स्वास्थ्य

महोत्तरीमा बढे कुष्ठरोगी

इकागज |
माघ १४, २०८१ सोमबार १६:२४ बजे

सांकेतिक फोटो

महोत्तरी- सघन उपचार प्रबन्ध गर्दै आइए पनि महोत्तरीमा भने कुष्ठरोगीको सङ्ख्या बढ्दो छ । पछिल्लो एक वर्ष (२०८० माघदेखि २०८१ पुससम्म) मा सयजना नयाँ कुष्ठरोगी पहिचान भएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसपालिको ७२औँ कुष्ठरोग दिवसका अवसरमा कार्यालयले सो जानकारी सार्वजनिक गरेको छ ।

नयाँ पहिचान भएका रोगीमा पुरुष र महिलाको सङ्ख्या झन्डै हाराहारीजस्तो छ । नयाँ रोगीमा पुरुष ५४ र महिला ४६ पुष्टि भएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नवलकिशोर साहले जानकारी दिए । गत वर्ष २०८० को कुष्ठरोग दिवस मनाइँदा नयाँ कुष्ठरोगीको सङ्ख्या ८७ जना थियो ।


यसपालि पहिचान भएका नयाँ रोगीमा ७३ बाट अन्यमा सर्ने (एमवी) प्रकृतिको कुष्ठरोग पुष्टि भएको छ । यता बाँकी २७ जनामा नसर्ने (पिबी) प्रकृतिको रहेको कार्यालयले स्पष्ट पारेको छ । सन् २०१० मै कुष्ठरोगमुक्त नेपाल घोषणा गरिएको डेढ दशक (१५ वर्ष) भइसक्दा पनि नयाँ कुष्ठरोगी उल्लेख्य सङ्ख्यामा देखिनु समस्या बनेको स्वास्थ्य विज्ञ बताउँछन् ।

कुष्ठरोग निवारणमा विश्व स्वास्थ्य सङ्गठनले लिएको प्रति १० हजार मानिसमा एक जनाभन्दा कममा झार्ने लक्ष्यलाई नेपालले अनुसरण गर्दै आएको छ । यद्यपि पछिल्लो तथ्याङ्कले महोत्तरीमाप्रति दश हजारमा कुष्ठ रोगको प्रकोप दर (प्रिभिलेन्स रेट) एक दशमलव ३९ देखाएको छ ।

 पछिल्लो पटक बस्तीबस्तीमा गरिएको जाँच परीक्षण (स्क्रिनिङ)मा नयाँ रोगी पहिचान भएका कार्यालयले जनाएको छ । कुष्ठरोगी बढेको देखिनु चिन्ताजनक भए पनि यसको पहिचान हुँदै जानु निवारण अभियानमा सहयोगी हुने कार्यालयका कुष्ठरोग तथा क्षयरोग निवारण शाखाका प्रमुख उमेश यादव बताउँछन् । जिल्लामा नयाँ पहिचान भएका रोगीमा सबैभन्दा बढी १७ जना एकडारा गाउँपालिकाका छन् । यसैगरी, दोस्रोमा मटिहानी नगरपालिकाका १४ जना छन् ।

यो सङ्ख्या क्रमशः पाँच दशमलव ४१ र तीन दशमलव ७६ प्रतिशत हो । यस्तै, नयाँ पहिचान भएका रोगीको सङ्ख्यामा बलवा नगरपालिकामा तीन दशमलव १६, सम्सी गाउँपालिकामा दुई दशमलव शून्य सात, सोनमा गाउँपालिकामा एक दशमलव १७, मनरासिसवा नगरपालिकामा एक दशमलव १२, महोत्तरी गाउँपालिकामा एक दशमलव ७४, पिपरा गाउँपालिकामा एक दशमलव २९ र लोहारपट्टी नगरपालिका क्षेत्रमा एक दशमलव शून्य छ प्रतिशत रहेका कार्यालयले पुष्टि गरेको छ ।

 जिल्लामा पछिल्लो पटक रामगोपालपुर नगरपालिकामा कुष्ठरोगी भेटिएनन् । यस्तै, जलेश्वर, औरही, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा प्रतिदश हजारमा एकजना भन्दा कम अर्थात् शून्य दशमलव १५ देखि शून्य दशमलव ९४ प्रतिशतसम्म रहेका तथ्याङ्क छ ।

 


Author

थप समाचार
x