स्वास्थ्य

कोभिडले कपाल झर्ने समस्या, कसरी पाउने छुटकारा ?

प्रा. डा. धर्मेन्द्र कर्ण |
साउन १५, २०७८ शुक्रबार ७:० बजे

एक दुई महिनायता धेरैजना मानिसहरू कपाल झर्ने समस्या लिएर आइरहेका छन् । दिनमै सय जनामा ३० देखि ४० जना कपाल झरेको समस्या लिएर आउने गर्नु भएको छ । कपाल झर्ने कारणमध्ये एउटा कारण कोभिड पनि हुन सक्छ ।  किनभने जो कपाल झर्ने समस्याले पीडित छन्, उनीहरूमध्ये अधिकांश कोभिड पोजेटिभ पनि पाइएका छन् । कोभिड पोजेटिभ हुनु भनेको तनावग्रस्त अवस्थामा प्रवेश गर्नु हो ।

कपाल झर्नुको कारणमध्ये तनाव पनि एक हो । कोभिड संक्रमण हुँदैमा तुरुन्तै कपाल झर्दैन । कपालमा कोभिडको असर ४ देखि ६ हप्ताबाट देखिन थाल्छ । कोभिड पोजेटिभ हुँदा मानिसलाई अत्यास लाग्छ । कोभिड हुनु भनेको मानिसको लागि ‘ब्रेकिङ न्युज’ हो ।


यसमा कोभिड भएको व्यक्तिलाई मात्रै नभएर उसको परिवारका सदस्यलाई समेत असर गर्छ । मानसिक तनाव हुन्छ । अनिद्रा हुन्छ । यसले शरीरको भित्री प्रणालीलाई समेतलाई असर गर्छ । जसले कपाल झार्छ । 

कोभिडले किन झार्छ कपाल ?
- मानसिक तनाव
- कोभिडको लागि प्रयोग गरिने एन्टी बायोटिक औषधिको साइड इफेक्ट 
- ‘मेटाबोलिक इम्ब्यालेन्स’ 
- अक्सिजनको कमी  

कोभिड हुँदा ज्वरो आउने, खोकी लाग्‍ने र शरीरमा अक्सिजन लेबल तलमाथि हुने हुन्छ । शरीरमा अक्सिजन कम हुँदा कपालको जरामा पनि कम हुन्छ । जसले कपाल झर्न मद्दत पुर्‍याउँछ । कोभिड संक्रमण हुँदा शरीरले भाइरसविरुद्ध लडाइँ गर्नुपर्ने हुन्छ । यस्तो बेला सबै अंगका कोषहरू कोभिडविरुद्ध लडिरहेको हुन्छन् । जसबाट ज्वरो आउँछ । सास फेर्न गाह्रो हुन्छ । शरीरमा भिटामिन र प्रोटिन बढी खपत हुन्छ । शरीरलाई चहिने तत्व कुनै बढी कुनै कम हुन थाल्छ । ‘मेटाबोलिक इम्ब्यालेन्स’ हुन थाल्छ । 

कोभिड लागेपछि हामीले विभिन्‍न खालका औषधि खान थाल्छौँ । त्यसको साइड इफेक्ले पनि धेरैलाई कपाल झर्ने समस्या निम्त्याउँछ । त्यस्तै धेरैलाई दोस्रो लहरको कोभिडले भेन्टिलेटरसम्म पुर्‍याएको छ । भेन्टिलेटरमा जाने बित्तिकै कपालको स्याहार मिल्दैन । त्यसले गर्दा पनि कपाल झर्छ । 

कपालको जरादेखि टुप्पोसम्म समाउँदा दिनमा सय ओटाभन्दा बढी कपाल झर्‍यो भने त्यो कपाल झर्ने समस्या हो । शरीरमा कुनै खराबी देखिएर कपाल झर्ने अवस्थालाई ‘टेलोजेन इफ्लुभियम’ भनिन्छ । पोस्ट कोभिडपछि कपाल झर्ने समस्या पनि ‘टेलोजेन इफ्लुभियम’ नै हो । कोभिड भएको ४ देखि ६ हप्ताबाट झर्न सुरु भएको कपाल २-३ महिनासम्म झरिरन्छ । समयसँगै तनावग्रस्त अवस्था निको हुन थालेपछि कपाल झर्ने क्रम पनि रोकिन्छ । तर, कहिलेकाहीँ यस्तो अवस्थामा पुरै खाली नै हुनेगरी कपाल झर्न पनि सक्छ । कसैकसैलाई ६ महिनाभन्दा पनि बढी लाग्‍न सक्छ । 

वंशाणुगत वा तालुपना हुँदा बीचमा मात्रै कपाल झर्छ । तनाव, हर्मोनको गडबढी वा भिटामिनको कमी हुँदा कपाल चारैतिरबाट झर्छ । झर्ने कपालको जरा कमजोर भएको हुन्छ, हल्लिएको हुन्छ । यस्तो अवस्थामा कपाललाई भार दिनु हुँदैन । कपालको स्याहारमा ध्यान दिनुपर्छ । 

झर्ने कपालको स्याहार कसरी गर्ने ?
- रगडेर स्याम्यु गर्दा कपाल झनै झर्न सक्छ, नुहाउँदा विस्तारै स्याम्पु गर्नुपर्छ
- कपालमा नरम खालको स्याम्पु प्रयोग गर्नुपर्छ
- हरेक पटक स्याम्पु प्रयोग गरेपछि कन्डिसनरको प्रयोग गर्नुपर्छ, कन्डिसनर प्रयोग गर्ने बानी छैन भने नुहाउनुभन्दा आधा घण्टा पहिले नरिवलको तेल लगाउनुपर्छ 
- स्विमङ पुलको पानीमा हुने केमिकलले कपाल कडा बनाउँछ, स्विमिङ पुल जाँदा स्विमिङ क्याप लगाएर स्विमिङ गर्नुपर्छ
- रुमालले रगडेर सुख्खा बनाउँदा कपाल झर्न सक्छ त्यसैले सकेसम्म कपाललाई आफैँ हावामा सुक्न दिन पर्छ
- झर्ने कपालमा सकेसम्म हेयर ड्रायरको प्रयोग गर्नुहुँदैन, हेयर ड्रायरले कपाल झन् कडा हुन्छ, टुक्रिन्छ 
- चिसैमा कपाल कोर्दा टुक्रिने भएकाले यो बानी परिवर्तन गर्नुपर्छ 
- झर्ने कपाललाई कसिने गरि बाध्नुहुँदैन 
- कपाललाई रङ्गाउने, स्ट्रेट गर्ने जस्ता काम गर्नु हुँदैन 
- कपाल राम्रो देखाउन वा सजाउन कपालको जरा तान्‍ने हेड पिनहरूको प्रयोग गर्नु हुँदैन
- धेरै कोर्दैमा कपाल राम्रो हुन्छ भन्‍ने कुरा गलत हो, कपाल धेरै कोरेको कोर्‍यै गर्नु हुँदैन

यदि यति गर्दागर्दै पनि कपाल झर्ने समस्या रोखिएको छैन भने तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्छ । कपालमा जथाभावी प्रयोग गर्नाले झनै समस्या थपिने स्थिति आउन सक्छ ।


Author

प्रा. डा. धर्मेन्द्र कर्ण

कर्ण छाला तथा सौन्दर्य विशेषज्ञ


थप समाचार
x