स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउने दक्षिणपूर्वी एसियाली राष्ट्रको घोषणा
काठमाडौँ - विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसिया क्षेत्र अन्तर्गतका देशहरूले स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्त गर्न र स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि स्वास्थ्य प्रणालीहरूको सबलीकरण गर्ने मन्त्रीस्तरीय प्रतिबद्धता घोषणा गरेका छन् ।
चाैहत्तरौं क्षेत्रीय समितिको बैठकको दौरानमा एउटा मन्त्रीस्तरीय गोलमेचमा बोल्दै विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भने,' प्राथमिक स्वास्थ्य स्याहारमा केन्द्रित र सम्पूर्ण जनसंख्यालाई समेट्ने मजबुत स्वास्थ्य प्रणालीहरूले जनतालाई थप स्वस्थ, उत्पादक र आर्थिक रूपमा सुरक्षित बनाउन मद्दत गर्दछन् । उत्थानशील स्वास्थ्य प्रणालीहरू आपत्कालीन तत्परता र प्रतिकार्यका आधारशिला हुन् र यस्ता प्रणालीहले प्रकोपका घटना हुँदा अत्यावश्यक स्वास्थ्य सेवाहरू सुचारु रहेको सुनिश्चित गर्न मद्दत गर्दछन् ।'
सदस्य राष्ट्रहरूले सार्वजनिक लगानी अभिवृद्धि गर्दै स्वास्थ्य प्रणालीहरूलाई बृहत् प्राथमिक स्वास्थ्य सेवामार्फत पुनः अभिमुखीकरण गर्ने र जनस्वास्थ्यसम्बन्धी आपत्कालीन प्रतिकार्य क्षमताको लागि र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्नका लागि आधार निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
'महामारीले स्वास्थ्यमा, विशेषगरी प्राथमिक स्वास्थ्य सेवाको तहको जनशक्तिमा लगानी गर्नुको महत्व तथा अत्यावश्यकतालाई प्रष्ट पारिदिएको छ । जनस्वास्थ्य सम्बन्धी आपत्कालको समयमा प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न र उत्थानशील स्वास्थ्य प्रणालीहरू निर्माण गर्नका लागि सुपथ, प्रभावकारी, गुणस्तरीय र सुरक्षित स्वास्थ्य सामग्रीहरू पर्याप्त मात्रा आवश्यक पर्ने कुरा पनि यस महामारीले देखाएको छ,' क्षेत्रीय निर्देशकले थपे ।
घोषणामा महामारीको दौरानमा र महामारी पश्चातको समयमा अत्यावश्यक स्वास्थ्य सेवाहरू र जनस्वास्थ्यका कार्यक्रमहरू सुचारु राख्न समुदायहरूलाई अझ संलग्न गराउने र समुदायहरूको सशक्तिकरण गर्ने प्रतिबद्धता पनि गरिएको छ ।
जोखिममा रहेका र प्रभावित समुदायहरूका लागि प्रभावकारी प्रतिकार्य सञ्चालन गर्नका लागि, सदस्य राष्ट्रहरूले जनस्वास्थ्य आपतकालीन सम्बन्धी र विपद् जोखिम व्यवस्थापन सम्बन्धी रणनीतिहरूलाई एकीकृत गर्ने र प्राथमिक स्वास्थ्य स्याहारको तहमा निगरानी तथा तयारी क्षमताको सुदृढीकरण गर्ने सहमतिसमेतजनाएका छन् ।
सदस्य राष्ट्रहरूले प्राथमिक स्वास्थ्य स्याहारको तहमा मानसिक स्वास्थ्य तथा अन्य रोग लगायतका नसर्ने रोगहरूलाई समाहित गर्ने, प्राथमिक स्वास्थ्य स्याहारका सेवाहरूका लागि राष्ट्रिय गुणस्तर मापदण्डहरू स्थापना गर्ने र महामारी तथा पुनरुत्थानको दौरानमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
त्यसैगरी, सदस्य राष्ट्रहरूले परम्परागत औषधि प्रणालीहरूको सम्भाव्यताको उचित उपयोग गर्ने र साथै डिजिटल स्वास्थ्य प्रविधिमा भएका नवीनतम आविष्कारहरूको पनि सर्वोत्तम उपयोग गर्ने सहमति जनाएका छन् ।
घोषणामा जनस्वास्थ्य सम्बन्धी आपत्कालहरूलाई सम्बोधन गर्न र सबैका लागि उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गर्न आवश्यक पर्ने राष्ट्रिय क्षमता विकासको कार्यमा विश्व स्वास्थ्य सङ्गठनको महत्वपूर्ण भूमिका लगायतका अतिरिक्त स्रोत तथा साझेदारीहरूको महत्व माथि पनि जोड दिइएको थियो ।
'मिलेर काम गर्दा हामी झन बलियो हुन्छौं । मिलेर काम गरेर हामीले अत्यावश्यक स्वास्थ्य सेवाहरूको अझ राम्रो पुनः निर्माण गर्न सक्छौं ताकि सबैका लागि अझ न्यायपूर्ण, स्वस्थकर, र स्वास्थ्य सुरक्षासहितको भविष्य निर्माण गर्न सकियोस् र कसैलाई पनि पछाडि नछोडियोस्,'क्षेत्रीय निर्देशकले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया