स्वास्थ्य

जनसंख्याको अनुपातमा खोप उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग

इकागज |
साउन २८, २०७८ बिहीबार १८:४५ बजे

जनकपुरधाम - प्रदेश- २ का मुख्यमन्त्री लालबाबु राउतले जनसंख्याको अनुपातमा कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन कोभिड-१९ संकट व्यवस्थापन कार्यदल (सीसीएमसी)सँग माग गरेका छन् ।

बिहीबार जनकपुरधाममा बसेको प्रदेशस्तरीय कोभिड-१९ संकट व्यवस्थापन कार्यदल (पीसीसीएमसी)को बैठकमा मुख्यमन्त्री राउतले सीसीएमसी केन्द्रीय सचिवालयका प्रमुख बालानन्द शर्मा नेतृत्वसहितको टोलीसँग यस्तो माग गरेका हुन् ।


उनले सबैभन्दा बढी जनघनत्व तथा भारतसँगको खुला सीमाका कारण प्रदेश २ मा कोभिड महामारीको जोखिम उच्च रहेकोले यस प्रदेशलाई जनसंख्याको अनुपातमा खोप उपलब्ध गराउन आग्रह गरे ।

सीसीएमसीका केन्द्रीय प्रतिनिधिलाई यहाँका संक्रमितको अवस्था र अस्पतालबारे बुझ्न विगतमा पटक–पटक आग्रह गरेकोमा ढिलै गरेर भए पनि प्रतिनिधिहरू  प्रदेश २ को स्थलगत अनुगमनका लागि आएकोमा मुख्यमन्त्री राउतले उनीहरूलाई धन्यवाद ज्ञापन गरे ।

बैठकमा संघीय सरकारले प्रदेश २ मा आवश्यकताअनुसार खोप केन्द्र उपलब्ध नगराएको मुख्यमन्त्री राउतसहित स्थानीय जनप्रतिनिधिले गुनासो गरेका छन् ।

बैठकमा सीसीएमसी सचिवालयका प्रमुख बालानन्द शर्माले महामारीको सम्भावित तेस्रो लहर तथा निकट भविष्यमा हुनसक्ने स्मार्ट लकडाउनको विधिबारे जानकारी गराएका छन् ।

छलफलमा स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले प्रदेशको कोभिड–१९को अवस्था एवम् धनुषाका प्रमुख जिल्ला अधिकारीले धनुषाको अवस्थाबारे ब्रिफिङ गराएका छन् ।

सो बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहलगायतले कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणकाबारेमा आफ्नो धारणा राखेका छन् । 

स्थानीय प्रतिनिधिहरूले महामारी नियन्त्रणका लागि आफुहरूले उच्चतम प्रयास जारी रखेको बताउँदै पहिलो र दोस्रो लहरलाई नियन्त्रणमा लिन सफल भएको र सम्भावित तेस्रो लहरको लागिसमेत तयारी अवस्थामा रहेको जानकारी दिए ।

कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण साथै विद्यालयहरूको सञ्चालनका विषयमा प्रदेश सरकारलाई संघीय सरकारको साथ र सहयोग अपरिहार्य रहेको मुख्यमन्त्री राउतले बताए ।

छलफलमा सीसीएमसी सचिवालयका प्रमुख शर्माले संघीय सरकार देशका सबै नागरिकको स्वास्थ्यप्रति गम्भीर र उत्तिकै जिम्मेवार रहेको धारणा राख्दै नागरिकलाई संक्रमणको जोखिमबाट बचाउन निरन्तर सक्रिय रहेको स्पष्ट पारे ।


Author

थप समाचार
x