स्वास्थ्य

बर्दिबास अस्पताल कर्मचारीकै कमाउने अखडा बन्दै, सेवाग्राही मारमा

इकागज |
पुस १०, २०८१ बुधबार १८:१७ बजे

महोत्तरी -  पालिकास्तरिय अस्पतालमा मधेश प्रदेश कै उत्कृष्ट मूल्यांकनमा परेको बर्दिबास अस्पतालको सेवा प्रवाहका विषयमा असन्तुष्टि बढ्दै गएका छन् ।

अस्पतालले उपलब्ध गराउँदै आएको कमजोर सेवा प्रवाहका कारण सेवाग्राहीहरूका असन्तुष्टि चुलिदैं गएका हुन ।


`पर्याप्त जनशक्ति भएतापनि सामान्य रगत जाँचको लागि बाहिर जानु पर्दो रहेछ,` स्थानीय विनोद लामाले भने, अस्पतालको व्यवस्थापकीय पाटोको कमजोरीले विकृति बढिरहेको पाइयो ।´

अचम्म लाग्दो त कहाँनिर छ भने कर्मचारीहरूले अस्पतालमा आउने सेवाग्राहीलाई आर्थिक उपार्जन गर्ने हतियार बनाएका छन् ।

अस्पताल परिसरबाट बाहिर निस्केपछि झण्डै एक दर्जन औषधि पसल, प्याथोलोजी ल्याब, डाईग्नोसिस सेन्टर देख्न सकिन्छ । बाहिरपट्टि बाक्लै देखिने क्लिनिक र औषधी पसलहरूले अस्पताल आन्तरिक रूपमा कति खोक्रो छ भन्ने जोकोहीले सहजै अनुमान लगाउन सक्छन् ।

अस्पतालको बाहिरी गेट देखि परिसरको गेटसम्म ३० मिटरको दूरीमा एक दर्जन स्वास्थ्य क्लिनिक अस्पतालमा काम गर्ने कर्मचारीको नै सेटिङ्गमा खुलेका छन् । 

यसमध्ये कतिपय खुल्लमखुल्ला देखिन्छन् भने कतिपय गुपचुप खोलेको छन् । यसको एउटा उदाहरण हो स्मार्ट फार्मेसी, अस्पतालभित्र यो फार्मेसीका प्रोपाईटर सियाराम महतो फार्मेसी इन्चार्ज छन । 

`भित्र पाउने औषधि समेत छैन भनेर बाहिर पठाउने र मोटो रकम कमाउने हतियारको रूपमा अस्पताललाई प्रयोग गरिएको रहेछ,´ अर्का सेवाग्राही रमिला प्रधानले भनिन, `निक्कै ठूलो विकृति रहेछ ।´

अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ को दफा ११ को उपदफा ११ अनुसार अस्पताल परिसरमा औषधिको व्यापारिक प्रवर्द्धन सम्बन्धी कुनै पनि क्रियाकलाप गर्न नपाइने स्पष्ट व्यवस्था छ ।

तर खुलेआम बाक्लै संख्यामा खुलेका फार्मेसीले अस्पतालको व्यवस्थापकीय पाटो माथि नै गम्भीर आशंका उत्पन्न गराएका छन्  ।

अस्पतालका प्रवक्ता जगत खडका अस्पताल परिसरमा केही अभाव भयो भने मात्र बाहिर जाने यद्यपि यथेष्ट सुविधाहरू परिसर भित्रै रहेको जिकिर गर्छन् ।

तर सोमवार कयौं सेवाग्राही सिविसी चेक जाँचका लागि बाहिर खुलेका प्याथोलोजी ल्याबमा गएका देखिन्थे । यही विषयलाई लिएर  विनोद लामाले प्रवक्ता खड्कालाई अस्पतालको यस्तो विकृतिको विषयमा ध्यानाकर्षण गराइरहेका थिए ।

अस्पतालको गेट नजिकै राधे राधे प्याथोलोजी ल्याबका संचालक विजय महतोका अनुसार भित्र मेसिनहरूले काम नगर्दा भिडियो एक्सरे लगायत सम्पूर्ण जाँच गर्ने गरिन्छ ।

महतोले एकजना बाहिरी डाक्टर समेत राखेका छन् । `कहिलेकाँही बिरामीहरू सिधा यहाँ आउनुहुन्छ अनि यतैबाट डाक्टर बोलाउँछौ । पहिले- पहिले भित्रबाट पनि डाक्टर सापहरू बोलाउने गर्दथ्यौ,´ महतोले भने ।

त्यस्तै हयापी फार्मेसीका संचालक सुनिल महतो पनि अस्पताल कै फार्मेसी डिपार्टमेन्टमा काम गर्छन् । औषधि विभागका कर्मचारीले बाहिर आफ्नै औषधि पसल राख्नुलाई पनि धेरैले अनौठो मानेका छन् ।

`भित्र औषधिहरु नपाइने भएकाले बाहिर सबै औषधि पाउने गरी राखेको हौ ।´ संचालक महतोले भने । `सकेसम्म सेवाग्राहीहरु टाढा जान नपरोस् भन्ने अभिप्राय हो ।´

 तर सेवाग्राहीहरुलाई अस्पतालमा औषधि खरिद गर्दा र बाहिर खरिद गर्दा ५० प्रतिशत भन्दा बढी पर्ने स्थानीय उर्मिला घिमिरे वताउँछिन् ।

अस्पतालले निर्धारित सेवा सुविधामा ध्यान पुर्‍याउन नसक्दा अस्पताल वरपर नै  मेरो फार्मेसी, राम्रो फार्मेसी, खुसी फार्मेसी लगायतका आधा दर्जन फार्मेसीहरु खुलिसकेका छन भने अझै खुल्ने क्रममा छन् ।

यतिमात्र हैन ३० मिटर कै वरपर कतिपय पोलिक्लिनिकहरूले त प्रयोगशाला नै राखेर सारग्राहीहरूलाई अस्पताल जान बाटो छेक्ने गर्दछन ।

 सुदिक्षा प्याथोलोजी, खुसी मेडिकल एण्ड डाइग्नोसिस सेन्टर, ओम प्याथोलोजी एण्ड डाईग्नोसिस सेन्टर लगायतका पोलिक्लिनिकहरूले निर्बाध संचालन भइरहेका छन् ।

तर अस्पतालमा यति धेरै वेथितीहरू देखिएतापनि जनप्रतिनिधि र व्यवस्थापन समितिका पदाधिकारीहरू मौन देखिन्छन् । अस्पतालमा भएका विकृतिहरूको विषयमा जानकार रहेको बताउँदै क्रमशः सुधार गर्दै अगाडि बढिरहेको अस्पतालका प्रवक्ता जगत खड्काको दाबि छ ।

 केमिकल सकिएको कारण सिविसीलाई निरन्तरता दिन नसकिरहेको स्विकार गर्दै ल्याब इन्चार्ज मनोज राय समस्याको सावधान छिट्टै हुने बताए ।

 तर सारग्राहीहरू यस्तो बहाना हरेक विभागमा बनिरहने गुनासो गर्छन् । बर्दिबास-३ कि उर्मिला घिमिरे यदि सोझो बन्यो भने सबै काम गर्न सेटिङ्गमा बाहिर जान बाध्य बनाउने गुनासो गरिन ।

यसैलाई फाइदा उठाएर बाहिरबाट आएर क्लिनिक  खोल्ने क्रम समेत वढेको छ । परिणाम स्वरूप लाहान अल्ट्रासाउन्ड क्लिनिक भर्खरै खुलेको छ । 

आफूलाई डा.प्रमोद साह बताउने यस्का प्रोप्राइटरले भित्र दिने सबै सुविधा यहाँ पाइने बताए ।

बाहिर निजी अस्पतालमा काम गर्ने कतिपयले समेत बर्दिबास अस्पताललाई लक्षित गरेर औषधी पसल तथा क्लिनिकहरू खोलेका छन् । अस्पतालको कमजोर व्यवस्थापन र सेवा प्रवाहलाई मध्यनजर गर्दै यस्तै क्लिनिक खोल्ने अर्का पात्र हुन् प्रमोद महतो । उनी लालागढ़ अस्पतालको ल्याप्रोसीमा काम गर्ने गर्दछन् । बर्दिबास ल्यावोटरी रिलाईवेवल नामले संचालन गरिरहेका महतोले अस्पतालको कमजोरीलाई फाइदा उठाएर पैसा कमाउने अस्त्र बनाएको देखिन्छ ।

नाम नखुलाउने सर्तमा अस्पतालका एक जना कर्मचारीका अनुसार अस्पतालको वरपर ८० प्रतिशत कर्मचारीहरूको औषधि पसल तथा क्लिनिकहरू छन् । जसले अस्पतालको सेवा सुविधालाई कब्जामा लिएर धराशायी बनाइरहेको देखिन्छ ।

 यता बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले अस्पतालमा देखिएको बेथितिहरूको तत्कालै अनुगमन गर्ने बताएका छन् । अस्पतालका कर्मचारीहरूले त्यसरी औषधि पसल र क्लिनिक खोल्नु गलत भएको बताउँदै तत्काल छानबिन प्रक्रियालाई अगाडि समेत बढाउने प्रतिबद्धता जनाए ।

न्यूज कारखाना


Author

थप समाचार
x