कोभिड महामारी
राजश्वले जफत गरेर कन्टेनरमा राखिएको भेरोसेल खोप वितरण गरिँदै
खोप भण्डारणमा सरकारको चरम लापरवाही !
काठमाडौँ- चीनबाट ल्याइएको कोभिड-१९ विरुद्धको भेरोसेल खोप ठाउँ अभाव भएकाले स्वास्थ्य महाशाखा परिसर भित्र ट्रकको कन्टेनरमा राखिएको पाइएको छ । राजश्व विभागले जफत गरेको ट्रकको कन्टेनरमा भेरोसेल खोप राखिएको हो । सरकारले खोपको उचित भण्डारण गर्ने स्थान उपलब्ध नगराएकाले खुला आकाशमुनिको कन्टेनरमा खोप राखिरहेको छ ।
स्वास्थ्य विभागको परीसरभित्र छिरेपछि आपूर्ति व्यवस्थापन महाशाखा आउँछ । फलामको गेटबाट छिर्नेबितिकै ठूलो कन्टेनरसहितको ट्रक देखिन्छ । देखिएको ट्रकमा खोपलाई स्टोरेज गरेर राखिएको छ । खोप लिन आउनेलाई त्यहीँ कन्टेनरबाट झिकेर खोप महाशाखाका कर्मचारीले खोप वितरण गर्ने गरेका छन् ।
कोभिडविरुद्धको खोप राख्ने स्थान अभाव भएकाले ट्रकको कन्टेनरमा राख्नुपरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप भण्डारण शाखाका मेकानिकल इन्जिनियर सन्तोष मिश्रले बताए ।
कन्टेनरमा खोप राख्न २ देखि ८ डीग्री सेल्सियससम्म तापक्रम हुने भएकाले खोप राखिएको मिश्रको भनाइ छ । खोप भण्डारकेन्द्रले सरकारसँग खोप राख्न साना-साना रेफ्रिजेरेटरको माग गरेकाले उपलब्ध नगराएकाले पनि भण्डारणमा समस्या भएको उनल सुनाए । कन्टेनर राजश्व विभागले महाशाखाले उपलब्ध गराएको हो ।
खोप लिन आएकालाई त्यहीँ कन्टेनरबाट खोप झिकेर दिने गरेको मिश्रले जानकारी दिए । 'खोप भण्डार केन्द्रमा कोभिडविरुद्धको मात्र खोप राखिएको छैन,' उनले भने,' राज्यमा नियमित लगाउनुपर्ने खोपहरू राख्ने गरिएको छ । कोभिडविरुद्धको खोप राख्दा राख्दा अन्य खोपलाई स्थान पुग्दैन ।'
उनकाअनुसार बीसीजी,पेन्टा डीपीटी, दादुरा रुबेला खोप, पोलियो, जेई र टीडी जस्ता खोपहरु भण्डारण केन्द्रमा राखिएको छ । कोभिडविरुद्धको खोप ठूलो मात्रा समय-समयमा आउने भएकाले पनि एकै ठाउँमा राख्न नसकिएको मिश्रको भनाइ छ ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र खोप महाशाखासँग पटक-पटक कोभिडविरुद्धको खोप राख्न छुट्टै व्यवस्था गरिदिन आग्रह गर्दा पनि व्यवस्था नगेको उनले गुनासो गरे । ' लिखित रुपमा रेफ्रिजेरेटर उपलब्ध गराउन भनिएको थियो । अहिलेसम्म सुनुवाई हुन सकेको छैन,' उनले भने ।
कन्टेरमा खोप राख्नु सरकारको रहर नभइ बाध्यता रहेको मिश्रको भनाइ छ । निजी कम्पनीले खोप भण्डारमा सहयोग गर्ने प्रस्ताव ल्याए पनि मानव स्वास्थ्य तथा खोपको सुरक्षाको दृष्टिकोणले खोप भण्डारण गर्न नसकिएको उनले प्रस्ट पारे ।
मासु भण्डारण केन्द्रमा खोप राख्दा स्वास्थ्यमा असर पर्ने र खोप हराउन सक्ने त्रासले पनि निजीमा भण्डारण नगरिएको मिश्रले दाबी गरे । खोप भण्डारणमा समस्या हुने भएकाले आयात गर्दा अनुदान र खरिद गरेको खोप एकै पटक नल्याइने पनि उनले जानकारी दिए ।
खोप आयात भएकै दिनमा त्रिभुवन विमानस्थलबाट जिल्ला र प्रदेशस्थित खोप भण्डारण केन्द्रमा पठाइने मिश्रले बताए । त्यस्तै प्रदेशमा बनेका भण्डारण केन्द्र पनि अझै सञ्चालनमा आउन सकेका छैनन् । सरकारले विराटनगर, जनकपुर, हेटौंडा, पत्लैया, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा भण्डारण केन्द्र निर्माण गरे पनि 'कोल्ड रुम' अझै बन्न सकेको छैन ।
भण्डार केन्द्रमा 'कोल्ड रुम' नहुँदा प्रदेशमा पनि खोप राख्न मिल्ने अवस्था छैन । अहिले जिल्ला-जिल्लामा पठाइएको खोप जिल्ला अस्पतालसँगको समन्वयमा त्यहाँका सीमित भण्डारणमा राख्ने गरिएको छ ।
हालसम्म एक करोड १३ लाख ९४ हजार कोभिडविरुद्धको खोप भित्रिएको छ । चीनबाट भेरोसेल खोप अनुदानस्वरुप १८ लाख, खरिद गरी ४० लाख खोप ल्याइएको छ। भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप र खरिद गरी १० लाख र खरिद गरेको १० लाख खोप आउन बाँकी छ ।
भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया