स्वास्थ्य

जापानले नेपाललाई १६ लाख डोज खोप उपलब्ध गराउने

इकागज |
असार २९, २०७८ मंगलबार १५:३३ बजे

काठमाडौँ : जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत अष्ट्राजेनिकाको १६ लाख डोज खोप उपलब्ध गराउने भएको छ । मंगलबार विदेश मन्त्री मोतेगी तोसिमित्सुले कोभ्याक्समार्फत खोप उपलब्ध गराउने घोषणा गरेका हुन् । जापानबाट उक्त खोप जतिसक्दो छिटो ल्याइने र त्यसको प्रक्रिया पनि अघि बढेको नेपालस्थित जापानी दूतावासले जनाएको छ । खोप निर्यात गर्ने मिति भने कोभ्याक्सले तय गर्नेछ ।

जापानी राजदूत किकुता युताकाले नेपाल र जापानबीचदेखि लामोसमयदेखि सम्बन्ध रहँदै आएको बताएका छन् । जापानले खोप उपलब्ध गराउने निर्णयले नेपाली जनताको जीवन सुरक्षित हुने उनले बताए । 'आशा छ, जापानले उपलब्ध गराएको खोपले कोभिड नियन्त्रणमा आउने छ,' उनले भने ।


अष्ट्राजेनिका खोप जापान आफैँले निर्माण गरेको हो । यो खोप भारतमा सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै हो । कोभिसिल्डको पहिलो डोज खोप लगाएका  र दोस्रो खोप लगाउन बाँकी ज्येष्ठ नागरिकलाई अष्ट्राजेनिका खोप लगाउन सकिने दूतावासले जनाएको छ । यो खोप पहिलो डोज नलगाएका युवालाई प्रभावकारी हुने जनाएको छ ।

नेपाललाई कोभिडविरुद्ध लड्न विभिन्न माध्यमबाट सहयोग गरिरहेको दूतावासले उल्लेख गर्दै स्वास्थ्य सामग्री तथा अस्पताललाई गरिरहेको जनाएको छ ।दूतावासले यो खोप सहयोगले थप नेपालीको जीवन बचाइ,नेपाली समाज र यसको अर्थव्यवस्थाको प्रगति गर्ने विश्‍वास  लिएको दूतावासले बताएको छ ।

देशभर 'कोभिसिल्ड' को पहिलो डोज खोप लगाइ दोस्रो डोजको पर्खाइमा १३ लाख ६८ हजार ८५९ मानिस रहेका छन् । जापानबाट ल्याइएको अष्ट्राजेनिका खोप बाँकी मानिसले पाउनेछन् । ‍स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिसिल्डको दोस्रो मात्रा चार लाख ५९ हजार ६२५ जनाले लगाएका छन् ।

 


Author

थप समाचार
x