स्वास्थ्य

राजधानीकै भण्डारण केन्द्रले थेग्‍न सकेनन् खोपको भार, एयरपोर्टबाट सिधैँ प्रदेश पुर्‍याइयो

अतिन आचार्य |
असार २५, २०७८ शुक्रबार १९:४८ बजे

काठमाडौँ : चीनबाट किनेर ल्याएको पहिलो चरणको भेरोसेल खोप नेपाल आइपुगेको छ । यसरी पछिल्लो समय खोप नेपाल आयात हुने क्रम तीब्र रुपमा बढिरहेको देखिन्छ । यही अवस्थामा विदेशबाट किनिएको खोप भण्डारणमा समस्या हुने देखिएको छ । 

केही साताअघि मात्र चीनबाट १० लाख खोप आएको थियो । चीनबाट शुक्रबार ल्याइएको खोप बागमती र गण्डकी प्रदेशको भण्डारण केन्द्रमा लगिएको छ । पहिलो चरणमा आठ लाख खोप आएको छ । काठमाडौँ टेकुस्थित खोप भण्डारण केन्द्रमा खोप संग्रह गर्न समस्या हुने भएकाले पनि शुक्रबार विमानस्थलबाट बागमती र गण्डकी प्रदेशको खोप भण्डारमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाका निर्देशका डा. भिमसिंह तिंकरले बताएका छन् ।


तिंकरका अनुसार गण्डकी, बागमती र काठमाडौँको उत्तरी भेगमा रहेको जिल्लामा पनि खोप पठाइसकेको छ । चीनबाट आएको सबै खोप भण्डारमा राख्दा समस्या हुने भएकाले अहिलेदेखि जिल्ला र प्रदेशको खोप भण्डारणमा खोप पठाउन थालिएको उनले बताए । देशभरका विभिन्न भण्डार केन्द्रमा करिब ४० खोप अट्न सक्ने क्षमता रहेको डा.सिंहले जानकारी दिए । चीनबाट हरेक लटमा आएको खोप प्रदेश र जिल्लामा पठाउने योजना रहेको उनको भनाइ छ ।

काठमाडौँ उपत्यकाका तिनै जिल्लाका लागि टेकुको खोप केन्द्रमा राखेको खोपले पुग्ने सिंहले बताए । टेकु भण्डारण केन्द्रमा १० लाख खोप भण्डारण गर्न सकिने उनले बताए । ७७ जिल्लामा खोप भण्डार रहेकाले भण्डारणमा समस्या नहुने उनले तर्क गरे ।

प्रत्येक स्थानीय तहले पनि खोप भण्डारको व्यवस्थापन गर्न सक्ने भएका छन् । कतिपय स्थानीय तहले चीनबाट ल्याइएको खोप यस अघि भण्डारण गरेर राखेको उनले जानकारी दिए । 'धेरै संख्यामा खोप आएमा भण्डारणमा समस्या हुन्छ,' उनले भने,'लट-लटमा खोप ल्याएर वितरण गरिन्छ ।'

पाँचै प्रदेशमा खोप भण्डार केन्द्र छ । दुई र कर्णाली प्रदेशमा भण्डार केन्द्र नभएको सिंहले जानकारी दिए । कर्णालीको सुर्खेत र प्रदेश-२को जनकपुरमा भण्डारण केन्द्र निर्माण गर्न लागिएको उनले जानकारी दिए । प्रदेश-२मा लगिएको खोप पत्लैयाको भण्डार केन्द्र र कर्णालीमा लगिएको खोप नेपालगञ्जमा राखिने गरेको उनले जानकारी दिए । प्रदेश सरकारले भण्डार केन्द्र निर्माण गर्ने भएकाले कहिले र कति लागत लाग्ने त्यस बारेमा केही थाहा नभएको नहुने उनले बताए ।

नेपालमा हालसम्म कोभिडविरुद्धको खोप ४२ लाख ४८ हजार डोज खोप आएको छ । चीनले अनुदानस्वरुप सिनोफार्म कम्पनीबाट उत्पादित १८ लाख भेरोसेल खोप आएको थियो । त्यसैगरी भारतबाट २० लाख कोभिसिल्ड खोप आएको छ । १० लाख अनुदानस्वरुप र १० लाख खरिद गरी ल्याइएको थियो । एक लाख खोप भारतीय सेनाले नेपालीलाई सेनालाई दिएको थियो । कोभ्याक्स कार्यक्रमकबाट तीन लाख ४८ हजार खोप आएको थियो ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x