पीसीआर परीक्षण गरेको पाँच हजार
विदेशबाट फर्किने नेपालीलाई दोहोरो व्ययभार: होटल क्वारेन्टिन र पुन: पीसीआर गर्नैपर्ने बाध्यता
सीसीएमसीले कारबाही गरेका होटलसमेत बुक
फाइल तस्बिर
काठमाडौँ - नेपालमा पछिल्लो समय निषेधाज्ञा खुलुलो भएसँगै विभिन्न मुलुकबाट नेपालीहरू स्वदेश फर्किने क्रम बढेको छ । अझै चाडवाडसमेत नजिकिँदै जाँदा स्वदेश फर्किने नेपालीको संख्या बढ्न थालेको छ । तर, महामारीको समयमा स्वदेश फर्किएका नेपाली दोहोरो व्ययभारको मारमा पर्ने गरेका छन् ।
विदेशबाट फर्किएका नेपालीले सरकारले तोकेको होटल क्वारेन्टिनमा बस्नुपर्छ। होटल क्वारेन्टिन बस्नुपर्ने बाध्यकारी नीतिले विदेशबाट आउने नेपालीलाई आर्थिक व्ययभार बढ्न थालेको छ । उनीहरूले कोभिड नेगेटिभ रिपोर्ट लिएर आए पनि अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्ने नियमले खर्च बढाएको हो। त्यसैमाथि विदेशमा कोभिड परीक्षण गरेको भए पनि स्वदेश आइसकेपछि फेरि कोभिड परीक्षणमा खर्च गर्नुपर्ने बाध्यताले उनीहरूलाई छ । होटल क्वारेन्टिनमा बस्नेले पीसीआर परीक्षण शुल्कसमेत छुट्टै तिर्ने गरेका छन् । यसले आर्थिक व्ययभार बढेको बताउन उनीहरू गुनासो गर्छन् ।
सरकारले विदेशबाट आएकालाई क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाए पनि परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता छ । सरकारी प्रयोगशालामा पीसीआर परीक्षणको शुल्क १ हजार रुपैयाँ भए पनि होटलले पीसीआर परीक्षण गर्न ५ हजार रुपैयाँ लिने गरेका छन् । सरकारले क्वारेन्टिनका लागि होटल सूचीकृत गरे पनि कोभिड परीक्षणका लागि व्यवस्था नगर्दा उनीहरूले सास्ती भोगिरहेका छन् । विदेशबाट कोभिड नेगेटिभ रिपोर्ट बोकी नेपाल आउने उनीहरूले क्वारेन्टिन बस्नुपर्ने झन्झट हटाउन माग गरेका छन् ।
तीन दिन क्वारेन्टिन बसेको १० हजार रुपैयाँ
जापानबाट केही दिनअघि फर्किएका ललितपुरका पूर्णबहादुरले जापानमा कोभिड पीसीआर परीक्षण गरेर आएका थिए । आफ्नो सम्पूर्ण कागजपत्र देखाएपछि उनले कोभिड सुरक्षाको मापदण्ड अपनाउनुपर्ने फारम भरे ।
'कोभिडविरुद्धको खोप लगाएकाले सहजै बाहिर जान पाए,' राईले भने,' आफूले खोप नलगाएकाले पीसीआर रिपोर्ट नेगेटिभ भए पनि प्रहरीले होटलमा क्वारेन्टिनमा पठायो ।' तीन दिनमा उनले १० हजार रुपैयाँ तिरे । होटल गौरीमा उनी क्वारेन्टिनमा बसेका हुन्।
राईले १० हजार रुपैयाँ तिरेर तीन दिन क्वारेन्टिनमामा बसे पनि पीसीआर परीक्षणको छुट्टै शुल्क तिर्न बाध्य पारियो । क्वारेन्टिनको नाममा बढी खर्च व्यहोर्नु परेको उनको भनाइ छ ।
विमानस्थलअगाडि रहेको होटल गौरीले क्वारेन्टिनको मापदण्डसमेत उल्लघंन गरेकाले सीसीएमसीले कारबाही गरिसकेको छ । क्वारेन्टिन अवधिभर विदेशबाट आएका मानिसलाई नराखेको तथा स्थानीय तहको निगरानीमा क्वारेन्टिन बस्छु भनी जान दिएकाले होटल गौरीलाई कारबाही समेत गरिसकेको छ । तर, कारबाहीमा परेको होटलसमेत बुकिङ भइरहेको छ ।
'क्वारेन्टिनमा बस्दा खर्च हुने हुँदा भारतबाट स्वदेश फर्कन मान्दैनन्'
दक्षिण एशियाली मुलुकमा सबैभन्दा बढी कोभिड संक्रमितको संख्या रहेको मुलुक हो भारत। भारतका लागि नेपाल एयर लायन्सको दैनिक एक उडान र एयर इन्डियाको सातामा तीन वटा उडान हुने गरेको छ ।
नेपालबाट जाने र भारतबाट आएका नेपालीलाई समेत क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता छ । कोभिड सुरक्षाको मापदण्ड अपनाउनुपर्ने बाध्यताले नेपालीहरूको व्ययभार बढ्ने भारतमा बसिरहेकी सञ्चारकर्मी आशा थपलियाले बताइन् । भारतमा रहेका नेपालीहरू स्वदेश फर्कदा क्वारेन्टिन बस्दा खर्च हुने त्रासले फर्कन नचाहेको उनले दाबी गरिन् ।
नेपालमा निषेधाज्ञा खुकुलो भइसकेकाले कोभिडको रिपोर्ट नेगेटिभ देखाएर सहजै होम क्वारेन्टिन बस्न दिनुपर्ने थपलियाको भनाइ छ । 'मानिसको आवतजावत बढिसकेको छ । सबैतिर खुला भइसकेको छ,' थपलियाले भनिन्,' पीसीआर रिपोर्ट नेगेटिभ देखाएपछि सहजै घर जान पाउनुपर्छ ।' भारतमा रहेका नेपाली विद्यार्थीहरूले रिपोर्ट नेगेटिभ देखाए पनि क्वारेन्टिन बस्दा बढी खर्च तिर्नुपर्ने अवस्था रहेको उनले बताइन् ।
खोप लगाएकाले कोभिड रिपोर्ट नेगेटिभ देखाएमा घर जान पाउने
विदेशबाट खोप लगाइ आएका नेपालीले कोभिड रिपोर्ट नेगेटिभ देखाएमा उनीहरूलाई घर जान दिने गरेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका नुरहरि खतिवडाले बताए । खोप नलगाएको तर कोभिड रिपोर्ट नेगेटिभ देखाए पनि उनीहरूले होटल क्वारेन्टिन बस्नुपर्ने उनको भनाइ छ ।
कोभिडको जोखिम रहेकाले र सरकारले बनाएको नियमलाई पालना गर्नुपर्ने खतिवडाले बताए । विदेशबाट आएकालाई होटल क्वारेन्टिन बस्नुपर्ने नियम मन्त्रिपरिषदले बनाएकाले त्यसलाई अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।
पछिल्लो समय- समय सीसीएमसीको सिफारिसमा निषेधाज्ञा खुकुलो पार्दै लगिएको उनको भनाइ छ । सीसीएमसीको अध्यक्ष प्रधानमन्त्री हुने भएकाले सोही अनुसार निर्णय भएको उनले बताए ।
अबको सीसीएमसी बैठकमा थप नयाँ एजेण्डा प्रस्तुत गरिने खतिवडाले बताए । विदेशबाट आएका मानिसलाई राख्न २२२ वटा होटलको व्यवस्था गरिएको छ ।
हालसम्म सीसीएमसीले क्वारेन्टिनको मापदण्डविपरीत कार्य गरेको चार वटा होटललाई कारबाही गरिसकेका छन् । शिवम होटल प्लाजा पिङ्गलास्थान, होटल बागमती, होटल पिलग्रिम्स ठमेल र होटल गौरी एयरपोर्टलाई कारबाही गरिसकेको छ । त्यस्ता होटलमा बुकिङ नगर्न उनले आग्रह गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया