालिकामा जानुपर्ने बताए। पशु कार्यालयमा त्यत्ति धेरै बजेट नहुने भएकाले पछिल्ला वर्षमा औषधि खरिदलगायत सबै बजेट पालिकामा जाने भएकाले प्राविधिक र औषधि मागका लागि किसान गाउँपालिका जानुपर्ने उनले बताए ।

पशुवस्तुमा देखिएको रोग र औषधिको अवस्थाबारे गाउँपालिका पशु शाखामा बुझ्न खोज्दा सम्पर्क हुन नसकेको हो । पालिकाभित्रका पशुवस्तुमा देखिने रोग र रोकथामका साथै पशु क्षेत्रमा सिमकोटले बजेट छुट्याए पनि यहाँका किसानले बर्सेनि पशु वस्तुमा देखिने विभिन्न रोगले पशु मर्दा नोक्सानी व्यहोर्दै आएका छन् । अहिलेसम्म औषधिसमेत गाउँपालिकाबाट नपाएको गुनासो गरेका छन् ।


Author

थप समाचार
x