स्वास्थ्य

स्टार अस्पतालको ठगी धन्दा

एयरलायन्ससँगको मिलेमतोमा स्टार अस्पतालको 'र्‍यापीड पीसीआर' किन ?

'परीक्षण गर्न अनुमति माग गरिएको छैन'

अतिन आचार्य |
भदौ ८, २०७८ मंगलबार १८:४७ बजे

काठमाडौँ- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पार्किङ् क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको सहमति बिना नै बल्खुको स्टार अस्पतालले कोभिड परीक्षणका लागि र्‍यापीड पीसीआर ल्याब सञ्‍चालनमा ल्याएको छ । सरकारले परीक्षण गर्ने कम्पनीको छनौट गर्नुपर्ने तर एयरलायन्स कम्पनीको एक पत्रकै आधारमा र्‍यापीड पीसीआर प्रयोगशाला राखेको हो । 

स्टार अस्पतालले दुबईका लागि वैदेशिक रोजगारीमा जानेहरूको कोभिड परीक्षण गर्न थालेको हो । दुबई उडान गर्ने एयरलायन्स कम्पनीको मिलेमतोमा अस्पतालले आरडीटी कोभिड परीक्षण केन्द्र सञ्‍चालनमा ल्याएको हो ।


दुबईले कोभिडको जोखिम रहेका विदेशी नागरिकलाई र्‍यापीड परीक्षण गरेको नेगेटीभ रिपोर्ट नदेखाएमा प्रतिबन्ध लगाएको छ । विभिन्‍न मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवेश चाहने नागरिकले चार घण्टा अघि गरिएको कोभिडको र्‍यापीड परीक्षणको नेगेटिभ रिपोर्ट आवश्यक पर्ने बताइसकेको छ ।

दुवईले विमानस्थल प्रवेश गर्नु चार घण्टा अघिको नेपाली कामदारले र्‍यापिड टेष्‍टको कोभिड रिपोर्ट नेगेटिभ लिएर मात्र प्रवेश गर्न निर्देशन दिएपछि कोभिड परीक्षण गरी विमानस्थल जान थालेका हुन् । प्रतिव्यक्ति परीक्षण गरेको अस्पतालले दुई हजार रुपैयाँ लिने गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन्ट परीक्षणको शुल्क दुई हजार र एक हजार रुपैयाँ गरेको छ । तर, अस्पतालले सरकारसँग अनुमति नलिइकन कोभिडको र्‍यापीड परीक्षण शुल्क दुई हजार रुपैयाँ लिएको छ । सरकारले  विमानस्थलमा परीक्षण केन्द्र सञ्चालन गर्न नसक्दा दुबई जाने कामदारहरू दुई हजार शुल्क तिर्न बाध्य भएका हुन् ।

त्यसैगरी हिमालयन एयरलायन्स र नेपाल वायुसेवा निगमले विमानस्थल परिसरमा कोठा भाडा लिएर कामदारको आरडीटी परीक्षण गरिरहेका छन् । दुवई फ्लाई र एयर अरेबियाका यात्रुले भने स्टार अस्पतालको प्रयोगशालामा परीक्षण गरी दुई हजार रुपैयाँ तिर्ने गरेका छन् ।

'अनुमति माग्‍न कोही पनि आएका छैनन्'

स्वास्थ्य मन्त्रालयलाई दुवई जाने नेपाली कामदारको र्‍यापीड परीक्षणको गरिदिन आग्रह गर्दा पनि व्यवस्था गर्न नसक्दा वायुसेवा कम्पनीले अस्पताललाई भनेर यात्रुको कोभिड परीक्षण गर्ने व्यवस्था मिलाइरहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।

स्टार अस्पताललाई प्राधिकरणले स्थान उपलब्ध नगराएको उनको भनाइ छ । 'एयरलायन्यस कम्पनीले आफैँ कोठा उपलब्ध गराएकाले त्यहीँ प्रयोगशाला कोभिड परीक्षण गरिरहेका छन्,' शेर्पाले भने,' एक जना कामदारले र्‍यापीड परीक्षण गरेको दुई हजार रुपैयाँ तिर्ने गरेका छन् ।' सरकारले परीक्षणको व्यवस्था गरिदिएको भए कामदारले दुई हजार तिर्नुनपर्ने उनले सुनाए ।

स्टार अस्पताल र एयरलाइन्सले युएई जाने यात्रुलाई आरडीटी परीक्षणमा लुट्दै 

उनकाअनुसार हिमालयन एयरलायन्स र नेपाल वायुसेवा निगमले आफ्नो कोठामा राखी यात्रुको कोभिडको परीक्षण गरिरहेका छन् । नेपाल सरकारले मान्यता दिएको अस्पतालले कोभिड परीक्षण गरिरहेको शेर्पाले बताए ।

'प्राधिकरणले बोलाएर परीक्षणको व्यवस्था नगरेको र एयरलायन्सको अनुरोधमा उडान भर्ने यात्रुको परीक्षणको व्यवस्था गरेका हुन्,' उनले भने,' एयरलायन्स कम्पनीको अनुरोधमा र्‍यापीड पीसीआर प्रयोगशाला राखेको हो ।'

प्राधिकरणका उपमहानिर्देशक भोला गुरागाईले अस्पतालले परीक्षण गर्न अनुमति नमागेको बताए । ' प्राधिकरणमा पनि कोभिड परीक्षण गर्न पाउ भनेर विमानस्थलको प्राङ्गणमा निवेदशन पेश गरेका छैनन,' उनले भने । त्यसैगरी प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीलेसमेत इकागजको सम्पर्कमा प्राधिकरणसँग परीक्षण गर्न अनुमति नलिएको दाबी गरे ।

'प्राधिकरणले परीक्षण गरिदिन माग गरेको थियो'

र्‍यापीड परीक्षणको शुल्क दुई हजार लिन पाउने गरी मन्त्रालयले अहिलेसम्म कुनै पनि व्यवस्था नगरेको तथा शुल्क निर्धारणसमेत नगरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए ।

विमानस्थलमा परीक्षण भइरहेको र लिएको शुल्कसमेत सरकारी मापदण्ड विपरीत रहेको पौडेलको भनाइ छ । 'शुल्क लिएको भए पनि मन्त्रालयमा जानकारी गराउनुपर्थ्यो,' उनले भने ।

स्वास्थ्य मन्त्रालयसँग नागरिक उड्डयन प्राधिकरणले र्‍यापीड परीक्षण गर्ने व्यवस्था मिलाइदिन आग्रह गरे पनि परीक्षणको व्यवस्था गर्न नसकेको पौडेलले जनाए । प्राधिकरणले परीक्षण गर्न कसरी व्यवस्था मिलाएको हो त्यो सक्ने उनले बताए ।

'प्राधिकरणसँग अनुमति लिएका छौ'

सरकारले कोभिड-१९ परीक्षण गर्न ९० भन्दा बढी निजी प्रयोगशालाई परीक्षणको अनुमति दिएको छ । स्टार अस्पतालले पनि कोभिड परीक्षण गर्ने अनुमति पाइसकेको छ । तर, विमानस्थलमा र्‍यापीड परीक्षण गर्न अनुमति नलिएको पाइएको छ ।

अस्पतालका अध्यक्ष किशोर महर्जनले विमानस्थलमा परीक्षण गर्न अनुमति लिएको दाबी गरे । 'हामीले परीक्षण गर्न नागरिक उड्डयन प्राधिकरणबाट पत्र समेत पाएका छौ,' उनले भने । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x