संकटका सारथी
संक्रमितलाई छोएर जाँच्ने चिकित्सक
डा. डेनप्रसाद आचार्य अर्थात संक्रमितलाई छोएर जाँच्ने चिकित्सक, त्यो पनि केवल मास्करफेससिल्डको भरमा । धेरैजसो चिकित्सकले पीपीई सेट लगाएर समेत संक्रमितलाई छुन हिचकिचाउँछन् । उनी भने विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्र, फिभर क्लिनिक र आफ्नो न्यू चेतना क्लिनिकमा समेत सामान्य बिरामी एवं संक्रमितबीच भेद गर्दैनन् ।
कसैलाई प्रदेश १ मा संक्रमितलाई परीक्षण गरेर औषधी लेखिदिने चिकित्सक को भनेर सोध्यौं भने तत्काल जवाफ आउँछ, ‘डा.डेन’ । संक्रमितको उपचारमा पुर्याएको अदभुत योगदानका लागि उनी गत वर्ष बारबरा एडम्स फाउन्डेसनबाट पुरस्कृत भइसकेका छन् । डेनप्रसादले कोरोनाको बिरामी हेर्छन् भनेर नागरिक समाजले चिन्नु नै आफ्नो लागि सबैभन्दा ठूलो सम्मान र पुरस्कार भएको उनी बताउँछन् ।
अहिले सम्म तीन हजार संक्रमितको उपचार गरिसकेको उनी गर्वका साथ बताउँछन् । उनले पहिलो र दोस्रो चरणमा झन्डै २ हजार संक्रमितलाई टेलिफोन, एसएमएस र ह्वाट्सएपबाट सेवा दिएको बताउँछन् । कोरोना उत्कर्षमा पुग्दा एकै दिन एक्लैले पहिलो चरणमा ७० बिरामी र दोस्रो चरणमा ८५ संक्रमित जाँचेको उनी बताउँछन् । ‘हरेक दिन उत्कृष्ट सेवा दिने प्रयासमा हुन्छु,’उनी भन्छन्, ‘सेवाबाट पाएको आत्मसन्तुष्टिले मिठो निद्रा आउँछ ।’
संक्रमणको ७÷८ दिन कटेपछि विराटनगरभित्र र वरिपरि बस्ने बिरामीहरू फोन गर्दै उनलाई भेट्न आइपुग्छन् । अन्य बिरामीलाई जस्तै जाँचेर औषधी लेखि दिएपछि संक्रमितहरू छक्क पर्ने गरेको उनी बताउँछन् । ‘क्लिनिक बाहिरबाटै लखेट्नु होला लागेको थियो, भित्रै बसाएर पो कुरा गर्नुभयो,’ संक्रमित भएको साता नबित्दै आचार्यलाई भेट्न आएका एक स्थानीयले भने, ‘पूर्णतया निको नहुन्जेल भेट्न आइरहन्छु ।’
कोसी अस्पतालको टेलिमेडिसिनको समेत फोकल पर्सन रहेका उनी दिनहुँ दिउँसो साढे १ देखि एक घण्टा दुर्गम क्षेत्रका संक्रमितसँग संवाद गर्छन् । ‘कोरोना संक्रमण दर बढेर बिरामीले बेड नपाएर ज्यान गुमाउँदा र कहिलेकाहीँ तनाव वा दिक्क लागेको बेला बिरामी वा उनीहरूका परिवारजनसँग नराम्रो वचन बोल्दा अत्यधिक पीडाबोध हुन्छ,’ उनी भन्छन् ।
पहिलो चरणको कहरमा अस्पतालबाट ड्यूटी सकेर १४ दिन होटेलमा बसे पनि दोस्रो चरणदेखि भने उनी परिवारसँग सरकारी क्वार्टरमा बस्छन् । आचार्यको श्रीमती दीक्षा खनाल कोसी अस्पतालकी प्रसुति रोग विशेषज्ञ हुन् जो संक्रमित गर्भवतीलाई प्रसव सेवा प्रदान गर्छिन् । यि चिकित्सकीय दम्पतिका छोरा ६ वर्षीय दीक्षान्त र नानी ११ महिनाकी दिविशा छिन् ।
‘केवल मास्क लगाएर बिरामी जाँचे पनि हरेक पल्ट हात स्यानिटाइज गर्छु वा धुन्छु, ड्युटी सकेर जति पटक घर पुगे पनि नुहाउछु,’ डा.आचार्य भन्छन्, ‘यो देखेर नाबालक छोराले कति बिरामी हेर्नुपर्यो र कति नुहाउनु पर्यो भनेर भन्छन्, म निःशब्द हुन्छु, ठूलो भए पछि बाबुले आफै बुझनेछन् ।’
अस्पताल वा क्लिनिकमा गंभीर खालका संक्रमित आएको सूचना पाएर हतारमा निस्कँदा कहिलेकाहीँ मास्क लगाउन समेत बिर्सिने गरेको उनी बताउँछन् । ‘तर, अहिले सम्म संक्रमित नभइएकोले म र मेरो परिवार भाग्यशाली नै हो भन्दा हुन्छ,’ उनी भन्छन्, ‘चिकित्सक भइसकेपछि बिरामीको उपचार नै पहिलो प्राथमिकता हो ।’
अस्पताल र क्लिनिकमा आए जतिको बिरामी हेर्ने गरेको डा.आचार्य बताउँछन् । अचेल आफ्नो क्लिनिकमा दैनिक आइपुग्ने औसत १० बिरामीमा ५ जना लक्षण देखिएका कोरोनाको शंका गरिएका हुने गरेको आचार्य बताउँछन् । ‘कतिपय त नीकै गम्भीर र अक्सिजन लेवल निकै कम भइसकेका समेत हुन्छन्,’ उनी भन्छन् ।
संक्रमण बढ्दा कोरोनाले अति गर्यो भनेर लाग्ने गरेको र उकुशमुकश हुने गरेको आचार्य बताउँछन् । संक्रमण घट्दा उनलाई पनि अन्य नागरिकझै जीवन सहज र रमाईलो लाग्छ । ‘कोरोना संक्रमण बढेर धपेडी बढ्दा अलिकति स्वतन्त्र वा फूर्सदिलो हुन पाए हुन्थ्यो जस्तो लाग्छ,’उनी भन्छन्, ‘तर, संक्रमण नरोकिएको देख्दा यो भाइरस जीवनको अंग नै बनिसकेको जस्तो लाग्छ ।’
एक पटक सबै जना संक्रमित भएर एन्टिबडी बने पछि यो भाइरस समाप्त होला कि उनलाई लागेको छ । खोपको सहजता र ६० प्रतिशत जनता संक्रमित भए पछि इम्युनिटी विकास हुने डा. आचार्य आचार्यको बुझाइ छ ।
उनका अनुसार स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्ड पालन गरेमा संक्रमणको जोखिम कम हुन्छ । ‘जीवनमा अरु कुरा निश्चित नभए पनि एक दिन मरिन्छ भन्ने ग्यारेन्टि नै हो,’ उनी भन्छन्, ‘तर संक्रमित हुँदा आफूसँग परिवारले पनि दुःख पाउने हुनाले सतर्क छु, कोठामा मात्र नभएर प्रत्येक बिरामी हेरे पछि क्लिनिक र अस्पतालमा पनि हात स्यानिटाइज्ड गर्छु, अहिले सम्म जोगिएकै छु ।’
आईसीयू र भेन्टिलेटरमा राखिएका संक्रमितलाई बचाउन नसक्दाको क्षण सबैभन्दा पीडादायी हुने गरेको डा. आचार्य बताउँछन् । ‘पहिलो चरणमा एक बिरामीलाई आईसियूमा राख्यौं, बचाउन सकेमा पार्टी गर्ने भनेर चिकित्सक मित्रहरूले भन्दै थियौं,’ उनी संझिन्छन्,‘भेन्टिलेटरबाट निकाल्दा दुई दिनसम्म ठीक थिए, आशावादी थियौं, अचानक मृत्यु भयो ।’
अक्सिजन र बेड अभावमा संक्रमितको ज्यान जाँदाको पीडा सहनै नसकिने उनी बताउँछन् । ‘भोलि आफू त्यही परिस्थितिमा नपरिएला भन्न सकिन्न,’ आचार्य भन्छन्, ‘त्यसैले जस्तो सुकै स्वास्थ्य संकट आए पनि हरेक नागरिकले सुलभ एवं सहज उपचार पाउने माहोल बनोस् ।’
कतिपय बिरामीको अवस्थाबाट बा“च्दैनन् भन्ने थाहा हुँदाहुँदै पनि हौसला दिइरहनु पर्ने उनी बताउँछन् । ‘संक्रमितको स्थिति हेरेर पनि बाँच्छन् वा बाँच्दैनन् भन्ने पहिलादेखि नै थाहा हुन्छ तर कोरोनालाई परास्त गर्नुहुन्छ भन्दै ढाड्स दिनुपर्छ,’ आचार्य भन्छन् । कोरोना भाइरसले जाओस् र सामान्य जीवन बाँचौं भन्ने डा.आचार्यको पनि अभिलाषा छ ।
आइसोलेसन वार्डका पहिलो चिकित्सक
कोभिड–१९ संक्रमितको उपचार गर्नका लागि सुरुवातमा कोसी अस्पतालसँग केही थिएन । आइसोलेसन वार्डमा घेराबार थिएन । साधनस्रोतको अभाव थियो । सामाजिक विकास मन्त्रायल र जिल्ला स्वास्थ्य कार्यालय लगायतले शंकास्पद बिरामी राख्नलाई अस्पताललाई बारम्बार आग्रह गरिरहेको थियो । कहाँ राख्ने र कसरी उपचार गर्ने भन्ने अन्यौलता थियो । नयाँ रोग भएकोले तयारीका लागि सबै सरोकारवालाको बैठक बसेर तीन दिनभित्र तयारी गर्ने सहमती भयो ।
संसारभर पहिलो चरणको कोरोना कहरको सुरुवात हुँदा २०७६ को फागुनमा विराटनगरस्थित कोसी अस्पतालमा १० बेडको आइसोलेसन वार्डको तयारी एवं सञ्चालनको नेतृत्व लिने एक चिकित्सकको खोजी हुँदै थियो । अस्पताल व्यवस्थापनले युवा चिकित्सक ३५ वर्षीय डा. डेनप्रसाद आचार्य समक्ष यो प्रस्ताव राख्यो । उनले आफ्नो ज्यान र परिवारको बारेमा केही नसोची तुरुन्तै यो चुनौतीलाई स्वीकारे । ‘मेरो लागि यो आफूलाई प्रमाणित गर्ने अवसर हो भनेर ठानेँ, अनुकूल र आरामदायक परिस्थितिमा त जसले पनि काम गर्नसक्छ,’ उनी भन्छन् ।
प्रदेश सरकारको आर्थिक सहयोगमा बीपी सेट र कार्डियाक मोनिटर सहित वार्ड सञ्चालन भयो । एक÷दुई गर्दै बिरामीको संख्या बढ्दै गए पछि मन्त्रालयबाट संक्रमितका लागि छुट्टै अस्पताल बनाउने प्रस्ताव अयो । सबै थरिका सेवाग्राही आउने कोसीमा संक्रमित राखिँदा जोखिम हुने भएकाले बाहिर कहाँ सुरु गर्ने भनेर मन्त्रालयमा बैठक बस्यो ।
यी सब बैठकमा सहभागी हुने अस्पतालको टोलीमा डा. आचार्य अवश्य हुन्थे । कोसीमा आउने गैर–कोभिड बिरामीलाई जोगाउँदै विराटनगर–जोगवनी मार्गस्थित नेशनल टे«डिङको खाली भवनमा कोभिड–१९ अस्पताल बनाउने निर्णय भयो । यसका लागि गठन टोलीका सदस्यको रुपमा डा. आचार्यले सक्रिय भूमिका खेल्दै अस्पताल निर्माण र सेवा गरे । ‘अठोट भएपछि असम्भव पनि सम्भव हुन्छ,’ उनी भन्छन् ।
१० दिनमा अस्पताल बने पनि जनशक्ति व्यवस्थापन कठिन थियो । व्यवस्थापनमा विविध खाले समस्या थियो । अस्पतालभित्रको जिम्मेवारी निर्वाह गर्ने गरी आचार्यलाई क्लिनिकल संयोजक बनाइयो । ४० अक्सिजनसहित ८० बेडको अस्पताल तयार भयो । केही सामान अपुग थियो । यसै बीच ५ वैशाखमा उदयपुरको भुल्केबाट १२ संक्रमितलाई अस्पतालमा ल्याइएपछि मध्यरातिदेखि बिहानसम्म व्यवस्थापनमा उनी खटिए । उनीहरू निको भएर गए पछि खुसीसँगै काम गर्ने मनोबल बढेको आचार्य सुनाउँछन् ।
‘त्यतिखेर यो भाइरस र रोग नयाँ भएकाले सबै डराइरहेका थिए,’ उनी भन्छन्, ‘संयोजकको दायित्व पाए पनि सबै सहकर्मीको हिम्मत बढाउन म आफै अस्पतालभित्र बसेँ, संक्रमितले फालेको फोहोर सफा गरेँ ।’ संक्रमित सेवाकालागि आचार्यले निजी क्लिनिक बन्द गरे ।
कोसीको नियमित ओपीडी सेवा छाडे । ‘सहकर्मी स्वास्थ्यकर्मीलाई साथ दिन सात दिन अस्पतालभित्र ड्युटी गर्थेँ, १४ दिनमा होटेलमा क्वारेन्टाइन बस्थेँ,’ उनी भन्छन्, ‘यसपछि अन्य सहकर्मीहरू पनि अगाडि सरे ।’ सुरुको पहिलो दुई साताको सम्पूर्ण व्यवस्थापन कोसी अस्पतालले गरेको डा.आचार्य बताउँछन् ।
प्रदेश सरकारले रत्तिभर आर्थिक भार पर्न नदिएकाले पछि सहज भएको उनी सुनाउँछन् । अस्पतालका तत्कालीन मेसु डा. संगीता मिश्रा र वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलको व्यक्तित्व एवं नेतृत्वले अस्पताल तयारीलाई झनै गति दिएको उनी बिर्सन चाँहदैनन् । उनको अनुसार यस्तो अवस्था थियो की कोभिड–१९ अस्पतालबाट दिउँसो फोहोर निकाल्दा समेत वरिपरिका वासिन्दा त्रसित हुन्थे, त्यसपछि राति निकाल्न थाल्यौं, अहिले त्यस्तो भयत्रास छैन ।
‘रातभर नसुतेर बिरामीको अवस्थाको बारेमा सोच्थेँ, फोन र मेसेज आइरहन्थ्यो, जवाफ दिइरहन्थेँ, धेरै दिन सम्म राम्ररी सुत्न पाइन,’ डा. आचार्य भन्छन्, ‘गरेको कामभन्दा गल्ती औंल्याउने होड थियो, अस्पतालले सुरुमा बिरामीलाई दिने भोजन साधारण थियो तर वितरणको क्रममा भएको सामान्य त्रुटिसमेत समाचारमा आउँदा खल्लो लाग्थ्यो, अब सबै क्षेत्रकाले हाम्रो पीडा बुझ्न थाले ।’
दोस्रो कहरको तुलनामा पहिलोमा कम गंभीर बिरामी रहेको उनी बताउँछन् । तर, सुरुवातमा दुईचोटि पीसीआर रिपोर्ट नेगेटिभ आए पछि मात्र डिस्चार्ज गर्ने नियमले बिरामी हरेस खाने गरेको उनी सुनाउँछन् । उनको अनुसार निको भएको एक संक्रमितको दुई महिनासम्म पनि पोजिटिभ आएको थियो ।
पछि सरकारले संक्रमणको १० दिन कटेमा भाइरसले असर नगर्ने भन्दै डिस्चार्ज गर्ने प्रोटोकल बनाएको हो । दोस्रोबाट तेस्रो चरणको कहर सम्म आइपुग्दा दक्ष जनशक्तिको अभाव रहेन । नागरिक केयर सेन्टरको सहयोगमा साल्ट टे«डिङको नयाँ भवनमा संक्रमितका लागि सुविधा सम्पन्न अस्पताल बनेको छ । पहिलो चरणमा वैशाखदेखि फागुनसम्मको अनुभवले दोस्रो चरणमा २५ चैत पछि संक्रमितको उपचारमा सहयोग पुगेको उनी बताउँछन् ।
‘पहिलो चरणमा अक्सिजन लिक हुने र एसी बिग्रने जस्ता समस्या आउँदा बाहिरका जनशक्ति मर्मतकालागि आउन मान्दैन्थे,’ डा.आचार्य भन्छन्, ‘अहिले सहजै आउँछन् ।’ उनको अनुसार पहिलो चरणको सिकाइले दोस्रो चरणमा आईसीयू, एचडी र जनरल वार्ड बनाउन सफल भयौं । कोरोनाको कसरी रोकथाम गर्ने भनेर बनाइएको मुख्यमन्त्री कार्यालयको कोरोना रोकथाम विज्ञ कार्यालय समूहमा समेत आचार्य सम्मिलित भए । यस सम्बन्धी पुस्तकको खाका बनाउने र प्रकाशनमा समेत उनी अगाडि रहे ।
पारिवारिक पृष्ठभूमि
बाल्यकालमा कृष्ण वा साने भनेर बोलाइने डा.डेन प्रसाद आचार्यको जन्म २०४३ सालको ६ वैशाखमा खोटाङ राजापानी–९, थाङतेनको खान पुग्ने सम्मको हैसियत भएको किसान परिवारमा जन्म भएको हो । उनको बुबा हरिभक्त ७० वर्षका भइसकेका छन् । आचार्य बालककै हुँदा २०४६ साल तिर आमा चन्द्रकलाको निधन भएको हो ।
उनलाई आमाको उतिसारो संझना छैन । ‘खान नमान्दा आमाले कुटेको थोरथोर याद छ,’डा.आचार्य भन्छन्, ‘आमाको शवलाई अत्येष्टिका आगनबाट लगिदा म वरन्डामा घोप्टो परेर सुतेको थिएँ, अन्तिम संझना यही हो ।’ आचार्यका पिता हरिभक्तको दुई श्रीमती थिए । दुवै आमाको पाँच छोराछोरीमा डा.आचार्य माहिलो हुन् ।
जेठो दाइ ३८ वर्षीय डेनजनी झापाको शनिअर्जुन नगरपालिकामा शाखा अधिकृत हुन् । स्नातकोत्तर उत्तीर्ण ठूली बहिनी ३३ वर्षीया स्मिता आचार्य भट्टराई गृहिणी हु्न् । भाइ २८ वर्षीय आशीष रोल्पा प्रशासन कार्यालयमा सहयोगी कर्मचारी हुन् । कान्छी बहिनी २१ वर्षीया स्वस्तिका बीबीएस पढ्दैछिन् ।
पहाडबाट मधेस तिर
बाँच्नलाई संघर्षको क्रममा आचार्य परिवार २०४५÷४६ तिर झापाको चन्द्रगढी–२ मा झरे । राम्रो बास र खेतको खोज्दै विर्तामोड–८ देवनिया सरे । आचार्यको घरमा बुबा, कान्छी आमा ४३ वर्षीया पवित्रा, हजुर आमा ९६ वर्षीया धनमाया र भाइ आशीषको छोरी ८ वर्षीया दीपशिखा बस्छिन् ।
उच्च शिक्षाको यात्रा
डा.आचार्यले कक्षा–७ सम्म देवनियाको शुक्रराज निम्न माध्यमिक विद्यालयमा पढे । कक्षा ८ देखि १० सम्म नेपाली माध्यममा पढाइ हुने चन्द्रगढीको निजी विद्यालय ज्ञानज्योति माध्यमिकमा पढे । २०५८ को एसएलसीमा ८५.५ प्रतिशत अंक ल्याएर झापा ‘टपर’ भए । उनले १० कक्षामा ऐच्छिक विषयमा गणित र लेखा रोजेका थिए ।
एसएलसीको प्राप्तांकले विर्तामोडकोे कलेज फर हाइयर एड्य्केसनमा आईएससी पूर्ण छात्रवृतिमा पढ्न पाए । कलेजको प्राचार्य कमल गुरागाईले उनलाई आफ्नै घरमा राखेर पढ्ने प्रबन्ध मिलाइ दिए । मेची क्याम्पसका प्रमुख सम्म भएर अवकाश पाइसकेका गुरागाईको आफ्नो करियर ठूलो योगदान रहेको आचार्य संझिन्छन् । आईएससीमा जीव विज्ञान, रसायन शास्त्र, भौतिक शास्त्र र गणित रोजे ।
उच्च शिक्षाकालागि संघर्ष
विद्यालय कालमा कुनै टीभी च्यानलमा डा. उपेन्द्र देवकोटाको अन्र्तवार्ता हेर्दाहेर्र्दै प्रेरित भएर चिकित्सक बन्ने इच्छा भयो । ‘संघर्ष गर्नेको अगाडि फराकिलो क्षितिज हुन्छ, ’देवकोटाले भनेको संझिंदै उनी भन्छन्,‘त्यही क्षितिजको खोजीमा अगाडि बढ्दै गएँ ।’ आचार्यले २०६६ मा ८१.१ प्रतिशत अंक ल्याएर आईएससी उत्तीर्ण गरे । यस पछि दुःखका अथाह श्रृंखला सुरु भएको उनी बताउँछन् ।
एमबीबीएस प्रवेश परीक्षाको तयारी गर्नु थियो । छात्रवृतिमा पाएको वचत र संघसंस्थाबाट प्राप्त पुरस्कृत रकम झन्डै ३० हजार रुपैया“ बोकेर उनी काठमाडौं तर्फ लागे । उनी पहिलो पटक राजधानी सहर पुगेका थिए । नयाँ ठाउँ भएकोले कोठा खोज्नेदेखि दैनिक गुजारा कसरी चलाउने सम्मको चूनौती थियो । स्थानीय गोपाल कर्माचार्यको छोरालाई होम ट्यूशन दिन थाले । संगीतप्रेमी र समाजसेवी कर्माचार्यले कुनै बेला गायक रामकृष्ण ढकाललाई पनि सहयोग गरेका थिए ।
ट्यूसन पढाउँदै उनले एमबीबीएसको प्रवेश परीक्षाहरू दिइरहे । डेढ वर्ष सम्म नाम निस्केन । आचार्यले यस अघि जापान र पाकिस्तानको दूतावासको मेडिकल छात्रवृतिमा कोसिस गरे पनि नाम निस्केन । सन २००५ भारतीय दूतावासबाट पशु चिकित्सकमा नाम निकाले पनि पढ्न पाएनन् ।
भारतको देहरादुनको पन्तनगर युनिभर्सिटीबाट बीएसएसी भेटनरीकालागि अवसर पाए पनि ढिलो पुगेको हुनाले पढ्न पाएनन । ‘बेलामा मेल पाइन, उक्त विश्वविद्यालयसँग मेरो टेलिफोन नम्बर नभएर खबर गर्न पाएन, ’आचार्य भन्छन्,‘नम्बर पाएर कल गर्दा ढिलो भइसकेको थियो, म चार दिन ढिलो पुगेँ, कोटा पुरा भइसकेको थियो ।’ १२ अगस्तमा पुग्नु पर्नेमा उनी १६ अगस्तमा पुगेका थिए ।
जीवनको ‘टर्निङ प्वाइन्ट’
पटकपटकको प्रवेश परीक्षा पछि पनि चिकित्सा शास्त्र पढ्न नपाए पछि उनी भेटनरी डक्टर भए पनि बन्ने निचोडमा पुगेका थिए । ‘निःशुल्क पाएको हुनाले पढ्न गएको थिए“ तर अवसर गुमिसकेको थियो,’आचार्य संझिदै भन्छन् । उच्च मनोबलका साथ हवाई मार्गबाट उनी नयाँदिल्ली हुँदै देहरादुन सम्मको यात्रा गरेका थिए ।
‘यो नीकै ठूलो टर्निंग प्वाइन्ट थियो, यता न उताको स्थिति भएकोले मानसिक रुपले विचलित थिएँ,’उनी भन्छन्, ‘विरक्त लागेको थियो ।’ भारतबाट फर्कनु अघि उनले अध्ययनकालागि बिना सर्त आर्थिक सहयोग उपलब्ध गराउने कर्माचार्य र गुरागाई सरलाई कल गरे । फर्कने सल्लाह भए पछि महाकाली नदी वनवासा हुँदै फर्के । ‘भोलि कहाँ जाने, कहाँ र के गर्ने थाहा छैन,’उनी ती समय बारे भन्छन् ।’ एक दिन महेन्द्र नगरको होटेलमा बसे ।
नेपाल बन्द भएको हुनाले अर्को दिन प्रहरीको स्कर्टिंगमा धनगढी पुगेर त्यहाँको होटेलमा थप एक दिन बसे । ‘अब के गर्ने दोधारमा थिएँ,’उनी भन्छन्, ‘शुभेच्छुक र सहयोगीको अपेक्षा अनुरुप केही गर्न सकेको थिइन्, धनगढीमै बस्छु भनेर कर्माचार्य र गुरागाई सरले कल गरे पछि घर फर्केँ । आचार्य यि दुई अनन्य सहयोगीको विश्वास तोड्न चाँहदैन्थे, धोका दिन चाँहदैन्थे ।
पुनः एमबीबीएसकै प्रवेश परीक्षाको तयारीमा लागे । फेरि पनि असफलता हात लाग्यो । मनोबल कायम राखे । काठमाडौंको जोरपाटी अत्तरखेल बस्ने उनी बिहान साढे चारदेखि साढे ६ बजे सम्म र बेलुका साढे चारदेखि ६ सम्म होम ट्यूसन दिंदै परीक्षाको तयारी जारी राखे । स“घर्षको क्रममा काठमाडौको एक निजी विद्यालयमा पढाएको हुनाले आचार्यलाई होम ट्यूसन पाउन सहज भएको थियो ।
पाटन कलेजमा भौतिक शास्त्र पढ्ने भनेर जाँच दिए । एक नम्बरमा नाम निस्के पनि परीक्षाफल सूचीमा डेन प्रसाद हुनुपर्नेमा मुद्रणको त्रुटिले देव प्रसाद उल्लेख थियो । नाम निस्केन भनेर उनी फर्के । ‘पछि उनले कलेजबाट देव प्रसाद भन्ने अरु कोहि नभएर आफू नै हो भन्ने थाहा पाए,’उनी भन्छन्,‘ईश्वरले मेरो बारेमा राम्रै सोचिरहेका थिए, भोलिपल्टै एमबीबीएसमा पनि नाम निस्कियो ।’
शिक्षा मन्त्रालयको मातहतको लगातार तीन परीक्षा दिंदा अन्तमा सन २००५ को अन्त्य तिर एमबीबीएस पढ्न पाउने सूचीमा उनी परेका थिए । साढे पाँच वर्षको पाठ्यक्रम थियो । छात्रवृतिमा पढ्न पाउने भए पनि छात्रावास शुल्क, खाना, परीक्षा शुल्क र पुस्तक सामग्रीमा लाग्ने रकमको जोहो गर्नुपर्ने हुनाले आचार्यका लागि चिकित्सक बन्ने यात्रा सहज थिएन ।
भनिन्छ जहाँ इच्छा, त्यहाँ मार्ग । सँघर्षको उत्कर्षमा हुँदा पढाएको बौद्ध नयाँपाटीस्थित पेगासस ईंगलिस बोर्डिंग स्कूल परिवार, मदन भण्डारी फाउन्डेसन अन्र्तगत चावाहिलस्थित हेल्पिंग ह्यान्ड सामुदायिक अस्पताल, अनि उनै कर्माचार्य र गुरागाई सरले आर्थिक सहयोग गरे ।
त्यो बेला जुटेको सहयोगले उनको आवश्यकता पुरा भयो । ‘आर्थिक अवस्था खराब भएकोले घरपरिवारलाई निजी समस्या सुनाउँदैन्थेँ तर घरबाट चामलदाल जान्थ्यो,’उनी भन्छन् ।
अन्ततः चिकित्सक बन्ने सपना साकार
सन २०११ मा एमबीबीएसको डिग्री पाए पछि स्वास्थ्य मन्त्रालय अन्तर्गत करारमा भोजपुरको दिंगला मूलपानी प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्ष र एक वर्ष जिल्ला अस्पतालमा सेवा दिए । यस पछि फर्केर काठमाडौंको एक निजी अस्पतालमा ६ महिना काम गरे पनि डा.आचार्यले स्वतन्त्रताको अनुभुति गर्न सकेनन् ।
पुनः लोकसेवा आयोग उत्तीर्ण गरेर २०७० को १७ पुषमा मेडिकल अधिकृतको हैसियतमा सोलुको सोताङ प्राथमिक उपचार केन्द्रमा आवद्ध भए । दुई वर्ष उक्त केन्द्रमा काम गरेपछि २०७३ मा विराटनगरस्थित कोसी अस्पतालमा सरुवा गराएर अध्ययन विदा लिइ धरानस्थित बीपी स्मृति स्वास्थ्य प्रतिष्ठानमा एमडी पढ्न गए ।
उनले २०१६ को १६ सेप्टेम्बरदेखि २०१९ को १५ सेम्टेम्बरमा तीन वर्षमा एमडी सकेर कोसी अस्पताल फर्के । त्यस पछि अहिले सम्म कोसीमै सक्रिय छन् ।
विहे र दाम्पत्य जीवन
झापाका डा.डेनप्रसाद र विराटनगर पिचराकी डा. दीक्षाले लोकसेवा आयोगमा सँगसँगै नाम निकाले । भोजपुर दिङ्लामा काम गर्ने क्रममा दुवैको घनिष्ठता भयो । करियर अघि बढ्ने क्रममा दुवैले सँगसँगै एमडी गरे । यो सम्बन्धलाई आजीवन कायम राख्न २०७१ मा विवाह गरे । उनीहरूको दुई सन्तान छ । क्लिनिकबाट फर्के पछि साँझ ७ बजेदेखि १० बजे सम्म छोराछोरीसँग खेल्छन् ।
उनी बिहान साढे आठ बजेदेखि एक घण्टा र बेलुकी ३ बजेदेखि झन्डै तीन घण्टा आफ्नो न्यू चेतना क्लिनिकमा बस्छन् । बिहान १० बजेदेखि दिउ“सो २ बजे सम्म कोसीको कोभिड–१९ अस्पतालमा हुन्छन् । यो बाहेक सोमबार, बुधबार र शुक्रबार कोसीको ओपीडीमा बस्छन् भन्ने आइतबार, मंगलबार र बिहिबार अस्पतालमै राउन्डमा हुन्छन् । योग÷व्यायाम गर्न नपाए पनि निंद्रामा भने संझौता गर्दैनन् ।
‘नयाँ रोग भएकोले दक्ष जनशक्तिको अभावमा पहिलो चरणमा अधिकांस समय बिरामीसँगै बित्थ्यो,’ उनी भन्छन्, ‘अहिले दक्ष प्राविधिक जनशक्ति तयार भइसकेकाले दोस्रो चरणमा नानीबाबुलाई समय दिइरहेको छु, मेरो ड्युटी सकेको बेला पनि एकदमै गम्भीर बिरामी आएमा कल गर्छन् ।’ उनको अनुसार दिउँसै बिरामी हेरे पछि आउन सक्ने जटिलताबारे थाहा हुन्छ ।
२०७२ को भूइँचालो जाँदा आचार्य दम्पति कीर्तिपुरस्थित डेरामा आराम गरिरहेका थिए । उनीहरू दुई साताको भ्यासेक्टोमी तालिमको क्रममा त्यहाँ थिए । ‘मृत्यु अकाट्य सत्य हो, हरेकको जीवनमा आउँछ, भूइँचालोमा पनि बाचियो भनौं,’ उनी भन्छन् । पतीबाट प्रभावित डा.दीक्षाले दोस्रो चरणमा गर्भवती संक्रमितलाई सेवा दिदैछिन् ।
खुशी र दुखको क्षण
भेटेनरी चिकित्सक पढ्न नपाएर भारतबाट फर्केको र झोला समेत हराएर पछि भेटेको क्षण डा. आचार्य कहिल्यै बिर्सदैनन् । सानासाना कुरामा खुशी हुने उनको बानी छ । ‘संक्रमितको सेवाले परिचय दिएको छ, बारबरा फाउन्डेसनबाट सम्मान तथा पुरस्कार पाएँ,’ उनी भन्छन्, ‘सबैभन्दा ठूलो कुरा संक्रमितले आफूलाई खोज्दै आउनु भनेको समाजले योगदानको पहिचान गर्नु हो ।’
कोरोनाले चुनौतीमा सेवा गर्ने अवसर पाएको र संकटमा काम गर्दा बनिन्छ भन्ने महसुस भएको उनी बताउ“छन् । जीवन रहुन्जेल संघर्ष र समस्या रहने बताउ“दै उनी भन्छन्, ‘कोठा फर्कंदा छोराछोरीको हसिलो मुहार देखे पछि सबथोक बिर्सन्छु ।’
के भन्छन् सहयोगी र नागरिक समाज ?
मिहिनेती, जुझारु र प्रतिभावान आचार्यको सफलतामा सहयोगी हातहरूको ठूलो भूमिका छ । तीमध्ये मैतीदेवीका गोपाल कर्माचार्य पनि एक हुन् । ‘मिहिनेती र प्रतिभावान युवा हुन्, ट्यूसन पढाउँदै मेडिकल विषयको तयारी गर्नु सजिलो थिएन, सम्पन्नका सन्तान भएका भए घरमै तातोचिसो खाँदै पढ्थे,’ कर्माचार्य भन्छन्,‘हुने विरुवा चिल्लो पात भनिए पनि मलजल र गोडमेल त चाहिन्छ, पुगेन भने मासिन सक्छ, ठूलो त केही गरिएन, बेला बखतमा सहयोग गरेको हुँ, गर्न त ठूलो मन थियो तर होनहार हुन्, आफ्नै पौरखले अघि बढे ।’
उनी डा.आचार्यलाई परिवारकै सदस्य सरह मान्छन् । ‘उचाइमा पुगे पछि धेरैले बिर्सन्छन्, डा. आचार्यले सम्झिन्छन, खुसी लाग्छ, काठमाडौं आउँदा पनि आफ्नै परिवारझंै मानेर भेट्न आउँछन्,’कर्माचार्य भन्छन् ।
सदैव आममान्छेको पहुँचमा रहने डा. आचार्य जस्तो सहज स्वभावका चिकित्सकले गर्दा संक्रमितहरूको समेत मनोबल बढ्ने गरेको विराटनगरका युवा सामजिक कार्यकता सञ्जीव चापागाई बताउँछन् । चापागाईले कोरोना संक्रमण उत्कर्षमा पुग्दा राहत सामग्री जुटाएर घरदैलोमा पुरयाउने र संक्रमतिलाई चिकित्सकसँग भेटाउने काम गर्छन् ।
‘अधिकांस चिकित्सकले संक्रमितसँग भेट्न मान्दैनन्, यस्तो परिस्थितिमा डा.आचार्यले छोएरै जाँच्छन्,’ उनी भन्छन्, ‘बेड नपाएर होम आइसोलेसनमा बसेका धेरै जना गम्भीर संक्रमितलाई डेनले कोसी अस्पताल र आफ्नै क्लिनिकमा हेर्छन्, चिकित्सक खोज्दै भौतारिरहेका संक्रमित एवं उनीहरूका परिवारजनलाई उनकोमै पठाउँछु ।’
जीवनको अन्तिम लक्ष्य के त ?
भनिन्छ उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक । ‘यही नै बन्छु भन्ने छैन, सबैभन्दा पहिले असल चिकित्सक बनु भन्ने नै हो,’ उनी भन्छन्, ‘प्रशासनिक कार्यमा रुचि भएकाले भविष्यमा योगदान दिन सकिने नीति निर्माणको तह सम्म पुग्ने लक्ष्य पनि हो, स्वास्थ्य शिक्षा क्षेत्रमा विज्ञ भएर काम गरु भन्ने पनि हो ।’
(राष्ट्रिय युवा परिषद् र नेपाल युवा संस्था सञ्जाल (आयोन) द्वारा २८ साउन (बिहीबार) मा विमोचित पुस्तक ‘संकटका सारथि’ मा प्रकाशित समाचार कथा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया