बच्चालाई मेकअप गराएर जीवन नै अन्धकार बनाउँदै त छैनौं ?
काठमाडौं : छोरी बिबिसालाई लिएर ललितपुर, जावलाखेल बस्ने हरिता प्रसाई ठकुरी (३७) केही दिनदेखि निकै चिन्तित छिन् । छोरीको अनुहारमा एक्कासी एलर्जी आउन थालेपछि उनलाई चिन्ता लाग्न थालेको हो । कोभिड-१९ को डरले छोरीलाई अस्पताल लैजान नसकेपनि उनले धेरै छाला रोग विशेषज्ञ (डर्मेटोलोजिस्ट) सँग आफ्नी छोरीको समस्या राखिसकिन् । तर, अझै निको हुने छाँटकाँट देखिएको छैन । ‘सुरुमा अनुहारको छाला सुख्खा भयो,’ हरिताले भनिन्, ‘त्यसको भोलिपल्ट चिलाउन थाल्यो भनि हुँदाहुँदा अहिले त अनुहारभरी एलर्जी ( साना-साना बिबिरा) निस्कियो ।’
बिबिसा १० वर्षकी भइन् । हरिता मेकअप आर्टिस्ट हुन् । कोभिडले स्कुल बन्द भएपछि छोरीलाई पनि पार्लरमै लैजाने गरेकी थिइन् हरिताले । ‘अरुलाई मेकअप गरेको देखेपछि छोरीले ‘म पनि गर्ने’ भन्दै जिद्धि गरि,’ उनले भनिन्, ‘के नै होला र भनेर गरिदिएँ । ठूलालाई लगाउने मेकअप सानालाई के ‘सुट’ हुन्थ्यो र । त्यो बेलादेखि अनुहार पुरै बिग्रियो ।' अहिले उनको सल्लाह छ- ‘स-साना छोरीहरूलाई मेकअपबाट सकेसम्म टाढै राखौँ ।’
लक्ष्मी कार्की (३४) टिकटककी पारखी हुन् । उनको सिको गर्दै छोरी सुयना पनि टिकटक बनाउन थालेकी छिन् । काठमाडौँ, पहेँलोपुल बस्ने सुयना भर्खरै नौ वर्षकी भइन् । स्कुल बन्द भएसँगै सुयनाले टिकटकमै ‘टाइमपास’ गर्ने गरेकी छिन् । लक्ष्मीको होटल छ । कोभिडका कारण धेरै समय उनको होटल बन्द भयो । होटल बन्द भएपछि लक्ष्मीका आमाछोरी टिकटक तिर लागेँ । ‘कोठामा बस्दा-बस्दा दिक्क लागेपछि आमाछोरी टिकटक बनाउन थाल्यौँ,’ लक्ष्मीले भनिन्, ‘अहिले पनि टिकटकमा दिन बितेको पत्तै हुँदैन ।’
टिकटक बनाउन सुयनालाई लक्ष्मीले भरपुर साथ दिन्छिन् । विशेषगरि टिकटक बनाउने बेला छोरीलाई मेकअप गरिदिएर । मेकअप गर्दा आफैले प्र्रयोग गर्ने सौन्दर्य सामग्रीहरू उनी प्रयोग गरिदिन्छिन् । सुयना आज भोलि बिना मेकअप बिरलै देखिन्छिन । लक्ष्मीका अनुसार बिना मेकअप उनी टिकटक बनाउन मात्र होइन घरबाट बाहिर समेत निस्किन मान्दिनन् । ‘टिकटकमा राम्री देखियोस् भनेर मेकअप गरिदिन्थे,’ लक्ष्मीले भनिन्, ‘अहिले त मेकअप नगरी घरबाट बाहिरै निस्किन मान्दिन । आजभोलि मैले नगरिदिए पनि आफैँ मेकअप गर्छे । बिहान उठ्नेबित्तिकै ऐना हेरेर मेकअप गर्न थालिहाल्छे ।’
यसमा उनी छोरी भोलि गएर ठूलो मेकअप आर्टिस्ट बन्ने लक्षण देख्छिन् । तर, डा.अरुणा उप्रेतीको अर्थमा यो अभिभावकहरूको महामुर्खता हो । बालबालिकालाई मात्र नभएर ‘कस्मेटिक्स’ कसैका लागि पनि लाभदायक नभएको उनी बताउँछिन् । बालिकाहरूलाई अनुहारमा गोरो बनाइने क्रिम, ओठमा रङ्गिचङ्गी लिपिस्टिक, गालामा टिलिक्क टल्किने रोज, आँखामा बजारिया गाँजल लगाइदिनु भनेको उनको भाषामा उनीहरूलाई माल सामान बनाउनु बराबर हो ।
‘बच्चाहरूको छाला आफैँ राम्रो हुन्छ,’ उनी भन्छिन्, ‘त्यसमा मेकअप दल्नु भनेको ‘तेरो छाला नराम्रो होस्’ भनी श्राप दिनु बराबर हो ।’ गोरो बनाउने क्रिममा मर्करी (एक रसायनिक तत्व) हुने उनी बताउँछिन् । ‘मर्करी छालामा सोसिएपछि यो बिस्तारै शरीरिभित्र जान्छ,’ उनी भन्छिन्, ‘मर्करीले शरीरका विभिन्न अंग विशेषगरी मृगौला र कलेजोमा नराम्रो असर पार्छ । यसले रोगसँग लड्ने शक्ति बिस्तारै कम बनाउँदै लैजान्छ ।’
त्यस्तै, गोरो बनाउने भनिएका क्रिममा ‘ब्लिचिङ्ग पाउडर’ हुने भएकाले यसले पनि असर गर्ने उनी बताउँछिन् । ‘ब्लिचिङ्ग पाउडर विशेषगरी लुगामा प्रयोग गरिन्छ,’ उनी भन्छिन्, ‘जसरी लुगा ब्लिच गरेपछि सेतो हुन्छ, त्यसरी नै अनुहार गोरो बनाउन पनि ब्लिचिङ्ग पाउडर प्रयोग गरिएको हुन्छ । त्यसले अनुहारलाई एकछिन त सेतो बनाउँछ । तर, कपडाको लागि प्रयोग गरिने कुरा अनुहारमा प्र्रयोग गर्दा कस्तो असर गर्छ तपाईंहरू आफैँ विचार गर्नुहोस् ।’
जाडो मौसममा बच्चाहरूको अनुहार फुट्छ भनेर अनेक किसिमका क्रिमहरू लगाइदिनु गलत भएको उनी बताउँछिन् । ‘बच्चालाई हातमुख फुट्यो भनेर नचाहिँने नामै नसुनेका क्रिम लगाइदिनुपर्दैन,’ उनी भन्छिन्, ‘उनीहरूको अनुहार र शरीरमा अनेक किसिमका क्रिमभन्दा तोरी, जैतुन, बदाम र नरिवलको तेल लगाउँदा राम्रो हुन्छ ।’
१० वर्षमुनिका बच्चालाई टाढा राख्नुस् मेकअप र कस्मेटिक्सबाट
छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण सौन्दर्य प्रसाधनलाई तीन भाग बाँढ्छन् । त्यो हो -छाला, कपाल र नङका लागि प्रयोग गरिने सौन्दर्य प्रसाधन । उनका अनुसार यि मध्ये सबैभन्दा हानिकारक नङ र रौँको लागि प्रयोग गरिने सौन्दर्य सामग्री हुन् । ‘नङ र रौँमा प्रयोग गरिने सौन्दर्य प्रसाधनमा छालालाई हानी गरिने रसायनिक तत्वहरू मिसाइएको हुन्छ,’ उनी भन्छन्, ‘जसको कारण नेलपलिस र हेयर कलर लगाउँदा धेरैलाई एलर्जी हुन्छ । झन् यस्ता सौन्दर्य सामग्री बालबालिकाको हकमा त झनै हानिकारक हुन्छ । यि प्रसाधन बच्चाहरूलाई लगाइदिने त टाढाको कुरा छुनै दिनु हुँदैन ।’
त्यस्तै, ओठमा लगाउने लिपिस्टिकमा पनि कडा केमिकल प्रयोग गरिने भएकाले यसको प्रयोगबाट पनि बच्चालाई टाढा राख्नुपर्ने उनी बताउँछन् । ‘मेकअप सामग्रीमा रङ्गीचङ्गी बनाउन केमिकल हालिएको हुन्छ,’ उनी भन्छन्, केमीकल शरीर भित्र गएपछि तत्कालै केही असर नदेखिए पनि दीर्घकालिन रूपमा विभिन्न समस्या देखिन सक्छ,’ उनी भन्छन्, ‘सुरुवाती चरणमा छालाको एलर्जी देखिन्छ । दिनदिनै त्यही केमिकल लगाउने बानी परेपछि छाला हुँदै मृगौलालाई समेत असर गर्न थाल्छ । साथै, क्यान्सरको समेत संभावना हुन्छ ।’
डा. कर्ण १० वर्षभन्दा मुनिको बच्चाहरूलाई कुनै पनि कस्मेटिक्स नलगाइदिन आग्रह गर्छन् । ‘बच्चाहरूका लागि भनेर अहिलेसम्म कुनै कस्मेटिक्स बनेका छैनन्,’ उनी भन्छन्, ‘जतिसुकै ब्रान्डेड मेकअप लगाएको भन्नेहरू पनि अन्ततः छालाका समस्याहरू लिएर आउने गरेका छन् ।’ उनी कहाँ अहिले ‘छाला सुख्खा भयो’, ‘छालाको पाप्रा गयो’, ‘सेतो दाग आयो’, ‘घामको एलर्जी भयो’ भन्दै बच्चालाई लिएर आउने अभिभावक धेरै छन् । ‘उनीहरू आफैले लगाउने मेकअप बच्चालाई लगाइदिन्छन्,’ उनी भन्छन्, ‘त्यो मेकअप मेटाउन/पखाल्न पनि आफैले प्रयोग गर्ने ‘फेसवास’ (मुखधुन प्रयोग गरिने क्रिम) प्रयोग गर्छन् । कलिलो छालालाई जबर्रजस्ती माडिदिन्छन् । कस्मेटिक्स हटाउन प्रयोग गर्ने ‘फेसवास’ ले झनै सुख्खापन र एलर्जी बढाउँछ । घामको एलर्जी हुने, गाला र ओठ फुट्ने समस्या निम्त्याउँछ ।’
डा. कर्णका अनुसार कस्मेटिक्स कसैका लागि पनि राम्रो होइन । मेकअप भनेको सधैँ प्रयोग गर्ने कुरा पनि होइन । वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले बच्चाका लागि केही क्रिमहरू बनेको भएपनि सौन्दर्य सामग्रीहरू अहिलेसम्म नबनेको बताउँछिन् । ‘बच्चाका लागि केही क्रिम बनेको भएपनि मेकअप सामग्रीहरू भनेका छैनन,’ उनी भन्छिन, ‘यसको मतलब सोन्दयै सामग्रीले उनीहरूलाई राम्रो गर्दैन । कहिलेकाहीँ ठूलाहरूले नै प्रयोग गर्दा त असर गर्छ झन् सानालाई असर नगर्ने कुरै भएन ।’
बालिकाहरूलाई ठूलाले जे प्रयोग गरिरहेको छन् त्यही क्रिमहरू प्रयोग गर्ने गरेको उनले बताउँछिन् । त्यसबाट एलर्जीका समस्याहरू देखिएको समेत उनले बताउँछिन् । ‘बालबालिकालाई मेकअप गर्नुहोस भनेर हामी पनि सल्लाह दिन सक्दैनौँ,’ उनी भन्छिन्, ‘बच्चाहरूलाई मेकअप गर्नेपर्ने भए पनि ‘प्रोटेक्सन’ अपनाएर गर्नपर्छ । पहिला प्रोटेक्सन क्रिमहरू लगाएर मात्र अरु मेकअप लगाइदिपर्छ । त्यसले भित्र छालामा मेकअपमा हुने रसायन छिर्न दिँदैनन् । तर, सकेसम्म उनीहरूलाई मेकअप नलगाएकै राम्रो ।’ धेरैबेरसम्म मेकअप राख्दा त्यसले समेत असर गर्ने उनी बताउँछिन् । ‘लामो समयसम्म मेकअप राख्दा छालामा भएका प्वालहरूले श्वास फेर्न पाउँदैन,’ उनी भन्छिन्, ‘ठूलाहरूलाई दाग, धब्बा र डण्डीफोरहरू छोप्नको लागि हेभी मेकअप गरिन्छ । लामो समयसम्म टिपोस् भनेर ‘वाटर फ्रुम मेकअप’हरू पनि गर्ने गरिन्छ । तर, बालबालिकालाई त्यो मेकअप झुक्किएर पनि गर्नुहुँदैन ।’
त्यस्तै, मेकअप हटाउँदा पनि जे पायो त्यहिले मेकअप हटाइदिन नहुने उनी बताउँछिन् । ‘उनीहरूकै लागि बनेको लोसन र तेलहरूको प्रयोग गर्नुपर्छ,’ उनी भन्छिन्, ‘मेकअप लगाइदिएर मात्र हुँदैन, मेटाइदिनु पनि पर्छ । नमेटाउँदा चिलाउने, फोकाहरू उठ्ने हुनुको साथै छाला खत्तम भएर जान्छ ।
गलत हो- सुन्दरतामा आधारित आत्मविश्वास
छाला रोग विशेषज्ञ डा.स्मृति श्रेष्ठले अहिले विशेषगरी बालिकाहरू छिट्टै परिपक्व हुँदै गएको बताउँछिन् । ‘पहिला १४/१५ वर्षको उमेरमा डण्डिफोर आउने भए पनि अहिले ९/१० वर्षकै उमेरमा धेरैलाई डण्डीफोर र अन्य छालाका समस्याहरू देखिने गरेको छ,’ उनी भन्छिन् ‘त्यो सबै कस्मेटिक्स नकारात्मक कमाल हो । संसारको जस्तोसुकै राम्रो ब्रान्डको क्रिम भनेपछि त्यसमा विशाक्त तत्वहरू मिसिएको हुन्छ ।’
केही देशहरूले धेरै अनुसन्धानपश्चात मात्र यस्ता सामाग्रीको प्रयोग गरिने भएपनि नेपालमा अन्धाधुन्दा सौन्दर्य सामग्रीको प्रयोग हुनु दुःख लाग्दो कुरा भएको उनी बताउँछिन् । ‘अन्य मुलुकमा ‘कस्मेटिक्स एक्ट’ मा धेरै कुराहरू उल्लेख गरिएको हुन्छ,’ उनी भन्छिन्, ‘हाम्रोमा कस्मेटिक्सको हकमा जे गरेपनि आफ्नै मनलाग्दी छ ।’
छाला रोग विशेषज्ञ डा. सुदीप पराजुलीले बालबालिकाहरूको छाला संवेदनशील हुने भएकाले सौन्दर्य सामग्रीहरू प्रयोग नगर्न सल्लाह दिन्छन् । बच्चाहरूको छाला कलिलो हुने भएकाले सौन्दर्य सामग्रीले उनीहरूलाई असर गर्ने उनी बताउँछन् । ‘बच्चाहरूको हकमा ठूला मानिसको छाला मोटो र कडा हुन्छ,’ उनी भन्छन्, ‘उनीहरूको छालामा हत्तपत्त मेकअपको असर तत्काल मेकअपको असर नदेखिए पनि बच्चाहरूको छाला कलिलो हुन्छ । उनीहरूला मेकअपको प्रभाव तुरुन्तै देखिइहाल्छ ।’
डा. उप्रेती रङ्गीबिरङ्गी सौन्दर्य सामग्रीको भित्रि कथा निकै कालो भएको बताउँछिन् । ‘आज लगाएर भोलि नै सौन्दर्य सामग्रीको असर नदेखिए पनि यसले जीवन नै अन्धकारतिर धकेल्छ,’ उनी भन्छिन्, ‘छाला रोग विशेषज्ञकहाँ अहिले अधिकांश कस्मेटिक्सको प्रयोगले असर गरेका महिला र बालिकाहरू जाने गरेको पाइन्छ । जुन एकदमै दुखलाग्दो कुरा हो ।’
कस्मेटिक्सको प्रयोगले बच्चाहरूकोे मानसिकतामा नै असर गर्ने उनी बताउँछिन् । ‘आफ्नो शरीर अरुका लागि राम्रो देखिनुपर्छ भन्ने सोचको विकास हुन्छ,’ उनी भन्छिन्, ‘उनीहरू ओठ राम्रो हुन लिपिस्टिक लगाउनुपर्छ । आँखा राम्रो बनाउन गाँजल र आइ स्याडो लगाउनुपर्छ भनेर सोच्न थाल्छन् । आत्मविश्वास मेकअपमा आधारित हुन्छ । अनुहारमा मात्र ध्यान दिने भएकाले उसका अरु पक्षहरू कमजोर बन्दै जान्छन् । जस्तैः पढाई, लेखाई जस्ता कुराहरूलाई उनीहरूले दोस्रो प्राथमिकतामा राख्न थाल्छन् । श्रृङ्गारले बच्चाको व्यक्तित्वलाई नै खराब पार्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया