'वीर अस्पताल बन्द गराएर निजी अस्पताललाई फाइदा पुर्याउनेले मेरो सरुवा गरे'
काठमाडौँ – वीर अस्पताल बन्द गराएर निजी अस्पताल सञ्चालकलाई फाइदा पुर्याउन चाहनले आफ्नो सरूवा गरेको डा. जागेश्वर गौतमले आरोप लगाएका छन् । गौतमको आज सरुवा भएको हो । उनी वीर अस्पतालबाट थापाथलीस्थित परोपकार प्रशुतीगृह पुगेका छन् ।
'अस्पतालमा बिचौलियाको रुपमा भर्ना भएका कर्मचारीले बिरामीलाई निजी अस्पतालमा रिफर गरेर पठाउने कर्मचारीले मेरो सरुवा गरेका हुन्,' इकागजसँगको टेलिफोन संवादमा उनले भने ।
सरकारले राम्रो काम गर्नेहरूको मूल्यांकन गर्न नसकेको गौतमको आरोप छ । वीर अस्पतालमा बस्दा मुलुकभरको समग्र कोभिड उपचारमा ध्यान दिएर काम गरेको उनले बताए ।
'वीर अस्पतालमा करिब ६६ दिन बसे,' गौतमले भने, 'कोभिड भवनको उदघाट्न गरे । सुरुमा पाँच सय बेड भएका ठाउँमा एक हजार बेड पुर्याए । ६८७ कर्मचारीको दरबन्दी भएको ठाउँमा ८ सयभन्दा बढी दरबन्दी थपेर १५ सय कर्मचारी पुर्याएको छु ।'
दुई सय आइसीयू र १५० भेन्टीलेटर सञ्चालनमा ल्याएको गौतमको दाबी छ । उनले आफू वीर अस्पतालमा रहँदासम्म आफैँले गरेको कामदेखि पूर्ण रुपमा सन्तुष्ट रहेको पनि बताए । वीर अस्पताललाई १० वर्षसम्म सञ्चालन हुने गरी व्यवस्थापनको काम गरेको उनको दाबी छ ।
अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक पनि निर्माण गरेको डा. गौतमले बताए । अस्पतालमा कोभिड संक्रमितको उपचार गर्न कुनै पनि समस्या नहुने उनले जानकारी दिए ।
अब नेपालकै गाइनोकोलोजिष्ट विज्ञ भएकाले पुरानो ठाउँमा गएर दिदी बहिनीको सेवा गर्ने गौतम बताउँछन् । 'काममा इमान्दार भएकाले आफ्नो कर्तव्यबाट कहिले पनि टाढा हुँदिन,' उनले भने, 'म क्षमतावान मानिस भएकाले मलाई काम गर्नलाई कहीँ पनि समस्या हुँदैन । पुरानो काममा फर्कने पाएकाले धेरै खुसी छु ।'
सोमबार स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीस्तरीयको बैठकले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. गौतमको सरुवा गरेको थियो ।गौतमको ठाउँमा ट्रमा सेन्टरका डा. रूद्र मरासिनीलाई पठाएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया