डब्लुएचओको क्षेत्रीय सम्मेलनमा प्रधानमन्त्रीले भने, ‘सबै सुरक्षित नभएसम्म हामी कोहीपनि सुरक्षित हुँदैनौं’
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीले जनजीवनमा गम्भीर असर पारेको बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिणपूर्वी एसिया क्षेत्रको ७४औं सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महामारीले अर्थतन्त्र, जनस्वास्थ्य, सामाजिक सुरक्षा प्रणालीमा बहुआयमिक असर परेको उल्लेख गर्दै महामारीको प्रभाव न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय र क्षेत्रीय साझेदारीमा जोड दिए ।
‘हामी सबै सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैनौं भन्ने मनन गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने । महामारी नियन्त्रणका उपाय प्रभावकारी रूपले अवलम्बन गर्दै मानवीय क्षति न्यूनीकरण र आर्थिक क्रियाकलापलाई गति दिनुपर्ने उनको भनाइ थियो ।
नेपालले अध्यक्षका रूपमा डब्लुएचओको दक्षिणपूर्वी क्षेत्रका ११ राष्ट्रको सहभागितामा सम्मेलन आयोजना गरेको हो । उक्त सत्रमा बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ महामारी समकालीन विश्वको ऐक्यवद्धताको परीक्षण भएको भन्दै महामारी नियन्त्रण र विश्वव्यापी आर्थिक–सामाजिक प्रभाव न्यूनीकरणमा सहकार्य गर्नुपर्ने धारणा राखे ।
डब्लुएचओ महानिर्देशक डा. टेड्रोस अदानोम गेब्रियेसिसले महामारी नियन्त्रणका लागि प्रत्येक व्यक्तिको व्यक्तिगत व्यवहारमा भर पर्ने भन्दै आगामी दिनमा महामारी नियन्त्रण, पूर्वतयारी र प्रतिकार्यका लागि गतिलो आधार निर्माण गर्न पूर्व तयारी वा प्रतिकार्यसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, सम्झौताको आवश्यकतामा जोड दिए । भविष्यमा आउनसक्ने प्रकोप र महामारी नियन्त्रणका लागि उन्नत सहकार्य समन्वयको आवश्यकतामा उनको जोड थियो ।
डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले महामारीले को सबैभन्दा बढी प्रभावित भएका छन् र तिनीहरूलाई सहयोग पुग्नेगरी कसरी प्राथमिकताहरू निर्धारण गर्न सकिन्छ भन्नेमा ध्यान दिदैं अन्य क्षेत्रमा गरिने लगानीले स्वास्थ्य क्षेत्रमा योगदान पुग्न सक्छ भन्ने ख्याल गर्नुपर्ने बताइन् ।
यस सत्रले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूमा विश्व स्वास्थ्य संगठनका कार्यक्रमहरू, नीति, बजेटको समीक्षा तथा स्वीकृति प्रदान गर्नुका साथै कोभिड–१९ लगायतका अन्य समसामयिक जनस्वास्थ्यका मुद्दाहरूमा गहन छलफल गरिने बताइएको छ ।
यस सत्रमा नेपालले कोभिड–१९ को सन्दर्भमा स्वास्थ्यको सर्वव्यापी पहुँच कसरी बढाउने र स्वास्थ्य सम्बन्धी दीगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य प्रणालीलाई कसरी सुदृढीकरण गर्न सकिन्छ भन्ने बारेमा मन्त्रीस्तरीय विशेष छलफल गर्न प्रस्ताव गरेको छ । नेपाल यस सत्रदेखि आगामी एक वर्षका लागि डब्लुएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समितिको अध्यक्ष रहनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया