स्वास्थ्य

कसरी जाेगिए उनीहरू ?

कोभिडले नछोएका ‘फ्रन्टलाइनर’

सृजना खड्का |
मंसिर १९, २०७७ शुक्रबार १०:३७ बजे

काठमाडाैँ : ग्रान्डी इन्टरनेशनल हस्पितलकी ल्याब टेक्निसियन हुन्, बिना गुरुङ । उनले डेढ वर्षअघि ग्रान्डीमा काम गर्न थालेकी हुन् । नेपालमा कोभिड–१९ सुरु भएदेखि अहिलेसम्म उनी निरन्तर अस्पतालमा खटिइरहेकी छिन् । 

यो बीचमा ‘फलानोकी छोरी अस्पतालमा काम गर्छे, कोरोनो ल्याउने भई’ भन्नेजस्ता कुरा उनले धेरै सुनिन् । अफिसबाट फर्किदा सधैँ हाँस्ने/बोल्ने छिमेकीहरू बिस्तारै उनीबाट टाढिए । तर, उनी काममा जान छाडिनन् । ‘ल्याबमै काम गर्ने भनेर पढेको,’ उनले भनिन्, ‘जसले जे भनेपनि काम छाड्ने कुरा भएन । त्यसमाथि परिवारको साथले मलाई झनै हौस्याएको थियो ।’


जो कोभिड सर्ला भनेर उनीसँग तर्किए पछि उनीहरूलाई नै कोभिड भयो । तर, गुरुङलाई अहिलेसम्म कोभिड भएको छैन । यो देखेर अहिले उनका सहकर्मीदेखि छिमेकी सबै चकित छन् । तर, गुरुङलाई यसमा आश्चर्य लागेको छैन । सावधानी अपनाउने हो भने कसैलाई पनि कोभिड नलाग्ने उनको अनुभव छ । 

कोभिड सुरु हुनुभन्दा पहिल्यै उनी ल्याबमा काम गर्दा मास्क लगाउने र काम सक्किएपछि हात धुने कार्य नियमित गर्थिन् । कोभड सुरु भएपछि त झन् यसान विशेष ध्यान दिइन् । त्यसमा पनि भौतिक दूरीलाई उनले विशेष प्राथमिकतामा राखिन्् । पीपीई राम्ररी लगाइन् । भिडभाडमा सकेसम्म गइनन् । 

कोभिडबाट अहिलेसम्म जोगिनुको उनको अर्को एउटा सुत्र छ । त्यो हो– खानपानमा विशेष ध्यान । उनीसँगै काम गर्ने धेरै साथीहरूले मोटाइयो भन्दै ‘डाइटिङ’ गरेका थिए । तर, उनले त्यो गल्ती गरिनन् । ‘साथीहरू टन्न काम गर्थे तर, खानेबेला मोटाइन्छ भनेर आनाकानी गर्थे,’ गुरुङले भनिन्, ‘उनीहरूलाई नै पछि कोभिड पोजेटिभ आयो । मैले मोटाए पनि मोटाइयोस् भन्दै खान छाडिनँ ।’ कामसँगै उनले आराम पनि पर्याप्त गरिन् । अफिसबाट फर्केपछिको समय मोबाइल र सामाजिक सञ्जालभन्दा उनले आफ्नो स्वास्थ्यलाई दिइन् । 

उनको घरमा ६४ वर्षीय बुबा छन् । आमा डाइबेटिजकी बिरामी हुन् । त्यसैले पनि उनले आफूमात्र नभएर आफ्नो परिवारको लागि भए पनि विशेष ध्यान दिइन् ।
उनीसँगै काम गर्ने सिनियरलाई केही समयअघि कोभिड पोजेटिभ देखियो । उनीसँगै नजिकिने केही साथीहरूलाई पनिपछि कोभिड देखियो । तर, गुरुङको भने रिपोर्ट नेगेटिभ आयो । ‘अघिल्लो दिन रातिसम्म सँगै बसेर काम गरेका थियौँ,’ उनले भनिन्, ‘भोलिपल्ट उहाँको कोभिड पोजेटिभ आएको सुन्दा झसङ्ग भएको थिएँ । तर, मलाई भने केही भएन ।’

मुल मन्त्र–‘मास्क’

महानगरीय अपराध महाशाखाका सब इन्स्पेक्टर (सई) रमेश चन्द कोभिड–१९ महामारीमा निरन्तर कार्यालय गइरहे । उनीसँग काम गर्ने धेरै साथीहरूलाई एक–एक गर्दै कोभिड पोजेटिभ देखियो । तर, उनलाई अहिलेसम्म कोभिडले छोएको छैन । कन्ट्याक टे«सिङमा परेर उनले एकपटक पीसीआर परीक्षण पनि गरेका थिए । नतिजा नेगेटिभ आयो । 

कोभिडबाट अहिलेसम्म जोगिनुको उनको मुल मन्त्र हो – ‘मास्क’ । कार्यालय होस् वा घर उनी मास्क कहिल्यै छाड्दैनन् । ‘अहिलेसम्म मलाई यहि मास्कले बचाइराखेको छ,’ उनले भने, ‘घरमा बस्दा होस् वा कार्यालय जाँदा होस् राम्रोसँग मास्क लगाउने बानी छ भने कोरोनाले नछुदो रहेछ ।’
उनी कार्यालयमा मात्रै नभएर घरमा बस्दा पनि मास्क लगाउँछन् । ‘दुइटी सानी छोरीहरू छन्,’ उनले भने, ‘छोरीहरूलाई नलागोस् भनेर घरमा बस्दा पनि सकेसम्म मास्क लगाउँछु । छुट्टै कोठामा सुत्छु ।’

कोभिड पोजेटिभलाई अस्पताल  पुर्‍याउँदा पनि नेगेटिभ 
सिताराम बिसङ्खेले एम्बुलेन्स चालकको रुपमा काम गर्न थालेको १२ वर्ष भयो । यो १२ वर्षमा उनले धेरै बिरामीलाई अस्पतालसम्म  पुर्‍याए । कतिको सफल उपचार भयो । कतिको अस्पताल  पुर्‍याउन नपाउँदै बाटैमा मृत्यु भयो । उनको यो सिलसिला कोभिड–१९ को महामारीसम्म रोकिएन । उनले अहिलेसम्म दुई दर्जनभन्दा बढी कोभिड पोजेटिभ बिरामीहरूलाई अस्पताल  पुर्‍याइसके । बिरामीलाई सहि सलामत अस्पताल  पुर्‍याउन पाएको दिन उनी सुखको श्वास फेर्छन् । सबैभन्दा राम्रो पेशामा आएको ठानेर गर्व गर्छन् ।

बिरामी ओसार्दा उनले बिर्सिदै नबिर्सिने चिज भनेको ‘पीपीई’ हो । ‘पोजेटिभ बिरामी बोक्दा पीपीई छुटाउँदिनँ,’ उनले भने । कोभिडबाट कसरी बच्न सकिन्छ भनेर सुरुमै उनले तालिम लिएका थिए । त्यो तालिमले पनि उनलाई धेरै हदसम्म सघाएको छ । ‘पीपीई कसरी लगाउनेदेखि मास्कको प्रयोग कसरी गर्ने भनेर पनि त्यही तालिमले सिकायो,’ उनले भने, ‘एम्बुलेन्समा पोजेटिभ बिरामी कसरी बोक्ने भनेर पनि त्यहीबाट सिकेको थिएँ । त्यहाँ भनेका सबैकुरा राम्रोसँग पालना गरेँ । त्यही भएर पनि अहिलेसम्म मलाई कोरोनाबाट बचिएको छ ।’

अस्पतालले लिन नमानेर छ–सात घण्टा कोभिड पोजेटिभलाई बोकेर उनी हिँडेका छन् । त्योबेला भने आफूलाई निकै दुःख लाग्ने उनले बताए । केही समयअघि अस्पताल घुमाउँदा घुमाउँदै एकजना पोजेटिभ बिरामीको एम्बुलेन्समै मृत्यु भयो । आफूले प्रयास गर्दागर्दै पनि बचाउन नपाएकोमा उनी निकै दुखी भएँ ।

कतिबेला बिरामीलाई लैजानुपर्ने हो टुङ्गो नहुने भएकाले उनी २४ सैँ घण्टा सतर्क भएर बसिरहेका हुन्छन् । ‘२४ सैं घण्टा खटिदा पनि कोभिड नभएकोमा काम गर्ने उत्प्रेरणा थपिएको छ,’ उनले भने, ‘आफू सतर्क भयो भने कोरोना सोरोना केहीले नछुने रहेछ ।’ 

‘स्रोतसँग भौतिक दूरी कायम गरेँ’
‘राजधानी दैनिक’मा स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकार प्रशान्त वलीलाई पनि अहिलेसम्म कोभिड पोजेटिभ देखिएको छैन । रिपोर्टिङको क्रममा उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालदेखि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र बीर अस्पताल आदि ठाँउ पुगेका छन् । कोभिडबाट अहिलेसम्म जोगिनुको उनको मुल मन्त्र हो– भौतिक दूरी र मास्क । ‘विशेषगरी स्रोतसँग कुराकानी गर्दा म अनिवार्य मास्क लगाउँछु, भौतिक दूरी कायम गर्छु,’ उनले भने, ‘घर पुग्ने बित्तिकै लुगा फेर्छु । जनस्वास्थ्यका मापदण्ड पालना गर्छु ।’

उनले अहिलेसम्म कुनै कुरामा पनि हेलचेक्र्याइँ गरेका छैनन् । हेलचेक््रयाइँ नगर्नेलाई कोभिडले छुदैन भन्ने उनलाई लाग्छ । 

‘स्यानिटाइजरले जोगायो’
महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक प्रहरी भक्तराज जोशी कोभिडभरी सडकमा खटिए । सडक र सवारीको सुरक्षासँगै यो बीचमा उनले आफ्नो व्यक्तिगत सुरक्षामा पनि उत्तिकै ध्यान दिए । ‘मैले सडकसँगै व्यक्तिगत सुरक्षामा पनि ध्यान दिएँ,’ उनले भने, ‘डबल मास्क लगाएँ, तातो पानी खाएको खायैँ गरेँ, मुख्य कुरा कतै छोइएपछि स्यानिटाइजर लगाउन बिर्सिनँ ।’

उनलाई स्यानिटाइजरले कोभिड नलाग्न धेरै हदसम्म सघाएको जस्तो लाग्छ । ‘मैले जहिल्यै केही छुने बित्तिकै स्यानिटाइज गरिहाल्थे, अहिले पनि गर्छु,’ उनले भने, ‘हातमा आएको किटाणु हातबाटै मरेपछि मुखसम्म पुग्नै पाएन । मलाई स्यानिटाइजरले कोभिडबाट जोगायो ।’ 

कोभिडको समयमा सडकमा खटिदा विभिन्न अनुभव जोशीले संगालेका छन् । ‘चालकहरू रोक्नुस–रोक्नुस् भन्दा भन्दै झ्याप्पै अगाडि आइपुग्छन्,’ उनले भने, ‘उनीहरू अगाडि आउने बित्तिकै ‘अलि टाढै बस्नुस्’ भन्छु । उनीहरू हुत्तिएर अगाडि आइपुगे भने आफै अलि पर सर्ने गरेको छु ।’

आफ्ना वरिपरिका साथीहरूलाई कोभिड देखिएपछि उनले तीनपटकसम्म पीसीआर परीक्षण गरेका थिए । तर, तीन पटक नै उनको कोभिड नेगेटिभ आयो ।
आफ्ना नजिकका साथीलाई कोभिड देखिदा उनी केही समय क्वारेन्टाइनमा पनि बसे । ‘नजिकका धेरै साथीलाई कोरोना देखियो,’ उनले भने, ‘अरुलाई नसरोस् भनेर धेरैपटक क्वारेन्टाइनमा बसेँ । आफूले सावधानी अपनाएको भएर होला मलाई भने अहिलेसम्म कोरोना देखिएको छैन ।’

‘कोभिडपछि अहिलेसम्म बाहिर गएर खाएको छैन’
बीर अस्पतालका जेनरल फिजिसियन सम्राट श्रेष्ठलाई पनि अहिलेसम्म कोरोनाले छोएको छैन । उनी दिनमा २० देखि ३० जना बिरामी हेर्छन् । बिरामी हेर्दा उनले नछुटाउने चार चिज हुन्– मास्क, पञ्जा, फेस सिल्ड र स्यानिटाइजर ।

योसँगै उनी बिरामीसँग भौतिक दूरी कायम गर्न पनि बिर्सिदैनन् । बिरामी हेर्दा मात्रै नभएर घर गएपछि पनि उनी लापर्वाही गर्दैनन् । ‘घर पुग्ने बित्तिकै पहिला आफ्नो कोठामा छिर्छु,’ उनले भने, ‘नुहाउछु र आफूले लगाएको लुगा धुन्छु । धुन नभ्याउँदा आफूले लगाएको लुगा छुट्टै राख्छु ।’

उनले पनि दुईपटक पीसीआर परीक्षण गरेका छन् । परीक्षण गर्दा दुबैपटक उनको नतिजा नेगेटिभ आएको छ । प्रत्येक पटक रिपोर्ट नेगेटिभ आउनुलाई उनी आफूले अपनाएको सावधानीलाई श्रेय दिन्छन् । 

नेपालमा कोभिड देखिएपछि उनले अहिलेसम्म बाहिर गएर खानपान गरेका छैनन् । ‘अस्पताल जाँदा खाना÷खाजा सबै घरबाटै लैजाने गरेको छु,’ उनले भने, ‘बाहिर खानपान बन्द ग-यो भने पनि धेरै हदसम्म कोभिडबाट बच्न सकिन्छ जस्तो मलाई लागेको छ ।’

आवश्यक काम नपरी उनी बाहिर पनि निस्किदैनन् । ‘धेरैजना बोर भयो भन्दै कामै नपरी पनि बाहिर जाने भिडभाड गर्ने गरिरहेका छन्,’ उनले भने, ‘तर, म विशेष काम नपरी बाहिर निस्किएको छैन । बाहिर जानुप-यो भने पनि भिडभाड हुने पसल र ठाँउभन्दा शान्त र भिडभाड नहुने ठाँउमा मात्र जान्छु ।’

‘आत्तिने होइन, सजग हुने हो’
महालक्ष्मी लाइफ इन्स्योरेन्सका पेप्सीकोला शाखा प्रमुख रुपक आचार्य पनि कोभिडबाट जोगिनेमध्ये एक हुन् । कोभिड सुरु भएपछि धेरैजना आत्तिए । तर, आचार्य आत्तिएनन् । कामसँगै कोभिडबाट कसरी जोगिने भनेर सजग भए । बारम्बार हात धोए । स्यानिटाइजर लगाए । 

कार्यालयमा उनले आधा समय बिताउँछन् भने बाँकी समय फिल्डमा हिँड्छन् । ‘फिल्डमा हिँड्नेबित्तिकै धेरैले कोरोना बोकेर आउँछ जस्तो गर्छन्,’ उनले भने, ‘तर, जनस्वास्थ्यका मापदण्ड पालना गर्ने हो भने कोभिड कसैलाई पनि हुँदैन ।’ कोभिडबाट आत्तिनुभन्दा पनि सजग हुनुपर्छ भन्ने लाग्छ उनलाई । ‘धेरै आत्तिनेहरूलाई झन् कोरोना भएको देखेको छु,’ उनले भने, ‘यस्तो बेलामा आत्तिनेभन्दा पनि सावधानीपूर्वक कसरी बच्ने हो, त्यो सोच्नुपर्छ ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x