महामारीमा संघाईको भ्रामक प्रचार : मास्कको विकल्प भन्दै अवैध कोरोनागार्डको धन्दा
स्वास्थ्य मन्त्रालय भन्छ: भ्रामक समाचारको पछि नलागौँ
काठमाडौँ : कोभिड-१९ संक्रमणबाट सुरक्षित रहनका लागि सबैभन्दा भरपर्दो माध्यम मास्क, भौतिक दूरी र खोप हो । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिडबाट सुरक्षित रहन मास्क, जनस्वास्थ्यको मापदण्ड र खोप रहेको छ ।
विश्वभर कोभिड महामारी रहेको समयमा यसको नियन्त्रणको उपाय खोजी भइरहेको समयमा व्यापारिक घराना समूह संघाईले आफ्ना सामग्री बिक्री गर्न भ्रामक प्रचार गरेको छ । उसले मास्कको विकल्प भन्दै अवैध कोरोनागार्डको विज्ञापन गरिरहेको छ ।
'कोरोनागार्ड' नामको उपकरणबारे कतिपय मुलधारकै सञ्चारमाध्यममा विज्ञापन आइसकेको छ । जनस्वास्थ्यको विषयमा अफवाह फैलाउने गरी विज्ञापन गर्न पाइदैन । महामारीमा व्यापारिक घरानाले आफ्ना निजी स्वार्थका लागि उ विभिन्न सञ्चारमाध्यममा जनस्वास्थ्यको मापदण्ड र संक्रामक ऐन विपरीत मोटो रकम खर्चेर 'कन्टेन्ट विज्ञापन' गरिरहेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई भ्रममा राख्ने गरी विज्ञापन गर्न नपाइने भन्दै त्यस्ता सामग्री खरिद नगर्नलाई आग्रह गरिसकेको छ । मन्त्रालयका अनुसार कुनै पनि यन्त्रले कोभिड-१९ भाइरसलाई निस्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यविहिन हो ।
केही दिन यता कोरोनागार्डको विज्ञापन विभिन्न सञ्चारमाध्यममा आइरहेका छन् । त्यसबारे विज्ञापन छाप्ने सञ्चारगृहलाई स्पष्टीकरण सोधिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधा थपलियाले इकागजलाई बताइन् । उनले सञ्चारमाध्यमले जनस्वास्थ्यको मापदण्डविपरीत र पाठक तथा दर्शकलाई भ्रममा राख्नेगरी विज्ञापन गर्न नपाइने बताइन् ।
सञ्चारमाध्यममा त्यस्तो विज्ञापन आएपछि त्यसबारे अध्ययन गरिएको थपलियाले जानकारी दिइन् । त्यस्तो विज्ञापनले कोभिड नियन्त्रणमा सहयोग नगर्ने उनको दाबी छ । 'स्वास्थ्य मन्त्रालयमा बोलाएर सञ्चारगृहलाई स्पष्टीकरण सोध्दै माफी माग्न लगाइएको छ,' उनले भनिन्,' अन्य सञ्चारगृहलाई पत्र काट्ने तयारीमा हामी छौँ ।'
मन्त्रालयले प्रेस काउन्सिललाई समाचार र विज्ञापनको विषयमा ध्यानाकर्षणसहित पत्र काट्ने थपलियाले बताइन् । नेपालको कानुनमा सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रेस काउन्सिललाई मात्र छ । उत्पादक कम्पनीलाई पनि संक्रामक ऐन अनुसार कारबाही गरिने उनले बताइन् ।
संघाईले विज्ञापनमा कोभिड तुरुन्त निष्क्रिय भई एक हजार स्क्वायर फिट क्षेत्रफलभित्रका जीवजन्तुहरू भाइरसको प्रकोपमा नपर्ने दाबी गरेको छ ।
स्वास्थ्यले जारी गरेको विज्ञप्तिबारे समाचार तयार पार्दासम्म प्रेस काउन्सिल बेखबर छ । काउन्सिल प्रवक्ता दीपक खनालले स्वास्थ्य मन्त्रालयको विज्ञप्तिबारे काउन्सिललाई कुनै जानकारी नभएको जानकारी दिए । प्रवक्ता खनालले भने, 'समाचार शैलीमा विज्ञापन जारी भएपछि हामीले यसरी विज्ञापन छाप्न पाइन्छ वा पाइदैन भनेर छलफल चाहिँ गरिरहेका छौँ । तर स्वास्थ्य मन्त्रालयको विज्ञप्तिबारे जानकारी आएको छैन ।'
विज्ञापन ठूलो व्यापारिक घराना संघाई परिवारद्वारा सञ्चालित त्रिवेणी समूहको त्रिवेणी व्यापार कम्पनीले छपाएको हो । त्रिवेणी समूहले आफूले कोरोनागार्डको व्यापार गर्दै आएको विज्ञापनमा उल्लेख गरेको छ । युरेका फोर्ब्स नामक कम्पनीले आफूलाई नेपालमा कोरोनागार्डको बिक्री वितरणका लागि आधिकारिकता दिएको त्रिवेणी ग्रुपले बताएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया