तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन
फाइल तस्बिर
दमौली - तनहुँ जिल्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि समस्या भएको छ । कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर स्थानीय तहमा गएपछि कारागारमा नयाँ स्वास्थ्यकर्मी नआउँदा उनीहरूले नियमित स्वास्थ्य परीक्षण गर्न नपाएका हुन् ।
विसं २०७६ असोजदेखि कारागार स्वास्थ्यकर्मी विहीने छ । अहेवको दरबन्दी रहेको कारागारमा स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा सामान्य स्वास्थ्य समस्या आउँदा पनि दमौली अस्पतालसम्म लैजानुपर्ने बाध्यता रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए ।
'यहाँ कार्यरत स्वास्थ्यकर्मी म्याग्दे गाउँपालिकामा सरुवा भएपछि दुई वर्षदेखि कारागार स्वास्थ्यकर्मीविहीन बनेको छ । यसले कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षणमा समस्या भइरहेको छ,' उनले भने, 'अन्यत्रसम्म लैजानुपर्छ, कारागारको सवारी छैन, हतकडी लगाएर हिँडेर जान कैदीबन्दी अप्ठ्यारो मान्छन् ।'
कारागारमा हाल एक सय ११ थुनुवा र एक सय ७५ कैदीबन्दी गरी दुई सय ८६ छन् । कारागारमा नयाँ भवन बनेकाले कैदीबन्दी राख्न सहज भएको छ । 'गर्मी, चिसो मौसममा कैदीबन्दी बिरामी भइराख्छन्, कारागारमै स्वास्थ्यकर्मीको दरबन्दी पूर्ति हुन सके सहज हुन्थ्यो,' उनले भने, 'सम्बन्धित निकायमा पटक पटक यस बारेमा जानकारी गराएका छौ ।'
कारागार व्यवस्था विभाग र प्रमुख जिल्ला अधिकारीलाई यस बारेमा जानकारी गराइएपनि हालसम्म केही सम्बोधन नभएको कारागारले जनाएको छ । 'करारमा राख्नका लागि कारागारसँग बजेट छैन, स्थायी कर्मचारीलाई नै पठाउन विभागमा अनुरोध गरेका छौ,' उनले भने ।
कारागारमा गत वर्ष नयाँ भवन निर्माण भएकाले त्यस यता कैदीबन्दीमा छाला रोगको समस्या भने नदेखिएको उनले बताए । पर्याप्त खानेपानीको व्यवस्था भएकाले कैदीबन्दीले सरसफाईमा ध्यान दिएका छन् । 'विगतका वर्षहरुमा खानेपानीको अभावले कैदीबन्दीलाई छालाको समस्या देखिन्थ्यो, शौचालय जान पनि पालो पर्खनुपर्ने बाध्यता थियो, तर अहिले त्यस्तो समस्या समाधान भएको छ,' उनले भने । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया