नेपालको अध्यक्षतामा डब्लुएचओको क्षेत्रीय सम्मेलन आजदेखि शुरु
डब्लुएचओका महानिर्देशक डा. टेड्रोसले सम्बोधन गर्ने
काठमाडौँ– नेपालको अध्यक्षतामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको बैठक आजदेखि शुरु हुँदैछ । उक्त सत्र अहिले बिहान ९ः४५ देखि शुरु हुँदैछ । यस क्षेत्रका ११ देशका स्वास्थ्य मन्त्रीहरू, डब्लुएचओका महानिर्देशक, क्षेत्रीय निर्देशक र अन्य वरिष्ठ स्वास्थ्य अधिकारीहरू र विज्ञहरू सहभागी हुने यस दक्षिणपूर्वी एसिया क्षेत्रीय समितिको ७४औं सत्रको आयोजक नेपाल रहेको छ ।
नेपालले यसअघि सन् २००९ मा क्षेत्रीय समितिको सत्र सञ्चालन गरेको थियो । कोभिड–१९ महामारीका कारण यो सत्र भर्चुअल माध्यमबाट गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस सत्रलाई डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अदानोम ग्रेब्रियेससले पनि सम्बोधन गर्दैछन् ।
यस सत्रले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूमा विश्व स्वास्थ्य संगठनका कार्यक्रमहरू, नीति, बजेटको समीक्षा तथा स्वीकृति प्रदान गर्नुका साथै कोभिड–१९ लगायतका अन्य समसामयिक जनस्वास्थ्यका मुद्दाहरूमा गहन छलफल गरिने बताइएको छ ।
यस सत्रमा नेपालले कोभिड–१९ को सन्दर्भमा स्वास्थ्यको सर्वव्यापी पहुँच कसरी बढाउने र स्वास्थ्य सम्बन्धी दीगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य प्रणालीलाई कसरी सुदृढीकरण गर्न सकिन्छ भन्ने बारेमा मन्त्रीस्तरीय विशेष छलफल गर्न प्रस्ताव गरेको छ ।
महामारी नियन्त्रणका लागि विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा जाहेर भएका प्रतिवद्धता कसरी प्रभावकारी ढङ्गले हासिल गर्न सकिन्छ भन्ने सम्बन्धमा पनि यस सत्रमा प्राथमिकताका साथ छलफल हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए , ‘यस क्षेत्रका समसामयिक र महत्वपूर्ण स्वास्थ्य मुद्दाहरूमा विमर्श गरी आगामी दिनहरूमा सदस्य राष्ट्रहरू तथा संगठनले चाल्नुपर्ने कदमहरूका सम्बन्धमा साझा अवधारणा र योजना बनाउने कार्यक्रम रहेको छ ।’
नेपाल यस सत्रदेखि आगामी एक वर्षका लागि डब्लुएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समितिको अध्यक्ष रहनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया