मुस्ताङमा १८ वर्ष माथिका सबैले लगाए कोभिडविरुद्ध खोप
मुस्ताङ
म्याग्दी - गण्डकी प्रदेशको मुस्ताङ जिल्लाका १८ वर्ष उमेर समूह माथिका सबै नागरिकले कोभिड भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार १८ वर्षभन्दा माथि उमेरका नौ हजार ५०८ जनालाई तीन प्रकारको कोभिडविरुद्धको खोप लगाइएको हो । कार्यालयका प्रमुख टिकाराम भण्डारीले तोकिएको उमेर समुहका शतप्रतिशत नागरिकलाई कोभिड भाइरसविरुद्धको खोप लगाइएको जानकारी दिए ।
'छ हजार ७१५ जनालाई जोन्सन एण्ड जोन्सन र दुई हजार ४७२ जनालाई कोभिसिल्ड चरण गरेर लगाइएको छ,' उनले भने, 'भेरोसिलको पहिलो र दोस्रो डोजको खोप लगाउनेको सङ्ख्या ३३२ जना छ ।'
मुस्ताङका नागरिकका साथै रोजगार, पेशा व्यवसाय र कामदारका रुपमा आएकाले पनि खोप सुविधा पाएका छन् । अन्य जिल्ला घर भए पनि हाल मुस्ताङमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एम्बुलेन्स चालक, सरसफाईकर्मी, कर्मचारी, जनप्रतिनिधी, पत्रकार, सङ्घसंस्थाका कर्मचारी, शिक्षकले खोप लगाएका छन् । विसं २०६८ को जनगणना अनुसार कुल १३ हजार जनसङ्ख्या रहेको मुस्ताङमा १८ वर्षभन्दा माथिका नागरिकको सङ्ख्या नौ हजार ३६० जना थियो ।
मुस्ताङमा २०७७ माघ १४ गतेदेखि कोभिड विरुद्धको खोप अभियान शुरु गरिएको थियो । कोभिड विरुद्धको कोभिशिल्ड खोप अभियान शुरु गर्दाको अवस्था सामान्य थियो । कोभिसिल्डको दोस्रो चरण, भेरोसिल र जोन्सन एण्ड जोन्सनको खोप अभियान सफल पार्न मुस्ताङका स्वास्थ्यकर्मीले निकै सङ्घर्ष गरेका छन् । बाढी, पहिरो र नदी कटानले सडक अवरुद्ध हुने, सडक पुल बगाउने, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा खोप अभियान सञ्चालन गर्न कठिनाइ भएको थियो ।
मार्फा खोलामा असार पहिलो हप्ता बाढी आउँदा जोखिम मोलेर दुःखका साथ खोप ढुवानी गर्दै गरेका स्वास्थ्यकर्मीको तस्बिरले अन्तरराष्ट्रियस्तरमा चर्चा पाएको थियो । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा ठाउँ/ठाउँमा भरियालाई बोकाएर खोप ढुवानी गरिएको थियो भने खोलामा ट्याक्टरमार्फत खोप तारिएको थियो । खोप अभियान पूरा भएसँगै मुस्ताङका कतिपय शैक्षिक संस्थामा भौतिकरूपमै पठनपाठन सञ्चालन भएको छ ।रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया