स्वास्थ्य

तीन हजार वयस्क व्यक्तिमा एक साताभित्र कोभिड–१९ खोप परीक्षण गरिँदै

खोप परीक्षणमा सहभागीको बिमा गरिने

अतिन आचार्य |
भदौ १६, २०७८ बुधबार १७:३९ बजे

काठमाडौँ- कोभिड-१९ विरुद्धको 'एमआरएन' खोप १८ वर्ष माथिका तीन हजार मानिसमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्ने भएको छ । देउराली जनता फार्मास्युटिकल्ससँगको सहकार्यमा उत्पादित खोप प्रतिष्‍ठानमा एकसाताभित्र परीक्षण गरिने नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । चीनको वालभ्याक्स कम्पनीसँग सहकार्य गरी देउराली जनताले नेपालमै खोप उत्पादन गर्न लागेको हो । सरकारले भदाै १० गते खाेप परीक्षणकाे अनुमति  दिएकाे थियाे ।

औषधि व्यवस्था विभागले खोपको अनुमति दिनसाथ परीक्षण कार्य अघि बढाइने परिषद प्रमुख डा. प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार क्लिनिकल परीक्षणका लागि तीन हजार व्यक्ति उपलब्ध नभए देशका अन्य भागमा पनि परीक्षण गरिने बताए । 


ज्ञवालीले खोप उत्पादक कम्पनीले यसअघि दुवै डोज खोपको परीक्षण गरिसकेको  जानकारी दिए ।

'कम्पनीले बीसौं वर्षदेखि खोपको उत्पादन गरिरहेको छ,' उनले भने,' अन्तर्राष्ट्रियस्तरको खोप उत्पादन गरिरहेको छ ।' २८ हजार मानिसमा खोप परीक्षण गरिने योजना रहेको ज्ञवालीले जानकारी दिएन । नेपालमा तेस्रो चरणको खोप तीन हजार मानिसमा वीपी प्रतिष्‍ठानमा परीक्षण गर्न लागिएको उनको भनाइ छ । पहिलो र दोस्रो चरणमा सफल प्राप्‍त गरिसकेकाले तेस्रो चरणको खोपले पनि सफलता पाउने उनले विश्‍वास व्यक्त गरे ।

पहिलो र दोस्रो खोप थोरै मानिसमा परीक्षण गरिने ज्ञवालीले बताए । सुरक्षित र प्रभावकारी कतिको छ त्यसको अध्ययन गरिने उनले प्रस्ट पारे । सुरक्षित भएपछि अन्तरराष्ट्रिय हिसाबले जर्नलमा प्रकाशित भएपछि तेस्रो चरण अन्तर्गतको खोपको परीक्षण गर्न अनुमित पाइने उनले दाबी गरे ।

खोप लगाउँदा असर गरेमा उत्पादक कम्पनीले क्षतिपुर्ति भर्नेसमेत उनले जानकारी दिए । खोप लगाउनेको बिमासमेत गरिने उनले बताए । खोप लगाउने मानिसलाई सम्पूर्ण कुराको जानकारी गराएर मात्र खोप लगाइने उनको भनाइ छ । 'गुपचुप रूपमा कसैलाई खोप लगाइदैंन,' उनले भने ।

नेपालमा हालसम्म प्रयोग भएका खोपहरू विदेशमा परीक्षण गरिएको हो । पहिलोपटक नेपालमा परीक्षण गर्न लागिएको हो । नेपालमा खोपको परीक्षण गरिएपछि सहुलियत मूल्यमा खोप उपलब्ध गराउने र पहिलो प्राथमिकतामा राख्‍ने गरी सहमति भएको ज्ञवालीले जानकारी दिए ।

हालसम्म नेपालमा चार वटा कम्पनीको खोपले अनुमति पायो

औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि भारतको सिरम इन्स्टीच्यूटबाट उत्पादित कोभिसिल्ड, चीनबाट सिनोफार्मको भेरोसेल, भारतबायोटेकको कोभ्याक्सिन र  रसियन कम्पनी 'स्पुटनीक भि'ले आपतकालीन प्रयोगका अनुमति पाइसकेका छन् । 

भारतबाट अनुदानस्वरुप प्राप्त १० कोभिसिल्ड खोप नेपालमा गत वर्षको माघ १४ गतेदेखि लगाउन थालिएको थियो । अहिलेसम्म पहिलो र दोस्रो डोज खोप लगाउनेको संख्या करिब एक करोड पुगिसकेको छ । हालसम्म एक करोड १३  लाख ९४ हजार कोभिडविरुद्धको खोप भित्रिएको छ ।

चीनबाट भेरोसेल खोप अनुदानस्वरुप १८ लाख, खरिद गरी ४० लाख । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप र खरिद गरी १० लाख । भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x