स्वास्थ्य

काठेखोला गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बिमा

इकागज |
माघ १८, २०८१ शुक्रबार २१:४१ बजे

गलकोट (बागलुङ)- जिल्लाको काठेखोला गाउँपालिकाले यसवर्ष एक हजार ५२ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नागरिकलाई स्वास्थ्य बिमामार्फत उपचार पुर्‍याउने उद्देश्यले पलिकाका दलित, विपन्न, जनजाती, अपाङ्गता तथा एकल महिलाको निःशुल्क बिमा गरिएको हो ।

गाउँपालिकाले तीन वर्षदेखि दुई सयलाई स्वास्थ्य बिमा गराउँदै आएकामा यस वर्षदेखि आठ सय परिवार थप गरी पालिकाभित्रका सबै दलित, विपन्न, अपाङ्गता र एकल महिलालाई निःशुल्क बिमामा आबद्ध गराएको गाउँपालिका कार्यालयले जनाएको छ ।


 तीन वर्षदेखि रु सात लाख बजेट छुट्याएर आठ वटा वडाका दुई सय परिवारको निःशुल्क बिमा गर्दै आएको पालिकाले यसवर्ष बजेट थप गरी रु ३७ लाख पुर्‍याएको छ । पालिकाका सबै दलित समुदायको स्वास्थ्य बिमा गर्न रु २० लाख, जनजाती, अपाङ्गता र एकल महिलाका लागि रु १० लाख बजेट विनियोजन भएको सूचना अधिकारी मनोज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच सय ६० दलित परिवार, दुई सय विपन्न परिवार, एक सय ४२ एकल महिला र ‘ग’ वर्गका अपाङ्गतासहित एक सय ५० विपन्न जनजातीका परिवार बिमाबाट लाभान्वित भएका छन् ।

यस वर्षदेखि ‘अध्यक्षसँग दलित नागरिक स्वास्थ्य बिमा कार्यक्रम’ सञ्चालन गरी निःशुल्क बिमा गरिएको कार्कीको भनाइ छ । “तीन वर्षदेखि दुई सय विपन्न परिवारको स्वास्थ्य बिमा गर्दै आएका थियौँ, स्वास्थ्यको निःशुल्क पहुँचले विपन्न परिवारलाई राहत भएको पायौँ ।

यसवर्षदेखि बजेट थप गरेर अभियानका रूपमा कार्यक्रमलाई अघि बढाएका छौँ । वडाका सबै विपन्न, दलित, जनजाती, एकल महिला, अपाङ्गता भएकालाई बिमामा समावेश गरेका हौँ”, उहाँले भन्नुभयो । कार्कीले पालिकाले निःशुल्क स्वास्थ्य अवधारणलाई आमनागरिकसम्म पुर्‍याउने लक्ष्यका साथ लक्षित वर्गको निःशुल्क स्वास्थ्य बिमा गरिएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार एकल महिला र अपाङ्गता भएको हकमा पाँच जनासम्मको स्वास्थ्य बिमा हुनेछ । सङ्घीय सरकारले वृद्ध, ‘क’ र ‘ख’ वर्गका अपाङ्गको निःशुल्क स्वास्थ्य बिमा गर्दै आएकाले ‘ग’ वर्गका अपाङ्गलाई परिचयपत्रका आधारमा उक्त कार्यक्रममा आबद्ध गरिएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । एक हजार परिवारलाई निःशुल्क स्वास्थ्यको पहुँचमा पुर्‍याउनु उल्लेख्य उपलब्धि रहेको उहाँको भनाइ छ ।

 


Author

थप समाचार
x