महामारीमा सरकारको लापर्वाही
महामारीमा पनि बनाइएन सरुवा रोग अस्पताल
काठमाडौँ- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ४२ वर्षे पूरानो नौ भवनबाट बिरामीलाई सेवा दिइरहेको छ । पुरानो भवनको भौतिक संरचनाले अपुग भएपछि सबै खाले रोगका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । अस्पतालमा पर्याप्त शौचालय र पार्किङ क्षेत्र नहुँदा अस्पतालमा समेत समस्या हुँदै आएको छ ।
आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रममा सरकारले तीन सय शय्याको सरुवा रोग अस्पताल बनाउने निर्णय गरेको भए पनि अहिलेसम्म निर्माण प्रक्रिया अगाडि बढाउन सकेको छैन । मन्त्रीपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त भए पनि लागतसहितको गुरुयोजना स्वीकृत हुन नसक्दा निर्माण प्रक्रिया अघि नबढेको महालेखा परीक्षणको प्रतिवेदनले जनाएको छ ।
प्रत्येक वर्ष सरुवा रोगको बिरामी बढ्दै गएको तथा महामारीको रुपमा कोभिड-१९ को संक्रमण फैलिएकाले यस्ता अस्पताल निर्माण गरी सरुवा रोगबाट बच्न सकिने प्रतिवेदनले औल्याएको छ । सञ्चालनमा रहेका अस्पतालको पूर्ण-क्षमता नभएकाले गुरु योजना स्वीकृत गरी सरुवा रोग अस्पतालको निर्माण गर्नुपर्ने उल्लेख छ ।
अस्पतालमा प्रतिक्षालय कक्ष साँघुरो भएकाले बिरामीका आफन्तहरू बाहिर बाटोमा बस्नुपर्ने बाध्यता रहेको महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यालयकाअनुसार दुई वटा भवन नयाँ रहेको छ । अस्पतालमा प्रत्येक वर्ष बिरामीको चाप बढ्दै गइरहेको छ । कोभिड महामारीमा मात्र अस्पतालले एक लाख २६ हजार ९९४ जना बिरामीले सेवा लिएका छन् ।
टेकु अस्पतालले कोभिड विशेष अस्पतालको रुपमा बिरामीको उपचारसमेत गराउँदै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया