खोपकै कारण वैदेशिक रोजगारी गुमाउँदै नेपाली कामदार
सांकेतिक तस्बिर
काठमाडौँ : खाडी मुलुकहरूले तोकिएकै उत्पादक कम्पनीको खोप लगाएका कामदार मात्र लिने नीति तय गर्दैछन् । उनीहरूले नै तोकेको खोप नलगाएकालाई काममा नलगाउने भएका छन् । अब खोपकै कारण नेपाली कामदारले विदेशी भूमिमा रोजगारी गुमाउने अवस्था छ । तिनले निर्मित मुलुक र कम्पनी तोक्दै तिनै खोप लगाएकालाई मात्र आफ्नो मुलुक प्रवेश गर्न दिने भएका छन् ।
त्यसमा कुवेतले आफ्नो नीति सार्वजनिक गरिरसकेको छ भने अरु मुलुकले ल्याउन सक्ने स्थिति छ । सरकारले वैदेशिक रोजगारीमा जानेहरूको विषयमा ध्यान नदिने हो भने रोजगारी गुम्ने स्थिति छ । मुलुकको जीडीपीको एक चौथाई ‘रेमिट्यान्स’बाट थेगिन्छ । सरकारले अझै खोप लगाउन नसक्दा छिमेकी तथा सार्क क्षेत्रबाट ती मुलुकमा कामदार जाने स्पष्ट छ । नेपाललाई प्राथमिकतामा राख्दै आएका ती मुलुकले अबका दिनमा खोपलाई प्राथमिकता दिएपछि नेपाल पछि पर्न लागेको हो । नेपालमा लगाइएका दुवै खोप उनीहरूको प्राथमिकतामा छैन ।
खाडीमा कार्यरत राजदूत र परराष्ट्र अधिकारीहरू कसरी नेपालमा लगाएको खोपबाट पनि कसरी प्रवेश गराउने प्रयत्नमा लागेका छन् । नेपालले भारतमा उत्पादित कोभिसिल्ड र चीनमा बनेको भेरोसेल खोप लगाएको छ । त्यो पनि न्यून संख्यामा । जम्माजम्मी २० लाख नेपालीले खोप लगाउन पाएका छन् ।
तर ती दुवै खोपलाई खाडी मुलुकले मान्यता दिएको छैन । कुवेतले सूचना सार्वजनिक गर्दै नेपालमा लगाइएको दुवै खोपलाई मान्यता दिएको छैन । त्यसको प्रभाव वैदेशिक रोजगारीमा नेपाल जस्तो मुलुकलाई पर्नेछ । कुवेतका लागि नेपाली राजदूत दुर्गा भण्डारीले भने, ‘कुवेतले मोर्डना, फाइजर, अस्ट्राजेनिकामध्येको दुई डोज र जोनसोनको एक डोज लगाउनेलाई अगस्ट १ बाट आउन दिने भएको छ । यद्यपि उनीहरुलाई पनि ७२ घण्टाको पिसिअर आवश्यक पर्नेछ ।’
नेपालमा यी खोप प्रयोगमा नहुनाले कसरी नेपाली कामदारले प्रवेश पाउँछन् भन्ने चिन्ता भएको उनी बताउँछन् । नेपालमा ‘कोभिसिल्ड’ लगाएका छन्, तर त्यो अस्ट्राजेनिकाकै भए पनि भारतमा निर्मितलाई मान्यता दिएको छैन । त्यसबारे पनि छलफल गर्ने क्रममा राजदूत छन् ।
‘कुवेतमा नेपाली काममा छन् । व्यापारिक प्रतिष्ठान पूर्ण रुपमा सञ्चालन छैन । तर सञ्चालनका काम अघि बढेको छ,’ उनले इकागजसँग टेलिफोनमा भने, ‘नेपालमा गएकाहरू आउने अवस्था छैन । चार वटामध्ये कुनै एक कम्पनीको खोप लगाएको हुनुपर्नेछ ।’
कुवेतबाट घर फर्कन चाहनेले नेपाल आउन पाएका छन् । तर नेपालबाट कुवेत जान भने पाएका छैनन् । नेपालीहरुले पनि आधा-आधीले खोप लगाउन पाएको जानकारी उनले दिए । युएईमा पनि कोभिडको प्रकोप बढ्दो छ । यहाँ पनि सहजै आउन दिने अवस्था छैन । विदामा गएका पनि फर्कन नपाएको अवस्था रहेको जानकारी दिइएको छ । ओमान र बहराइनमा पनि यही अवस्था छ । कतिपय मुलुकले नेपाली र फिलिपिनोलाई आउन दिएका छन् ।
कामदार लिने मुलुकहरूले खोप नलगाएकालाई नलिने जानकारी दिएपछि विदेश जान चाहनेले खोप अनिवार्य लगाउनुपर्नेछ । खासगरी खाडी मुलुक तथा मलेसियाले खोप लगाइसकेका कामदारलाई मात्र रोजगारीको मौका दिने बताएका छन् । यद्यपि यतिबेला साउदी अरबबाहेक अन्यले नयाँ कामदार लिएका छैनन् । तर साउदीले पनि संक्रमण बढेको कारण क्वारेन्टाइन निकै कडा गर्ने र खोप अनि पीसीआरलाई अनिवार्य गर्नतिर लागेको छ ।
मलेसिया र युनाइटेड अरब इमिरेट्स (यूएई), ओमान, कुवेतलगायत मुलुक अझै लकडाउनमा छन् । दोस्रो ‘भेरियन्ट’का कारण उनीहरू समस्यामा परेका हुन् । उनीहरू कहाँ रहेर काम गरिरहेकालाई खोप लगाउने काम पनि अघि बढाएका छन् । नयाँ कामदारलाई पनि खोप नलगाइकन नलिने धारणा उनीहरुले व्यक्त गरेका छन् ।
उता मलेसियाले पनि खोप लगाएकालाई मात्र आफ्नो मुलुक प्रवेश गर्न दिने नीति लिएको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे इकागजसँग भने ‘मलेसियाले कामदार लिने अवस्था छैन । संक्रमण बढेको छ । लकडाउन पनि छ । उसले खोपलाई पनि उत्तिकै तीव्रता दिएको छ । जसले गर्दा आगामी चार महिनामा सबै नागरिकलाई खोप लगाएर मात्र नयाँलाई प्रवेश दिने नीति छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया