स्वास्थ्य

आठ महिनामा ९० लाखले लगाए कोभिडविरुद्धको खोप, १ करोड १२ लाख डोज भित्रियो

सार्क मुलुकमा खोप लगाउने मुलुकमा नेपाल तेस्रो स्थानमा

अतिन आचार्य |
भदौ ९, २०७८ बुधबार १८:६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालमा ९० लाख मानिसले कोभिडविरुद्धको खोप लगाएका छन् । खोप अभियान सुरु भएको ८ महिनाको अवधिमा खोपको पहिलो र दोस्रो डोज ९०  मानिसले लगाएका हुन् । अहिले खोप अभियानले तीव्रता पाएको र खोप आयात पनि बढेको स्वास्थ्य महाशाखाअन्तर्गत खोप महाशाखाले जनाएको छ ।  

पहिलो मात्रा ५० लाख र दोस्रो मात्रा ४० लाखले खोप लगाएका महाशाखा प्रमुख डा. झलक शर्मा गौतम बताउँछन् । काठमाडौँ उपत्यकामा ४० वर्षदेखि माथिकाले खोप लगाएको गौतमको भनाइ छ । 'उपत्यका बाहिरका जिल्लामा भने ४५ वर्ष माथिकाले खोप लगाएका छन,' उनले भने,'सबैभन्दा बढी बागमती प्रदेशमा खोप लगाइएको छ ।'


१३ प्रतिशतले खोपको मात्रा पुरा गरेको र पहिलो मात्रा १६.६६ प्रतिशतले खोप लगाएका छन् । २९ प्रतिशत बढीले खोप लगाइसकेका छन् । प्रदेशअनुसार समय मिलाएर खोप लगाउने कार्य भइरहेको उनको भनाइ  छ । जापानबाट ल्याइएको अष्ट्राजेनिकाको खोप प्रदेश १ र २ मा लगाइने भएको छ । 'पहिलो चरणमा ल्याइएको खोप बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा लगाइएको थियो,' उनले भने ।

खोपको आयातको संख्या बढेमा ४० वर्षभन्दा कम उमेर समूहका मानिसलाई पनि लगाउन सुरु गरिने गौतमले बताए । खोप लगाउन कार्ययोजना निर्माण गरिसकेको उनले प्रष्ट पारे । 

उनकाअनुसार संक्रमित बढी भएका क्षेत्रमा पहिले खोप लगाइनेछ । खोप अभियान अन्तर्गत अन्तरराष्ट्रिय अभ्यासअनुसार उमेर समूहलाई प्राथमिकता दिइने छ। उनीहरूलाई खोप लगाउन अग्रिम दर्ता गरिने छ । अत्यावश्यक सेवा दिने पेशामा रहेकालाई खोप कार्यक्रममा नछुटाइने उनको भनाइ छ ।

यसै वर्ष एक करोड ३ लाख खोप खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको गौतमले जानकारी दिए । सरकारले खरिद गरेको खोप आएमा सबैलाई सहजै लगाउन सकिने उनले बताए ।

'जोनसन एण्ड जोनसन खोप खरिद गर्ने तयारी अघि बढिसकेको छ,' गौतमले थपे,' विश्व बैंकबाट खोप खरिद गर्न पनि ऋण लिइसकेको छ । माघसम्ममा तीन करोड बढी खोप ल्याउने गरी सम्झौता भइसकेको छ ।'

भारतबाट अनुदानस्वरुप प्राप्त १० कोभिसिल्ड खोप नेपालमा गत वर्षको माघ १४ गतेदेखि लगाउन थालिएको थियो । हालसम्म एक करोड १२ लाख ६४ हजार कोभिडविरुद्धको खोप भित्रिएको छ ।

चीनबाट भेरोसेल खोप अनुदानस्वरुप १८ लाख, खरिद गरी ४० लाख । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप र खरिद गरी १० लाख र खरिद  गरेको १० लाख खोप आउन बाँकी छ । भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।

अमेरिकन जान्सिन खोप १३ लाख ३७ हजार ३८६ जनाले लगाइसकेका छन् । भेरोसेलको पहिलो मात्रा २९ लाख ५० हजार ६०, दोस्रो मात्रा १५ लाख ३० हजार ९४ जनाले लगाइसकेका छन् । कोभिसिल्डको दोस्रो मात्रा पूरा गरेका १० लाख ४२ हजार ४६१ र पहिलो मात्रा २० लाख ६ हजार ३९५ जनाले लगएका छन् ।

सार्क राष्ट्रमा कोभिडविरुद्धको खोप लगाउने मुलुकमा नेपाल तेस्रो स्थानमा परेको छ । हालसम्म ३० दशमलब २१ प्रतिशत नेपाली नागरिकले खोप लगाइसकेका छन् ।

सबैभन्दा बढी खोप श्रीलंकामा लगाइएको छ । ८२ दशमलब ९५ प्रतिशत श्रीलंकाली नागरिकले खोप लगाइसेका छन् । भारतमा ४२ दशमलब १९ प्रतिशतले खोप लगाएका छन् । पाकिस्तानमा २१ दशमलब ३ प्रतिशतले खोप लगाएका छन् । बंगलादेशमा १४. १३ प्रतिशतले खोप लगाएको आवर वल्डको तथ्यांकले जनाएको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x