स्वास्थ्य

स्क्रब टाइफस कस्तो रोग हो ? काभ्रेमा एक महिनामै पाँच जनाको मृत्यु

इकागज |
भदौ १८, २०७८ शुक्रबार १५:१४ बजे

काठमाडौँ- रोगको लक्षण कोही बेला समान हुने गर्छ । एउटा मानिसमा देखिएको रोगको लक्षण अर्को मानिसमा पनि मिल्न सक्छ । तर, रोग भने फरक-फरक हुने गरेको  छ। संसारभर महामारीको रुपमा रहेको कोभिड-१९ को लक्षण अन्य रोगसँग पनि मिल्दोजुल्दो छ ।

स्क्रब टाइफससँग कोभिडको लक्षण पनि मिल्दोजुल्दो छ । कोभिडसँग मिल्दो लक्षण भएकाले कोभिड परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्नुपर्छ ।


काभ्रेमा साउन दोस्रो सातादेखि भदौ दोस्रो सातासम्मको अवधिमा मात्र एक वृद्धसहित ४ बालिका गरी पाँच जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा मात्र सातामा तीनदेखि पाँच जना स्क्रब टाइफसका बिरामी भर्ना हुने गरेको अस्पतालले जनाएको छ ।

१६ वर्ष मुनिका बालबालिकामा यो रोग देखिने गरेको अस्पतालका मेडिकल रेकर्डर सुमित्रा टवाइनाले  जानकारी दिइन् । एक महिनामा पाँच जनाको मृत्यु हुनु भनेको यसले डरलाग्दो रुप लिन सक्ने उनको भनाइ छ । समयमा स्थानीय तह र सम्बद्ध निकाय गम्भीर हुनुपर्ने उनको भनाइ छ । समयमै स्क्रब टाइफसको परीक्षण र उपचार गरेमा यसबाट बच्‍न सकिने चिकित्सकहरूले बताउँदै आएका छन् ।

स्क्रब टाइफस कस्तो रोग हो त ?

'ओरियिन्स सुसुगामासी' नामक जीवाणले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट स्क्रब टाइफस मानिसमा सर्ने गर्छ । समयमा यसको उपचार गर्न नसकेमा मानव शरीरलाई गम्भीर असर गर्ने गर्छ ।

मष्‍तिस्क, कलेजो, फोक्सो आदिको संक्रमण र कहिलेकाही बहुअंग विकारको अवस्था पनि सिर्जना हुन सक्छ । मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले टोकेमा मानिसमा सर्ने गर्छ ।

यसका लक्षणहरू

उच्च ज्वरो आउनु, आँखा रातो हुनु, धेरै टाउको दुख्‍नु, टोकेको ठाउँमा कहिलेकाही कालो दाग देखिनु, जोर्नी र मांसपेशी दुख्‍नु,बिभिरा देखिनु,  खोकी बान्ता पेट दुखाइ तथा पखाला लाग्नु र श्‍वासप्रश्‍वासमा समस्या हुनु ।

सुरक्षित रहन के के गर्नुपर्छ

किर्नाको टोकाइबाट सुरक्षित रहन खेत, झाडी वा वनजंगल जाँदा लामो बाउला भएको कपडा लगाउनुपर्छ । उपयुक्त जुत्ता लगाउनुपर्छ र शरीरको खुला भागमा किटनाशक मलमको प्रयोग गर्नुपर्छ । घर वरिपरिको खेतबारीमा घाँसहरू धेरै बढ्न नदिने र वातावरण सफा राख्‍नुपर्छ । मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्‍न भण्डारण गर्ने ।


Author

थप समाचार
x