वीर अस्पतालका कर्मचारी ४४ दिनदेखि आन्दोलित
आन्दोलनले ४०० शय्यामध्ये ४० मात्रै सञ्चालनमा
काठमाडौँ : सरकारले तोकेको सेवा सुविधा नपाएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू ४४ दिनदेखि आन्दोलनमा छन् । आन्दोलनरत स्वास्थ्यकर्मीहरूले मंगलबार पनि वीर अस्पताल परिसरमा धर्ना दिएका छन् । उनीहरूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन् । उनीहरूले न्याम्सका पदाधिकारीहरूलाई अस्पताल प्रवेश गर्नसमेत दिएका छैनन् ।
वीर अस्पतालका कर्मचारी आन्दोलन संयुक्त संघर्ष समितिका प्रवक्ता धुर्वराज आचार्यले कोभिड-१९ का बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीले सरकारले तोकेका सेवा सुविधा नपाएकाले आन्दोलन गर्न बाध्य भएको बताए । ‘हामीले ४४ दिनदेखि विभिन्न मागहरू राख्दै आन्दोलन गरिरहेका छौँ,’ उनले भने, ‘तर, हाम्रो मागलाई न्याम्सका पदाधिकारीहरूले बेवास्ता गरे ।’
सरकारले चाहेमा आफ्ना मागहरू पूरा गर्न गाह्रो नभएको भन्दै उनले आगामी १९ गतेभित्र आफ्ना मागहरू पूरा नभए अस्पतालका सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।
वीरमा सरकारी र न्याम्सका गरी दुई थरिका कर्मचारी रहेको उनले जानकारी दिए । ‘सरकारी कर्मचारीले सेवा सुविधा पाए पनि न्याम्स अन्तर्गतका कर्मचारीले पाएका छैनन्,’ प्रवक्ता आचार्यले भने, ‘सरकारले दवै तर्फका कर्मचारीलाई सेवा सुविधा दिनुपर्छ ।’
उनका अनुसार चार सय शय्याको वीरमा अहिले ४० शय्यामा मात्र बिरामी छन्, बाँकी तीन सय ६० शय्या खाली छन् । अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण वीरको सेवा प्रभावित भएको प्रवक्ता आचार्यले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया