स्वास्थ्य

कोभिड संक्रमितको उपचारका लागि दाताले दिएका १७० भेन्टीलेटर र अक्सिजन सिलिण्डर स्टोरमा थन्कियो

अतिन आचार्य |
भदौ ११, २०७८ शुक्रबार १८:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- चैतको अन्तिम सातादेखि नेपालमा कोभिड-१९ को दोस्रो लहर देखा पर्‍यो । पहिलो लहरमा देखिएको संक्रमण भन्दा दोस्रो लहरमा अस्पतालमा भर्ना हुने संक्रमितको संख्यासँगै मृत्युदर पनि बढ्याे ।

अस्पतालमा बेड भरिभराउ भएपछि पालाे पर्खेर अस्पताल प्राङ्गणमा अक्सिजन समेत नपाएका बिरामीहरूको हृदयविदारक दृश्य देखियो । सुरुवातिमा धेरै संक्रमितले अस्पताल परिसरको बाहिर बसी उपचार गरे । पहिलो लहरमा देखिएको भन्दा दोस्रो लहरमा देखिएको भाइरस जटिल थियो । जसले संक्रमितको भाइरसमा अक्सिजनसमेत कमी गराउने सम्म गर्‍यो । अधिकांश अस्पतालमा अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार गर्न हम्मे-हम्मे भएको थियो ।


अक्सिजन मात्र अभाव भएको थिएन, उपचार गर्न आइसीयू, भेन्टीलेटर र अन्य स्वास्थ्य सामग्रीको समेत अभाव भयो । मुलुकमा भएको स्वास्थ्य सामग्रीले थेग्‍न नसकेपछि सरकारले मित्र राष्ट्रहरूलाईसमेत कोभिड उपचारमा सहयोग गर्न आव्हान गर्यो । केही समयपछि मित्र राष्ट्रहरूले उदार मन गरेर तथा  खाडीमा पसिना बगाउन गएका नेपाली कामदारले समेत अक्सिजन सिलिण्डर समेत पठाएका थिए ।

करिब २० भन्दा बढी वटा राष्ट्रसहित अन्य गैरसरकारी अन्तरराष्ट्रिय संस्थाहरूले स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन् । मन्त्रालयका अनुसार विभिन्‍न मुलुकसहित २९ वटा दातृनिकाय सहयोगी संस्था तथा अमेरिका, थाइल्याण्ड, तिब्बत, स्वीजरल्याण्ड, सिंगापुर, चीन, फिनल्याण्ड, बेलायत, फ्रान्स, जर्मन, युएई र जापानलगायत मुलुकले स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

महामारीमा विभिन्‍न मुलुक तथा दातृ निकायले सहयोग गरेको स्वास्थ्य सामग्रीहरू अहिले प्रयोगविहिन भएर टेकुस्थित भण्डारमा थन्किएका छन् । कोभिड संक्रमितको उपचार गर्न सबैभन्दा महत्त्वपूर्ण मानिएको भेन्टीलेटर, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनट्रेटर, सी प्याप र प्लस अक्सिमीटर जस्ता सामग्री अहिले पनि स्टोरमा थन्किएका छन् ।

कोभिड संक्रमितको संख्या कम हुँदा पनि माग घटेकाले स्वास्थ्य सामग्रीको स्टोरमा रहेको आपूर्ति महाशाखाका डा. उपेन्द्र ढुंगानाले बताए । 'आवश्यक सामग्री अस्पताललाई वितरण गरिएको छ,' उनले भने,' अञ्‍चल र जिल्ला अस्पतालदेखि जिल्लास्थित क्‍वारेन्टीनलाई पनि सामग्री उपलब्ध गराइएको छ ।'

स्टोरमा बढी पोर्टेबल भेन्टीलेटर रहेको र आवश्यक पर्ने तथा अस्पतालले आफूलाई मिल्ने भेन्टीलेटर लाने गरेको ढुंगानाले जानकारि दिए । माग गरेर आएकालाई कसैलाई पनि खाली हात नपठाएको उनको भनाइ छ ।

सामग्री प्रयोगविहिन भएपनि नबिग्रने ढुंगानाले दाबी गरे ।समय-समयमा महाशाखाले म्यानुल चलाएर परीक्षण गरिरहेको उनको भनाइ  छ । वितरण गर्ने समयमा पूर्ण रुपमा परीक्षण गरेर दिने गरिएको  उनले जानकारी दिए । आईसोलेशनका लागि बढी प्लस अक्सिमीटरको माग हुने गरेको उनको भनाइ छ ।

अक्सिजन सिलिण्डर पनि अस्पतालले माग गरे बमोजिम सबैलाई उपलब्ध गराएको ढुंगानाले जानकारी दिए । दैनिक माग भएकाले स्वास्थ्य सामग्री वितरणमा कन्जुस्याइ नगरेको उनले दाबी गरे ।

भेन्टीलेटर १७० ,अक्सिजन सिलिण्डर ४ सय, अक्सिजन कन्सर्नट्रेटर १०८९, सी प्याप ८१ हाइफ्लो क्यानोलुवा ३२ र प्लस अक्सिमिटर ३२ हजार ९२४ वटा रहेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाले संक्रमितको उपचार गर्ने स्वास्थ्य सामग्रीको माग आउन छाडेकाले वितरण नगरिएको जनाएको छ ।

स्थानीय तहबाट सिफारिश लिएर आउनेको संख्या बढिरहेको व्यवस्थापन महाशाखाकी फार्मेसी अफिसर एलिना श्रेष्‍ठले जानकारी दिइन् । कोभिड संक्रमित भइ होम आइसोलेसनमा बसेका संक्रमितलाई प्राथमिक उपचार हुन सक्ने स्वास्थ्य सामग्रीको माग भइरहेको उनले जानकारी दिइन् ।

'वडा-वडाले प्लस अक्सिमिटरको माग गरेका छन,' श्रेष्‍ठले भनिन,' माग अनुसार सामग्रीको वितरण भइरहेको छ ।' काठमाडौँ उपत्यका बाहिरका जिल्लाबाट स्वास्थ्य सामग्रीको लिन आउनेको संख्या घटेको उनको भनाइ छ ।

उपत्यका भित्रका सरकारी अस्पतालले पनि आइसीयूको माग गर्ने गरेको उनले सुनाइन् । अस्पतालले आइसीयू जस्ता महत्त्वपूर्ण सामग्री नलगे पनि प्लस अक्सिममिटरको माग गरिरहेको उनले जानकारी दिइन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x