आत्महत्या कोसिस गर्नेसँग कस्तो व्यवहार गर्ने ?
काठमाडौं : हप्ता दिनअघि ललितपुर, इमाडोल डेरागरी बस्ने २९ वर्षीय युवकले आत्महत्याको प्रयास गरे । उनी एक युवतीसँग एकतर्फी प्रेममा थिए । प्रेममा परेकी युवतीको त्यस दिन विवाह भएको थियो । विवाहको खबर पाएपछि उनले आत्महत्याको प्रयास गरेका थिए ।
राति पौने ११ बजेतिर उनले ‘सुसाइड नोट’ लेखे । ‘सुसाइड नोट’को तस्बिर खिचेर भाइबर ग्रुपमा हाले । त्यसपछि औषधि खाए । भाइबर ग्रुपमा ‘सुसाइड नोट’ देख्नेबित्तिकै उनका एकजना साथीले प्रहरीलाई फोन गरेर खबर गरे । महानगरीय प्रहरी परिसरले यो खबर पायो । तत्कालै प्रहरी खटाएर उनको उद्दार गरियो । ढोका बन्द भएकाले प्रहरीले झ्यालबाट छिरेर ट्याब्लेट खाएका उनलाई अस्पताल पुर्याएको थियो ।
एक महिनाअघि ‘सुसाइड नोट’ लेखेर भक्तपुरबाट एकजना डेन्टल सर्जन बेपत्ता भए । उनले एकाबिहानै फेसबुकमा सुसाइड नोट पोस्ट गरेर बेपत्ता भएका थिए । सुसाइड नोट देखेपछि उनको साथीभाइ र आफन्तबीच निकै ठूलो हल्लीखल्ली भयो । पारिवारिक कारणले आफूले सुसाइड गर्न लागेको कुरा नोटमा उल्लेख गरेका थिए । ‘बुबा, आमा र बहिनीको कारण आत्महत्या गर्न गइरहेको छु,’ उनले ‘सुसाइड नोट’मा लेखेका थिए ।
‘सुसाइड नोट’ लेखेर बेपत्ता भएका उनलाई खोज्न प्रहरी परिचालन गरिएको थियो । बेपत्ता भएका उनलाई प्रहरीले काभ्रेको भुम्लु गाउँपालिका-१० मा टोलाइरहेको अवस्थामा फेला पारेर परिवारलाई जिम्मा लगाएको थियो ।
कस्तो व्यवहार गर्ने आत्महत्याको मुखबाट फर्कनेहरूसँग
पाटन अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रवी शाक्यले धेरैलाई आत्महत्याको प्रयास गर्नेहरूसँग कस्तो व्यवहार गर्ने थाहा नभएको बताउँछन् । आत्महत्याको प्रयास गरेकै भरमा धेरैले उनीहरूलाई पछिसम्म पनि छिःछि र दूरदूरको व्यवहार गर्ने गरेको उनको धारणा छ । ‘कसैले आत्महत्याको प्रयास गर्नु लाज सरमको अवस्था होइन, रोगको अवस्था हो’ उनी भन्छन्, ‘उनीहरूलाई गालीगलौज, बेइज्जती र छिःछि दूरदूर गर्दा पिडामाथि झन् पिडा थपिन्छ । उनीहरूलाई त्यस्तो व्यवहार गर्नु कुनै बुद्धिमानी वा बहादुरीपूर्ण काम होइन ।’
आत्महत्या कोसिस गरे पनि बाँचे जो उनीहरूलाई हेला होइन, मायाको खाँचो छ
वैज्ञानिक रुपमा यसलाई उनी ‘मेडिकल इमरजेन्सी’ भन्छन् । ‘कोही मानिस लडेर रगत बगिरहेको छ भने हामी उसलाई जिस्काउँदैनौँ,’ उनी भन्छन्, ‘उसको ज्यान बचाउनुपर्छ भन्दै अस्पतालतिर दौडाउँछौँ । रोग पत्ता लगाउन सिटी स्क्यान गर्छौँ, सर्जरी गर्छौ र रोग निको बनाउँछौँ । जसरी देखिने घाउको तत्कालै उपचार गरिन्छ त्यसरी अदृष्य घाउको पनि तत्कालै उपचार गर्नुपर्ने उनी बताउँछन् ।
संसारमा आत्महत्याको प्रयास गरेर पनि पछि खुशी जीवन बिताएर मानव जातीलाई योगदान गरिरहेका धेरै उदाहरण भएको उनी बताउँछन् । ‘आत्महत्याको प्रयासपछि आत्मविश्वाससाथ उर्जाशिल भएर आफ्नो जिन्दगीअघि बढाउने मानिसहरू धेरै छन्,’ उनी भन्छन्, ‘त्यसैले उनीहरूलाई हेयको भावले हेर्नु हुँदैन । कसैले आत्महत्याको कोसिस गर्यो भन्दैमा ऊ भोलि समाजमा कामै लाग्दैन भन्ने होइन ।’
एक जनाको आत्महत्याको अवस्थालाई व्यवस्थित गर्न नसक्दा परिवारमा अरु सदस्यले पनि आत्महत्या गरेका घटनाहरु प्रसस्तै रहेको उनी बताउँछन् । ‘एकपटक आत्महत्या गरेको व्यक्तिले फेरि आत्महत्याको कोसिस गर्ने संभावना हुन्छ,’ उनी भन्छन्, ‘पटक-पटक प्रयास गर्नेले त झनै भविष्यमा धेरै आत्महत्या गर्ने संभावना हुन्छ । त्यसैले, परिवार र समुदायले उनीहरूलाई हेला होइन, माया गर्नुपर्छ ।’
अपराधि होइनन् आत्महत्या कोसिस गर्नेहरू
मनोविद् गोपाल ढकाल आत्महत्या कोसिस गर्नेलाई समाजले अपराधीसरह व्यवहार गर्ने बताउँछन् । ‘एकपटक आत्महत्याको कोसिस गर्नेमाथि समाजले जीवनभर नमेटिने ट्याग लगाउँछ,’ उनी भन्छन्, ‘आत्महत्या कोसिस गर्नेलाई धेरैले ‘काथर’, ‘लाक्षी’, ‘डरपोक’, हुत्तिहारा’को संज्ञा दिन्छन् । यसो गर्नु भनेको उनीहरूको आत्मबल झनै कमजोर बनाउनु हो । उनीहरूलाई पुनः आत्महत्याको बाटो रोज्न थप हौसला प्रदान गर्नु हो ।’
उनीहरूको समस्या संवोधन हुनुपर्छ : मनोविद्
त्यस्तै, यस्ता कुरालाई मिडियाहरूले पनि सनसनीपूर्ण बनाउन नहुने उनी बताउँछन् । ‘आत्महत्या कोसिस गर्ने मानिसको नाम, फोटो मिडियामा आउँदा उसलाई झनै समस्या पर्छ,’ उनी भन्छन्, ‘समाचार आएपछि ‘मेरो समाचार आयो, मलाई समाजले स्विाकार्ला कि नस्विकार्ला’ भनेर पनि धेरैको आत्मविश्वास गिर्न सक्छ । समाजमा ‘अनुहार कसरी देखाउने’ भन्ने सोच पनि पालेका हुन सक्छन् । यसले भोलि समाजमा फर्किन उनीहरूलाई झनै गाह्रो हुन सक्छ ।’आत्मत्याको प्रयास मानिसले रहरले नभइ रोगको कारणले गर्ने उनी बताउँछन् । ‘रोग जसलाई जुन बेला पनि लाग्न सक्छ,’ उनले भने, ‘रोगीलाई विभिन्न लान्छना लगाएर थप रोगी बनाउने काम गर्नुहुँदैन । उनीहरू कुनै अपराध गरेका अपराधी होइनन् ।
मनोचिकित्सक डा.शाक्यले आत्महत्या कायर, जिन्दगीसँग जुध्न नसक्नेले गर्छन् भन्नेजस्ता धारणा गलत भएको बताउँछन् । ‘समाजका जस्तोसुकै बहादुर कहलिएका मानिसले पनि कुनै परिस्थितीमा यो बाटो रोज्न सक्छन्,’ उनी भन्छन्, ‘आत्महत्या गर्ने जोखिम हामी सबैमा छ । अधिकांश आत्महत्या डिप्रेसनको कारणले हुने गर्दछ । ‘सिजोफ्रेनिया’ (भ्रम हुने रोग) का कारणले पनि आत्महत्या गर्ने गरेको पाइन्छ । त्यस्तै, लागुपदार्थको समस्या, ‘पर्सनालिटी डिसअडर्ड’को कारणले पनि आत्महत्या हुन्छ ।’
आत्महत्या कोसिस गर्नेलाई धेरैले ‘काथर’, ‘लाक्षी’, ‘डरपोक’, हुत्तिहारा’को संज्ञा दिन हुँदैन ।
त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रमुख प्रा.डा.सरोज ओझाले मानिसले पारिवारिक, सामाजिक र मानसिक तीन कारणले आत्महत्याको प्रयास गर्ने बताउँछन् । ‘कसैले आत्महत्याको प्रयास गर्दैमा उसलाई नकारात्मक हिसावले हेर्नुहुँदैन,’ उनी भन्छन्, ‘आत्महत्याको कोसिस गर्नेलाई तुरुन्तै प्रोफेसनल काउन्सिलरकहाँ लैजानुपर्छ । काउन्सिलिङले उनीहरूलाई मन बलियो बनाउन सघाउँछ । अरुले के भन्लान् भन्ने सोचबाट मुक्त बनाउँछ ।’
‘प्यारा सुसाइट’ पनि हुन सक्छ
मनोविश्लेसक बासु आचार्य केही व्यक्तिहरूले ‘प्यारा सुसाइड’ को कोसिस गरेको पनि हुन सक्ने बताउँछन् । ‘प्यारा सुसाइड भनेको सुसाइड नगर्ने तर, सुसाइड गर्ने धम्की दिने अवस्था हो,’ उनी भन्छन्, ‘त्यस्तो मानिसले धम्की दिन्छ फुर्ति लगाउँछ, ‘ब्ल्याकमेल’ गर्छ तर, आत्महत्या गर्ने संभावना एकदमै कम हुन्छ । उनीहरूमा मर्ने चाहना हुन्छ तर, मर्न सक्दैनन् ।’
यस्तो अवस्थामा उनीहरूको विषय संवोधन हुनुपर्ने उनी बताउँछन् । ‘के कारणले आत्महत्या गर्दैछन् पत्ता लगाउनुपर्छ,’ उनी भन्छन्, ‘उनीहरूलाई ‘अड’ हुने वातावरण पैदा गर्नुहुँदैन । कतिपयले ‘अड’ पचाउन नसकेर पनि पछि साच्चै आत्महत्या गरेका केसहरू छन् । यस्तो अवस्थामा उनीहरूको समस्या सम्बोधन हुनुपर्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया