लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
कैलाली - यहाँस्थित लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण हुने भएको छ । आज लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले नयाँ भवनको शिलान्यास गरिन् ।
बिरामीको चापलाई मध्यनजर गर्दै नगर अस्पतालको स्तरोन्नति गरी २५ श्ययाको अस्पताल सञ्चालन गर्ने उदेश्यले नयाँ भवन निर्माण गर्न लागिएको उनले बताइन् । नयाँ भवन निर्माण भएपछि बिरामीलाई सेवा दिन सहज हुने उनको भनाइ छ ।
हाल लम्कीचुहा नगरपालिकामा दैनिक तीनदेखि चार सय बिरामीले सेवा लिइरहेका छन् । सेवाग्राहीलाई सेवा दिन पर्याप्त भवनको अभाव भएकाले नयाँ भवन निर्माण हुन लागेको अस्पतालका व्यवस्थापन प्रमुख जयन्द्र जैशीले बताए । लम्कीचुहा नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको भवन अढाई तलाको हुनेछ ।
पहिलो चरणमा एक तलाको काम चालु आर्थिक वर्षको असार मसान्तमा सम्पन्न गर्ने लक्ष्य छ । हाल १५ श्ययाको अस्पताल भवन निर्माणसँगै २५ श्ययामा स्तरोन्नति गरिने जैशीले बताए । उनले भने, “नगरपालिकाको वडा नं १० मा ५० श्ययाको प्रादेशिक अस्पताल निर्माण भइरहेको छ । भल्कामा नगर अस्पतालको स्तरोन्नतिको काम भइरहेको छ ।” लम्कीचुहा नगर अस्पतालले हाल २४सै घण्टा आकस्मिकलगायत प्रयोगशाला सेवा दिइरहेको छ । चुहाको प्रादेशिक अस्पताल सञ्चालन भएमा विशेषज्ञसहितको सेवा सञ्चालन गर्न सहज हुने र एकीकृत रुपमा अस्पताल सञ्चालन गरिने व्यवस्थापन प्रमुख जैशी बताउँछन् ।
भवन निर्माणको जिम्मा मालिकामण्टा बेतालमाडौँ कन्स्ट्रक्सन लम्कीचुहा–६ गुलराले पाएको छ । भवन दुई करोड २७ लाख २१ हजारमा निर्माण हुन लागेको हो । बहुवर्षीय ठेक्कामा निर्माण हुन लागेको भवनको लागत १४ करोड अनुमान गरिएको अस्पतालका सञ्चालक सदस्य खडानन्द सापकोटाले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया