फाइजर खोप ल्याउने सरकारको घोषणा: तर, ल्याएर कहाँ राख्ने ?
प्रदेश भण्डारणमा छैन 'कोल्ड रुम'
काठमाडौँ – सरकारले पछिल्लो समय कोभिडविरुद्धको खोप आयात र खरिद प्रक्रियलाई अघि बढाउन थालेको छ । खोप आयात भएसँगै नेपालमा विभिन्न उमेर समूहका खोप लगाइरहेका छन् ।
अन्य मुलुकले कम उमेर समूहका मानिसलाई पनि खोप लगाउन थालेपछि नेपाल सरकारले किशोर किशोरीलाई लगाउने भन्दै अमेरिकन फाइजर खोप खरिद प्रक्रिया अघि बढाएको जनाएको छ । तेस्रो लहरको कोभिडबाट सुरक्षित राख्न कम उमेर समूहकालाई खोप लगाउन सरकारले चासो देखाउन थालेको छ ।
सरकारले १२ देखि १८ वर्ष उमेर समूहका करिब ५० लाख जनसंख्यालाई लक्षित गर्दै ६० लाख डोज खोप खरिद गर्न लागेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सम्झौतासमेत भइसकेको छ । 'अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सम्झौता भइसक्यो' मन्त्रालयका एक अधिकारीले भने ।
खोप खरिद प्रक्रिया अघि बढे पनि ल्याएको खोपलाई व्यवस्थापन गर्ने भण्डारण केन्द्र निर्माण हुन सकेको छैन । फाइजरको खोपलाई माइनस ६० देखि ८० डिग्रीको तापक्रममा राख्नुपर्ने हुन्छ । तर, नेपालमा उक्त खोपलाई भण्डारण गर्न स्थान र प्राविधिक कुराको कुनै पनि तयार गरिएको छैन ।
कोभिडविरुद्धको खोपलाई विभिन्न तापक्रमको भण्डारण केन्द्रको आवश्यकता पर्छ । कोल्ड सेन्टर र विभिन्न विधिका फ्रिजहरूमा पनि खोपलाई राख्न सकिन्छ । फाइजरको खोपलाई अन्य खोपलाई भन्दा भिन्न तरिकाले राख्नुपर्ने हुन्छ ।
भण्डार केन्द्र नभएमा कम्पनीले खोप दिँदैन
माइनस ८० डिग्रीको तापक्रममा राख्नुपर्ने भएकाले उक्त विधिको भण्डारकेन्द्र नेपालमा अहिले नभएको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले बताए । सरकारले खरिद प्रक्रिया बढाएकाले कम्पनीसँगै खोप राख्न मिल्ने फ्रिज ल्याउने सक्ने उनको भनाइ छ ।
'कम्पनीले खोप भण्डारण केन्द्र नभएमा खोप वितरण पनि गर्दैन,' थापाले भने,' खोप खरिदसँगै भण्डार केन्द्रको सुनिश्चितता भएपछि मात्र खोप ल्याइन्छ ।' खोप राख्न तत्कालै पूर्वाधार तयार गर्न नसकिने उनले प्रष्ट पारे । धेरै संख्यामा खोप अट्ने फ्रिज खरिद गर्ने काम पहिलो प्राथमिकतामा राखेर काम भइरहेको उनी बताउँछन् ।
थापाले फाइजर खोप भण्डारणका लागि विश्व स्वास्थ्य संगठन र युनिसेफद्वारा मान्यता प्राप्त फ्रिज ल्याउनुपर्ने पनि बताए । उनले टेकुको भण्डार केन्द्रमा ४५ हजार लिटरको खोप अट्ने क्षमता भएको बताए । 'टेकुको भण्डारण केन्द्रमा कोभिड खोप मात्र राख्न मिल्दैन,' थापाले भने, 'अन्य रोगविरुद्धका खोप पनि यहीँ राख्नु पर्ने हुन्छ ।' कोभिडविरुद्धको खोपलाई मात्र राख्दा अन्य खोप भण्डारण गर्न समस्या हुने थापाको भनाइ छ ।
त्यस्तै प्रदेशमा बनेका भण्डारण केन्द्र पनि अझै सञ्चालनमा आउन सकेका छैनन् । सरकारले विराटनगर, जनकपुर, हेटौंडा, पत्लैया, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा भण्डारण केन्द्र निर्माण गरे पनि 'कोल्ड रुम' अझै बन्न सकेको छैन ।
भण्डार केन्द्रमा 'कोल्ड रुम' नहुँदा प्रदेशमा पनि खोप राख्न मिल्ने अवस्था छैन । अहिले जिल्ला-जिल्लामा पठाइएको खोप जिल्ला अस्पतालसँगको समन्वयमा त्यहाँका सीमित भण्डारणमा राख्ने गरिएको छ ।
खोपसँगै फ्रिज पनि खरिद गरिने
यता स्वास्थ्य मन्त्रालयका खोपसम्बन्धी विज्ञ समूहका संयोजक डा.श्यामराज उप्रेतीले भने भण्डारण केन्द्रसँगै 'कोल्ड रुम' बनाउन पर्याप्त समय रहेको दाबी गर्छन् । 'खरिद प्रक्रिया अगाडि बढिसकेको छ । भएका पूर्वाधारहरूलाई भण्डार केन्द्रका रुपमा प्रयोग गर्नुपर्छ,' उनले भने, 'भण्डारण गर्न असम्भव भएमा फ्रिज किन्ने पनि तयारी भइरहेको छ । विश्व स्वास्थ्य संगठन र युनिसेफद्वारा मान्यता प्राप्त फ्रिज खरिद गरिन्छ ।'
अमेरिकासँग नभई अन्य मुलुकसँग पनि फ्रिज खरिद गर्न सकिने डा. उप्रेतीले बताए । फाइजर खोप राख्न र तापक्रम समायोजन गर्न मिल्ने खालको फ्रिज खरिद गरिने उनको भनाइ छ ।
भण्डारणमा समस्या हुन नदिन के गर्ने ?
त्यसैगरी मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारी फाइजरकै खोप खरिद गरी ल्याएमा तत्कालै भण्डारण गर्न समस्या नहुने बताउँन् । कति खोप ल्याइन्छ त्यसमा भर पर्ने उनको भनाइ छ ।
उपत्यकाको निजी तथा ठूला सरकारी अस्पतालमा केही दिनसम्म खोप भण्डारण गर्न सकिने अधिकारिको भनाइ छ । अधिकारी खोप ल्याउनसाथ लगाउने गरेमा भण्डार गर्न समस्या नहुने बताउँछन् ।
'काठमाडौँ उपत्यकामा बसोबास गर्नेको संख्या धेरै छ' डा.अधिकारीले भने, 'यस्तो अवस्थामा खोप ल्याउने बित्तिकै उपत्यकामा बसोबास गर्ने मानिसलाई मात्र लगाएमा पनि भण्डारण गर्न समस्या हुँदैन ।' उच्च विधिको प्रविधि प्रयोग गरेर भए पनि खोपलाई भण्डार गर्न सकिने उनले बताए । उनले खोप आउने पक्का भएसँगै माइनस ८० डिग्री तापक्रम भएको 'कोल्ड रुम' बनाउने तयारी सुरु भइसकेको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया