स्वास्थ्य

कोभिड महामारी

‘स्वास्थ्य मापदण्ड पालना नगरे फेरि संक्रमण भयावह बन्‍न सक्छ’

देशभर निषेधाज्ञा खुकुलो गरेसँगै संक्रमितको संख्या बढ्दै

अतिन आचार्य |
असार १८, २०७८ शुक्रबार १०:४५ बजे

फाइल फोटो

काठमाडौँ : पछिल्लो समय दोस्रो लहरको कोभिड-१९ संक्रमितको संख्या घट्दै गएपछि देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो हुँदै गएको छ । गत वर्षको चैत महिनाको अन्तिम सातादेखि संक्रमण तीव्र रुपमा फैलिएछि मुलुकमा निषेधाज्ञा गरिएको थियो । कोभिडको जोखिम रहँदै आम मानिसको जनजीवन सामान्य बनाउन र मुलुकको अर्थतन्त्र चलायमान गराउन भए पनि निषेधाज्ञाको स्वरुप परिवर्तन गरेसँगै पुनः कोभिड फैलन सक्ने त्रास बढेको छ । 

काठमाडौँ उपत्यका लगायत अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो गरेसँग मानिसहरूको 'मुभमेन्ट' बढ्दै गएको छ । संक्रमितको संख्या घटे पनि मुलुकमा कोभिडको जोखिम भने घटेको छैन । मास्क नलगाउने र सार्वजनिक स्थलमा सामाजिक दूरी कायम हुन छोडिसकेको छ । उपत्यका लगायत बाहिरी जिल्लामा भिडभाड बढने र विभिन्‍न राजनीतिक दलले सभा सम्‍मेलन गर्न थालेका छन् यसलो संक्रमण रोक्ने होइन झन फैलाउने आशंका बढ्दै गएको छ ।


 यो समाचार तयार पार्दासम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अधिक जिल्लामा निषेधाज्ञा खुले लगत्तै तीन दिनमा मात्रै देशभर आठ हजार २८८ संक्रमित थपिएका छन् । अल्फा भेरियन्ट भाइरस परिवर्तित स्वरुपमा भाइरस देखिएको समयमा निषेधाज्ञा खुकुलो हुनु लागि घातक जस्तै हुने भएको छ । अझ परिवर्तित भाइरस तीव्र रुपमा फैलिने चिकित्सकहरू तथा स्वास्थ्य मन्त्रालयले जनाउँदै आएको छ । अहिलेको अवस्थामा संक्रमण फैलदै गएमा दुई-तीन महिनामा पुनः यसअघिको जस्तै गरी संक्रमण फैलने विज्ञहरू बताउँछन् । 

'काठमाडौँमा परीक्षण भयो, बाहिर भएन'

उपत्यका बाहिर बढी संक्रमित भएको ठाउँमा पूर्ण रुपमा परीक्षण दर कम भएकाले पनि केही दिनयता कोभिड संक्रमितको संख्या बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका पूर्व निर्देशक सागर कुमार राजभण्डारी बताउँछन् । काठमाडौँमा मात्र बढी संक्रमितको संख्या बढी भएकाले बढी परीक्षण गरी संक्रमितको संख्या कम भएको उनले बताए ।

'बाहिरी जिल्लामा आवश्यक मात्रामा कोभिड परीक्षण नभएकाले संक्रमितको संख्या घटिसकेको भन्न मिल्दैन । अधिकांश मानिस निजी सवारीसाधनबाट उपत्यका भित्रिन थालेका छन्,' उनी भन्छन्,' बाहिर जिल्लाबाट आएका मानिसलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनुपर्छ । बाहिरबाट आएका मानिबाट उपत्यका पुनः जोखिमको सम्भावना बढ्दै गएको हो ।'

डा. राजभण्डारीले आम मानिसले जनस्वास्थ्यको महत्त्व नबुझ्दा पनि कोभिड संक्रमण फैलदै गइरहेको बताए । कोभिड परीक्षण गरीसकेपछि आइसोलेसनमा बस्नुपर्ने थियो तर नबसेर बाहिर-बाहिर घुम्दा संक्रमण बढेर अवस्‍था भयावह बन्न सक्‍ने उनको भनाइ छ ।

कोभिडबाट सुरक्षित रहन मुख्य खोपको आवश्यकता रहेको राजभण्डारीको भनाइ छ । बढी बाहिर हिंडडुल गर्ने मानिसलाई सरकारले खोपको व्यवस्था गरिदिनलाई पनि उनले आग्रह गरेका छन् ।  युवावस्थाका मानिसहरू निषेधाज्ञा खुकुलो भएपछि बाहिर काम गर्न जाने भएकाले घरमा रहेका मानिसलाई जोखिम हुने उनले बताए ।

'अधिकांश मानिसलाई खोप लगाएर निषेधाज्ञा खुकुलो बनाउनुपर्थ्यो'

अधिक मानिसले खोप लगाइ सकेर एन्टीबडी बनिसकेकाले निषेधाज्ञा खुकुलो पार्नुपर्ने अवस्था आयो भनेर निषेधाज्ञा खोल्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बासुदेव पाण्डे बताउँछन् । कोभिड परीक्षण कम भइरहेकाले पनि संक्रमतिको संख्या घटिरहेको उनको दाबी छ ।

'समयमा खोप लगाउन सकेमा मात्र आम मानिसलाई सुरक्षित राख्‍न सकिन्छ,' उनी भन्छन,' विभिन्न ठाउँमा संक्रमितको संख्या बढिरहेकाले उक्त ठाउँमा परीक्षण गरी आइसोलेट गर्नुपर्छ ।' सरकारले खोपलाई पहिलो प्राथमिकतामा राखी काम गर्नुपर्ने पाण्डेले सुझाव दिए । ज्येष्‍ठ नागरिक र उमेर समूह अनुसार खोप लगाउन बाँकी रहेका मानिसलाई अबिलम्ब खोप लगाउनुपर्ने उनले प्रस्ट पारे ।

अहिलेको अवस्थामा संक्रमण फैलदै गएमा दुई-तीन महिनामा पुनः पहिलेको जस्तो गरी संक्रमण फैलने डा. पाण्डेको दाबी छ । कोभिड नियन्त्रणका लागि सरकार मात्र गम्भीर नभएर आम सर्वसाधारण पनि गम्भीर हुनलाई उनले सुझाव दिए । सार्वजनिक यातायात सञ्चालन भएकाले यात्रु तथा अन्य सवारीसाधनमा भउका चालक तथा सहचालकले जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उनको भनाइ छ ।

'स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरौ'

पछिल्लो समय स्वास्थ्य मन्त्रालयले सहजै काम गर्न नपाएको मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारी बताउँछन् । सरकारले कोभिड अध्यादेश जारी गरेपछि सक्रिय भएर मन्त्रालयले काम गर्न नपाएको उनको भनाइ छ ।  कोभिड घटेर निषेधाज्ञा खुकुलो नभएको र अहिले पनि कोभिडको जोखिम उत्तिकै रहेको उनले बताए ।

'सर्वसाधारण तथा जिम्मेवार नागरिकले जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्छ,' डा. अधिकारी भन्छन,' धेरै संख्यामा मानिसहरू खोप लगाउन बाँकी रहेका छन् ।' सरकारले विभिन्न माध्यमबाट खोप आयात गर्न पहल गरिरहेको उनले बताए । कोभिडबाट सुरक्षित रहने भरपर्दो माध्यम खोप रहेको उनको दाबी छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x