स्वास्थ्य

अनुसन्धान गरी कारबाही चलाउन अख्तियारलाई  निर्देशन

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएकाे लेखा समितिको ठहर

इकागज |
पुस ३, २०७७ शुक्रबार १५:४८ बजे

फाइल तस्वीर

काठमाडौं : संसदीय समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ओम्नीमार्फत् गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकाल्दै यसमा संलग्नहरुलाई कारबाही गर्न निर्देशन दिएको हो ।

समितिले सामाग्री खरिदमा प्रचलित कानुन र प्रक्रिया मिचेको निष्कर्षसमेत निकालेको छ । समितिले बजारमा तोकिएको भन्दा बढी मूल्यमा खरिद गरी भ्रष्टाचार भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अनुसन्धान गरी मुद्दा चलाउन पनि निर्देशन दिएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।


उनले भने ‘आज माननीय मन्त्रीज्सँयूग विभिन्न कोणबाट छलफल भयो, खरिद प्रक्रिया नियमसंगत नभएकाले यसमा जो संलग्न हुनुहुन्छ, उहाँहरु दोषी करार गर्ने अवस्था सिर्जना भएकाले को-को दोषी हुनुहुन्छ ? क-कसले अनियमितता गर्नुभएको छ ? त्यो पहिचान गरेर कानुनी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने निर्देशन भएको छ ।’

समितिको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त कालले ओम्नी समूहलाई राज्यकोषबाट एक पैसा नदिइएको र ओम्नीको धरौटीसमेत जफत गरी राज्यकोषमा दाखिला गरेको बताए । आफ्नो नियत खराब नभएको भन्दै अनियमितितामा संलग्नलाई कारबाहीका लागि आफ्नो पनि साथ रहने उनले बताए । त्यस्तै, मन्त्री ढकालले सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वास्थ्य सामाग्री खरिदमा औंल्याएको कमजोरीबारे आफूलाई थाहा नभएको पनि बताए । 

बैठकमा सांसदहरूले कोरोनाका महामारीबीच चर्को मूल्यमा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा ओम्नीलाई दिनुको कारण सोधेका थिए । साथै उनीहरुले प्रक्रिया नै मिचेर स्वास्थ्य सामग्री खरिद सम्झौता भएको भन्दै छानविन गर्नुपर्ने बताएका थिए । 

समितिले मन्त्री ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो ।


Author

थप समाचार
x