स्वास्थ्य

स्वास्थ्य टिप्स

घाम ताप्‍नुको फाइदा के ?

डा. रुपक घिमिरे |
मंसिर २६, २०७७ शुक्रबार ८:३७ बजे

हिन्दु समाजमा ‘सूर्यदेव’ भन्दै घामको पूजा गरिन्छ । घामको धार्मिक मात्रै नभए वैज्ञानिक महत्‍व पनि छ । घाम नलागेको दिन मौसमसँगै मानिसको ‘मुड’ पनि धुम्म हुन्छ । मौसमले ‘मुड’मा मात्र होइन मानव शरीरमा नै असर गरिरहेको हुन्छ । छालाको लागि घाम चाहिन्छ । भिटामिन- ‘डी’ प्राप्त गर्नकै लागि भएपनि घाम ताप्‍नैपर्छ । छाला डड्ने चिन्ताले धेरै महिलाहरू घाममा बस्‍न रुचाउँदैनन् । नेपालमा धेरै महिलाहरूमा भिटामिन- डीको लेभल कम देखिएको छ ।

के छन् घाम ताप्दाका फाइदा ?
- जाडोमा घाम ताप्दा हाम्रो शरीरको तापक्रम सन्तुलित हुन्छ ।
- शरीरले भिटामिन- ‘डी’ प्राप्त गर्छ ।
- रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । 
- हड्डी बलियो बनाउँछ ।
- चिसोबाट लाग्‍ने रोगबाट बचाउँछ ।


ताप्‍नको लागि बिहानको घाम राम्रो हो । १५ मिनेटदेखि आधा घण्टासम्म बस्यो भने शरीरलाई चाहिने भिटामिन-‘डी’ पर्याप्त पाइन्छ । दिनदिनै नियमित रुपमा घाम ताप्‍नुपर्छ भन्‍ने पनि छैन । हप्तामा तीन- चार दिन आधा घण्टा मात्र तरिका पुर्‍याएर घाम तापियो भने शरीरलाई निकै फाइदा पुर्‍याउँछ । तर, घाम ताप्नुभन्दा पहिला यसका फाइदा र बेफाइदा दुबैको बारेमा जानकारी लिनुपर्छ ।

नताप्दा र धेरै ताप्दा के हुन्छ ?
- हड्डी कमजोर हुन्छ ।
- हाड जोर्नीहरू दुख्छ ।
- धेरै समय घाम ताप्दा छाला रातो हुने, पोल्ने, चिलाउने, बिबिरा आउँछ ।
- लामो समय घाममा बस्नेहरूलाई छालाको क्यान्सर समेत हुन सक्छ ।

घामबाट ‘अल्ट्राभयालेट रे’ निस्किन्छ । घामका विकिरणहरूले गर्दा लामो समयसम्म घाममा बस्दा असर गर्छ । १० देखि २ बजेसम्मको घामको ‘रेज’लाई स्वास्थ्यका लागि राम्रो मानिँदैन । धेरैलाई चाउरीपना र चायापोतोका पनि समस्या देखा पर्छ । कसै-कसैलाई छालाको क्यान्सर पनि देखिने गर्छ । बुझेर ताप्दा घामको फाइदा पनि छ, नबुझ्दा यसले बेफाइदा पनि गर्छ । हाम्रोमा घाम ताप्ने भन्ने बित्तिकै बिहानदेखि बेलुकासम्म घाममा बस्ने भन्ने बुझिन्छ । कोही व्यक्तिहरू जाडोमा बिहान खाना खाएदेखि बेलुको घाम नअस्ताएसम्म घाममा बस्छन् । यो चलन राम्रो होइन । घाम ताप्‍ने पनि एउटा निश्चित समय हुन्छ । (कुराकानीमा आधारित ।)


Author

डा. रुपक घिमिरे

घिमिरे छाला रोग विशेषज्ञ हुन् ।


थप समाचार
x