सरकारी ढिलासुस्ती
७१ प्रतिशतलाई खोप लगाउने लक्ष्य, तर १२ प्रतिशतले मात्रै पाए पूर्ण मात्रा
कर्णाली र प्रदेश २ का केही जिल्लामा भेरोसेलको पहिलो मात्रा खोप पाएनन्
फाइल तस्बिर
काठमाडौँ - देशभर हालसम्म कोभिड-१९ विरुद्धको खोप पहिलो र दोस्रो मात्रा गरेर ६९ लाख ८६ हजार ४५१ जनाले लगाइसकेका छन् । यो समाचार तयार पार्दासम्म पहिलो मात्रा ४४ लाख ९४ हजार २६९ र पूर्ण मात्रा २४ लाख ९२ हजार १८२ जनाले लगाएका छन् ।
सरकारले कोभिड महामारी सुरु भएको करिब एक वर्षमा कोभिडविरुद्धको खोप लगाउन सुरु गरेको थियो । नेपालमा पहिलो संक्रमित २०७६ माघ महिनामा चीनबाट आएका विद्यार्थीमा देखिएको थियो । गत वर्षको माघदेखि मात्र नेपाली जनताले कोभिडविरुद्धको खोप पाउन थालेका थिए ।
मुलुकमा कोभिड महामारीको बीचमा दुईवटा सरकार बन्यो तर, पूर्ण जनसंख्यालाई हालसम्म पनि खोप लगाउन सकेको छैन । खोप कार्यक्रम सुरु भएदेखि कुल जनसंख्याको ७.९८ प्रतिशतले मात्र पूर्ण खोप लगाउन पाएका छन् । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार पहिलो मात्रा १४.६६ प्रतिशतले लगाएका छन् ।
मुलुकमा दिनप्रतिदिन कोभिड संक्रमितको संख्या बढ्दै गएको थियो । सरकारले संक्रमितको संख्या गणना गरेसँगै खोप लगाउने लक्षित संख्यालाई पनि निश्चित समूहमा विभाजन गर्यो ।
सरकारले सात महिनासम्म लक्ष्यअनुसारको आफ्ना नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउन सकेको छैन । ७१.६२ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखे पनि हालसम्म पूर्ण मात्रा खोप ११. १४ प्रतिशतलाई मात्र खोप लगाएको पाइएको छ । पहिलो मात्रा २०.४७ प्रतिशत मात्रा खोप लगाएको हो । खोप लगाउनुपर्ने जनसंख्या दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको थियो ।
चैत महिनासम्म १२ वर्षमाथिका सबैलाई सरकारले खोप लगाउने लक्ष्य छ । तर, सात महिनामै खोप कार्यक्रम लक्ष्यअनुसार हासिल नगर्दा सबैमा खोपको पहुँच नपुग्ने देखिएको छ ।
विभिन्न मुलुकसँग खरिदको सुनिश्चितता गरेअनुसार खोप आयात भएमा सबैलाई खोप लगाउन सकिने खोप महाशाखाले दाबी गरेको छ । कोभ्याक्सबाट वाचाअनुरुप खोप आएमा र खरिद गरेको खोप आयात भएमा लक्ष्यअनुसार खोप लगाउन सक्ने महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले बताए ।
पछिल्लो समय कर्णाली प्रदेश, २ र १ नम्बर प्रदेशमा खोप लगाउन नसकिएको पोखरेलले जनाए । कर्णालीको २, प्रदेश २ मा ७ र १ मा एउटा जिल्ला खोप भेरोसेल खोप लगाउन नसक्दा पनि लक्ष्यअनुसार खोप लगाउन नसकिएको उनको तर्क छ ।
धेरै जिल्लामा जोनसन एण्ड जोनसनको खोप मात्र लगाउँदा पनि समस्या भएको पोखरेलले जानकारी दिए । 'जिल्लास्थित खोप समन्वय समितिले खोप लगाउने तालिका सार्वजनिक गर्न नसक्दा खोप कार्यक्रम प्रभावित भएको हुन सक्छ,' उनले भने ।
खोप कार्य योजना परिवर्तन गरेर भए पनि १८ वर्ष माथिका सबैलाई खोप लगाउन सकिने पोखरेलले बताए । खोप केन्द्र बढाएर व्यवस्थित तरिकाले खोप लगाउनलाई योजना बनाइने उनको भनाइ छ । 'दैनिक दुई लाख मानिसलाई खोप लगाइएको छ,' उनले भने ।
खोप कार्ययोजना नबनाउदा लक्ष्य अनुसार खोप लगाउन नसकिएको खोप विज्ञ डा. जीवनबहादुर शेरचन बताउँछन् । प्राप्त खोप सबै उमेर समूहका मानिसलाई उपलब्ध गराउनुपर्ने उनले तर्क गरे ।
'भण्डार केन्द्रमा खोप नराखी प्रभावित क्षेत्रमा खोप वितरण गरिनुपर्छ,' शेरचनले भने,' खोप सुरुवातीदेखि पुरानो संरचना राखी खोप वितरण भइरहेको छ ।'
कतिपय जिल्लामा भेरोसेलको पहिलो चरणको खोप लगाउन नसक्नुमा व्यवस्थापनको कमजोरी रहेको शेरचनले बताए । अहिलेको प्रणालीअनुसार खोप लगाउने कार्य भइरहेमा सरकारले आफ्ना नागरिकलाई लक्ष्य अनुसार खोप लगाउन नसक्ने उनले सुनाए । खोप पाउन योग्य उमेर समूहका मानिसले खोप लगाउन नपाउनुमा सरकारको व्यवस्थापन पक्ष कमजोर रहेको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया