स्वास्थ्य

बैतडीमा स्क्रब टाइफसको जोखिम बढ्यो, ४५ जनामा संक्रमण

इकागज |
असोज १७, २०७८ आइतबार २१:१२ बजे

बैतडी – जिल्ला अस्पताल बैतडीमा  ‘स्क्रब टाइफस’का बिरामी दैनिक रूपमा फेला पर्न थालेका छन् । अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक, दुई जनामा स्क्रबटाइफस देखिन थालेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।  

‘पछिल्लो केही दिनदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रबटाइफस पोजेटिभ देखिन थालेको छ,’ जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले भने, ‘पछिल्लो समय दिनप्रतिदिन यहाँ स्क्रबटाइफसका बिरामी देखिन थालेपछि यस रोगको जोखिम बढ्दै गएको छ । अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रबटाइफसको परीक्षण गरिरहेको छ ।’


केही स्क्रबटाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको साथै दैनिकरूपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएका यसबाट बच्न जरुरी भएको उनको भनाइ छ । अस्पतालका सूचना अधिकारी पन्तका अनुसार विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष स्क्रबटाइफसका बिरामीको संख्या बढेको छ । साउनदेखि हालसम्म जिल्लामा ४५ जनामा संक्रमण देखिसकेको छ । ‘वर्षायामको सुरुबाटै बिरामीको संख्या बढेको छ, साउनदेखि हालसम्म ४५ जनामा  स्क्रबटाइफस पुष्टि भइसकेको छ,’ उनले भने ।

जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रबटाइफस देखिने गरेको छ । त्यसमध्येबाट पनि सदरमुकामस्थित दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाट उपचारका लागि जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीमा बढी यो रोग देखिएको सूचना अधिकारी पन्तले जानकारी दिए ।

बर्सातमा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रबटाइफसका बिरामी पनि देखिने गरेका अस्पतालका प्रमुख डा. जोशीले बताए । ‘पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रबटाइफस देखिने गरेको छ, स्क्रबटाइफसले ज्यानै लिनसक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार गरिरहेका छौं,’ उनले भने । जिल्ला अस्पतालमा बढीजसो भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।


Author

थप समाचार
x