स्वास्थ्य

स्टार अस्पताल र एयरलाइन्सले युएई जाने यात्रुलाई र्‍यापिड परीक्षणमा लुट्दै

स्वास्थ्य मन्त्रालय भन्छः विमानस्थलमा परीक्षण भएको थाहा छैन

अतिन आचार्य |
भदौ ६, २०७८ आइतबार १६:४ बजे

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपाली दूतावासले मंगलबार खोपको लगाएको प्रमाणपत्र पेस नगरे पनि सहजै अनुमति पाइने सूचना सार्वजनिक गर्‍यो । तर, कोभिड पीसीआर रिपोर्ट र चार घण्टा अघि गरिएको र्‍यापिड रिपोर्ट नेगेटिभ हुनुपर्ने जानकारी पनि दियो ।

दुबईले कोभिडको जोखिम रहेका विदेशी नागरिकलाई यत्तिकै देश छिर्न प्रतिबन्ध लगाएको छ । विभिन्‍न मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवेश चाहने नागरिकले चार घण्टा अघि गरिएको कोभिडको र्‍यापीड परीक्षणको नेगेटिभ रिपोर्ट आवश्यक पर्छ । 


युएई सरकारले गरेको नयाँ व्यवस्थासँगै नेपाली कामदारहरू र्‍यापिड परीक्षण गरी दुबईतर्फ गइरहेका छन् ।  दुबईका लागि नेपालबाट उडान भरिरहेका एयर अरेबिया, फ्लाइ दुबईले र स्टार अस्पतालसँग मिलेर विदेश जाने नेपाली कामदारसँग कोभिड-१९ को र्‍यापीड परीक्षणका नाममा बढी शुल्क लिएको पाइएको छ ।

वायुसेवा कम्पनी र अस्पतालले परीक्षणको सामग्री महँगो भएको यात्रुबाट  कोभिड परीक्षण गरेबापत प्रतिव्यक्ति दुई हजार रुपैयाँ लिइरहेका छन् । वायुसेवा कम्पनी तथा स्टार अस्पतालले विमानस्थल परिसरमा घुम्तीसेवा सञ्‍चालन गरी यात्रुहरूको कोभिड परीक्षण गरिरहेका छन् । तर,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र्‍यापीड परीक्षण गरेको यात्रुलाई कोभिड परीक्षण गरेबापट  कति शुल्क उठाइरहेको छ त्यो समेत  थाहा छैन ।

नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य मन्त्रालयलाई विमानस्थलमा परीक्षणको व्यवस्था गरिदिन आग्रह गरे पनि सरकारले परीक्षणको व्यवस्था नगर्दा वायुसेवा कम्पनीले अस्पतालसँग मिलेर वैदेशिक रोजगारीमा जानेहरूको परीक्षण गरेको गरिरहेको हो ।

आइतबार विमानस्थल परिसरमा दुबई जान हिडेका लक्ष्मण बहादुर राईले एयर अरेबियाको काउण्टरमा परीक्षण गर्दा दुई हजार रुपैयाँ तिर्नुपरेको बताए। एयरलायन्सले परीक्षण शुल्क तोकेकाले दुई हजार तिर्नुपरिरहेको उनको भनाइ छ । 'परीक्षण नगरे विमानस्थलमा प्रवेश पाइदैन,' राईले भने,' टिकट खरिद गरेपछि मात्र हामीले परीक्षणको अनुमति पाउने गरेका छौ ।'

र्‍यापिड शुल्क एक हजार रुपैयाँ बढी लिन नपाइने

एउटामात्र प्रयोगशालालाई आरडीटी परीक्षण गर्ने सुविधा दिएकाले शुल्कमा एकाधिकार भएको भए थप प्रयोगशालालाई पनि अनुमति दिनुपर्ने हो । तर त्यसो गरिएको छैन । एयरलाइन्स र स्टार अस्पतालको विमानस्थल ल्याबको यसमा मिलेमतो देखिन्छ, यसमा मन्त्रालय बेखबर छ । 

विमानस्थलमा कोभिड परीक्षण भइरहेको विषयमा थाहा नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले बताए । विदेशबाट आएकालाई होल्डिङ सेन्टरमा राखी परीक्षण गर्ने व्यवस्था गरिरहेको उनको भनाई छ । 

अधिकारीले विमानस्थल परीसरमा र्‍यापीड परीक्षण गरिरहेको बारेमा थाहा नभएको बताए । नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य मन्त्रालयलाई कोभिड परीक्षणको व्यवस्था गरिदिन माग गरेको थियो । परीक्षणको सम्पूर्ण व्यवस्थापन गर्न प्राधिकरणलाई जिम्मा दिएको उनको भनाइ छ ।

निजी अस्पतालका लागि पीसीआर परीक्षण लागि दुई हजार रुपैयाँ तोकेको तर, आरडीटी परीक्षणका लागि एक हजार भन्दा बढी लिन नपाउने उनको भनाइ छ  ।

विमानस्थलमा परीक्षण गर्नका लागि सकारले अनुमति नदिएको डा. अधिकारीले दाबी गरे । निजीलाई अहिलेसम्म कोभिड आरडीटी परीक्षणका लागि शुल्क पनि नतोकिएको उनको भनाइ छ । 'अस्पतालले सरकारको अनुमति बिना परीक्षण गर्नु भनेको गैह्रकानुनी काम हो,' अधिकारीले भने ।

उनकाअनुसार दुवईले मात्र यात्रुको र्‍यापीड परीक्षणको नेगेटीभ रिपोर्ट माग गरेको छ । सरकारले र्‍यापीड परीक्षण शुल्क एक हजार रुपैयाँ तोकेको अधिकारीले दाबी गरे  । दुई हजार रुपैयाँ लिएको भए प्राधिकरण र अस्पताललाई बुझ्‍ने उनले बताए ।

'शुल्कको विषयमा स्वास्थ्य मन्त्रालयले अनुगमन गर्नूपर्छ'

स्वास्थ्य मन्त्रालयलाई परीक्षणको व्यवस्था गरिदिन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेकाले एयरलायन्सले आफै परीक्षणको व्यवस्था गरेको हुन सक्ने नागरिक उड्डयन प्राधिकरण उपप्रबन्धक ज्ञानेन्द्र भुलले बताए । उनकाअनुसार रोजगारीमा जानेहरूको परीक्षण स्टार अस्पतालले गरिरहेको छ ।

' र्‍यापिड शुल्क बढी लिनका लागि प्राधिकरणले अनुमति दिएको छैन,' भुलले भने,' शुल्क बढी लिएमा स्वास्थ्य मन्त्रालयले अनुगमन गर्नुपर्छ ।'

प्राधिकरणकाअनुसार यूएईले आफ्नो मुलुक प्रवेश गर्ने यात्रुसँग र्‍यापिड कोभिड नेगेटीभ रिपोर्ट माग गरेको छ । यूएईलाई विमानस्थलमा परीक्षणको व्यवस्था गर्न नसकिने पत्र पठाएको तर, र्‍यापिड परीक्षणको रिपोर्ट नेगेटीभ अनिवार्य पेश गर्नुपर्ने व्यवस्था सहितको पत्र पठाएकाले परीक्षण गरेर जाने भएका हुन् ।

' परीक्षण सामग्री मँहगो भएकाले शुल्क बढी लियौ'

स्टार अस्पतालका अध्यक्ष किशोर महर्जनले सरकारले र्‍यापीड परीक्षणको शुल्क निर्धारण नगरेको बताए । परीक्षण कीट महँगो परेकाले दुई हजार शुल्क लिने गरेको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयले भने कोभिडको सबै खाले परीक्षणको शुल्क निर्धारण गरिसकेको जनाएको छ । 

शुल्क निर्धारण गरिदिनका लागि सरकारलाई आग्रह गरिरहेको महर्जनले प्रस्ट पारे । किटको बजार मूल्य मँहगो भएकाले परीक्षण सस्तोमा गर्न नसकिने महर्जनको भनाइ छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x