स्वास्थ्य

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

इकागज |
माघ २२, २०८१ मंगलबार १५:९ बजे

भोजपुर- जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ। गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको जनाएको छ ।

कार्यक्रमअन्तर्गत पौवादुङमाका छ वटै वडामा रहेका गर्भवती तथा सुत्केरीलाई एकरएक वटा भाले, दुई वटा पोथी कुखुरा वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । वितरण गरिएको कुखुरा पालेर उनीहरूले आवश्यक रूपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने अध्यक्ष राईको भनाइ छ ।


गाउँपालिकाले सुत्केरी, गर्भवती र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरेर यो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए ।

कार्यक्रमअन्तर्गत वर्षमा एक पटक कुखुरा वितरण गरिने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए । वितरण गरिएको पोथी भने उनीहरूले दुई वर्षसम्म पाल्नुपर्ने नियम छ । गर्भवतीले प्रत्येक पटक स्वास्थ्य संस्थामा जाँच गराएवापत एक क्यारेट अण्डासमेत वितरण भइरहेको उपाध्यक्ष राईले बताए। कार्यक्रमअन्तर्गत सोमबार पौवादुङमा पाँच सानोदुम्माका १२ जना गर्भवती तथा सुत्केरीलाई एक/एक वटा भाले र दुई वटा अण्डा दिने पोथी वितरण गरिएको छ ।


Author

थप समाचार
x