एनएमए नेशनल हेल्थ समिट’ असोज ९ मा आयोजना हुने
काठमाडौँ- जारी कोरोना महामारीका क्रममा अनुभव र ज्ञान बाँड्दै आगामी दिनमा महामारीसम्बन्धी आवश्यक नीति र स्वास्थ्य पूर्वाधार तयार गर्न टेवा पुर्याउने उद्देश्यले नेपाल चिकित्सक संघ (एनएमए) को आयोजनामा ‘एनएमए नेशनल हेल्थ समिट २०२१’ गरिने भएको छ ।
संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार जर्नल अफ नेपाल मेडिकल एशोसिएसन प्रकाशन सुरुवात भएको महिना पारेर प्रत्येक वर्ष ‘बार्षिक क्यालेण्डर इभेन्ट’को रुपमा यस्तो सम्मेलन गर्न लागिएको संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए ।
यो वर्ष आगामी असोज ९ गते शनिबार (२५ सेप्टेम्बर)का दिन आयोजना गर्न लागिएको सम्मेलनको नारा ‘प्यान्डामिक प्रिपियर्डनेस इन नेपाल’ (नेपालमा महामारीसँग जुझ्ने तयारी) तय गरिएको बताइएको छ । सम्मेलनका लागि संघले पूर्व अध्यक्ष केदारनरसिंह केसी अध्यक्ष र डा. अन्जनीकुमार झा सहअध्यक्ष रहेको आयोजक समिति र डा. कुसुम थापाको संयोजकत्वमा विज्ञ समिति बनाएको छ ।
संघका अध्यक्ष डा. लोचन कार्कीले महामारी नियन्त्रण र सेवा प्रवाहका क्रममा स्वास्थ्य प्रणाली र आम नागरिकका भोगाई र सिकाईका आधारमा भावी नीति तर्जुमा गर्न सरकारलाई सहयोग गर्ने उद्देश्यले यस्तो कार्यक्रम गर्न लागिएको उल्लेख गरे ।
‘सम्मेलनमा प्रस्तुत कार्यपत्र, विज्ञ विचार र प्रश्नका आधारमा सारांश तयार गरी सरकारका विभिन्न निकाय र मन्त्रालयमा बुझाउनेछौं,’ उनले भने ।
डा. कार्कीले सम्मेलन संघको ‘क्यालेन्डर इभेन्ट’का रूपमा हरेक वर्ष आयोजना गरिने भएकोले आगामी वर्षको सम्मेलनमा यो वर्षका निष्कर्ष र तीनको नीतिगत कार्यान्वयनसमेत समीक्षा गरिने पनि उल्लेख गरे । आयोजक समितिका सह–अध्यक्ष डा. अन्जनीकुमार झाले संघले लामो समयदेखि आयोजना गर्ने सोच राखेको यस सम्मेलनलाई सफल गराउने अग्रसरता वर्तमान कार्यकारिणी समितिले लिएको भन्दै त्यसको प्रशंसा गरे ।
डा. झाले चिकित्सक संघको वर्तमान नेतृत्वले महामारीमा उल्लेखनीय काम गरेको र यसका क्रममा भोगेका अनुभव र देशभरका आम चिकित्सकले महामारीमा भोगेका समस्याबाट सिकेर आगामी दिनमा मार्गदर्शन हुनेगरी सम्मेलनको विषय महामारीसम्बन्धी नै छानिएको समेत बताए ।
संघका महासचिव डा. बद्री रिजालले सम्मेलनका लागि गठित आयोजक समितिले शैक्षिक गतिविधिहरु तयार गरी आवश्यक कार्य तीव्रताका साथ अगाडी बढाइरहेको जानकारी दिए ।
यसपटक सम्मेलनका लागि ५ वटा छलफलका मुख्य विषय छानिएका छन् । जसमा स्वास्थ्यमा सुशासन र नेतृत्व, मानव संशाधन र सेवा प्रवाह, कोभिड–१९ खोप र नेपाल सरकारको रणनीति, महामारीमा बहुपक्षीय समन्वय, अवसर, चुनौती र सिकाई, महामारीमा सेवा प्रवाह र आवष्किार मुख्य विषय छन् ।
डा. रिजालका अनुसार सम्मेलनका समूहगत छलफलका विषयलाई राष्ट्रिय टेलिभिजन एवं सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गरिनेछ । विज्ञ सत्रका लागि पाँच वटा मूल विषय छनौट गरिसकिएको र ती विषयमा छलफलका लागि अध्यक्ष, सह–अध्यक्ष, वक्ता र सहजकर्ता समेत छनौट भैसकेको छ ।
विज्ञ समितिकी संयोजक डा. कुसुम थापाले यो वर्ष विषय र सहभाी छनौट गर्दा महामारीमा काम गरेका र जिम्मेवारी लिएकाहरुमा बढी केन्द्रित भएको धारणा राखिन् । डा. कार्कीले प्राकृतिक विपत्ति, कोभिड–१९ जस्ता महामारीहरुको उचित समाधान, व्यवस्थापन र सामना गर्ने रणनीतिक नीतिगत सुझाव नेपाल सरकार लगायत सरोकारवाला निकायमा सम्प्रेषण गरिनेसमेत उल्लेख गरे ।
यसले नेपालको स्वास्थ्य प्रणाली सुधार गर्दै जारी रहेको कोरोना महामारी र आगामी दिनमा पनि आउनसक्ने यी र यस्तै स्वास्थ्य संकटका सामना गर्न सवल स्वास्थ्य प्रणाली निर्माणका लागि टेवा पुर्याउने संघले विश्वास लिएको संघले उल्लेख गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया