स्वास्थ्य

जाडोमा किन हुन्‍छ छाला सुख्खा ?

प्रा. डा. धर्मेन्द्र कर्ण |
पुस ५, २०७७ आइतबार ६:५८ बजे

छाला हाम्रो शरीरका भित्री अंगहरूको सुरक्षागार्ड हो । यसले भित्री अंगहरूलाई सुरक्षा दिने काम गर्छ । जसरी गाडीभित्र केही भयो भने इन्जिन तातिन्छ । त्यसरी नै शरीरको भित्री अंगमा केही भयो भने छाला तातिएर केही गडबड भएको संकेत दिन्छ । ज्वरो आउँछ ।

हामीले भित्री अंगको ख्याल राख्‍छौँ । पेट, टाउको, दाँत आदि दुख्यो भने तुरुन्तै अस्पताल जान्छौँ । भित्री जस्तै बाहिरी आवरण अर्थात् छालाको पनि स्याहार  गर्नुपर्छ । तर, छालामा केही समस्या देखिने बित्तिकै धेरैजना अस्पताल जादैनन् । अनेक किसिमका क्रिम, पाउडर र तेल लगाउनुहुन्‍छन् । जब छाला पुरै बिग्रिसक्छ अनि मात्र अस्पताल आइपुग्छन् ।


नेपालीहरूमा ९० प्रतिशत मानिसहरूको छाला सुख्खा छ । छालाको सुख्खापन वातावरणले निर्धारण गरेको हुन्छ । हाम्रोमा एक वर्षमाछ वटा ऋतु हुन्छन् । जसको कारण दुई–दुई महिनाको अन्तरालमा मौसम परिवर्तन भइरहन्छ । मौसम परिवर्तन भइ रहदाँ छाला ‘एडजस्ट’ हुनपाउँदैन । जसको कारण छाला सुख्खा हुन्छ ।

छालामा हुने सुख्खापना दुई प्रकारका हुन्छन् । पहिलो, जन्मजात हुने सुख्खापना । दोस्रो, विभिन्‍न रोग वा वातावरणिय प्रभावका कारण हुने सुख्खापना । जन्मजात हुने सुख्खापनालाई वैज्ञानिक भाषामा ‘इथायोसिस’ भनिन्छ । यसमा माछाको कत्ला जस्तो पाप्रा उक्निे खाले छाला समस्या हुन्छ । खुट्टा, हात, घाँटी, पेट आदिमा माछाको कत्ला जस्तै देख्‍न सकिन्छ ।

त्यस्तै, एलर्जी हुने, नाक धेरै बन्द भइरहने, दमका रोगी, दिर्घकालिन मधुमेह, उच्च रक्तचाप, क्लोरेस्ट्रोलका बिरामी, थायोराइड आदिका बिरामीहरूको पनि छाला सुख्खा हुन्छ । वातावरणको तापक्रमकम हुँदा शरीरमा भएको तापक्रम बाहिर निस्किन्छ । जसले गर्दा छाला सुख्खा हुन्‍छ । र, वातावरणसँग जुधिरहेका अंगहरू जस्तैः अनुहार, हात, खुट्टा बढी सुख्खा हुन्‍छन् । सुख्खा छाला वास्तवमा एलर्जीको घर हो । छाला सुख्खा हुने बित्तिकै बाहिरी तत्‍व भित्र छिर्छ । छाला चिरा पर्छ । एलर्जी हुन्छ, चिलाउँछ, पोल्छ, दुख्छ । अन्तमा छालासम्बन्धि विभिन्‍न रोग लाग्छ ।

त्यस्तै, जाडोमा धेरै मानिसहरू न्यानो हुनका लागि हिटर वा एसीमा बस्छन् । हिटर वा एसीले झन् ‘डिहाइड्रेसन’ गर्छ । शरीरमा पानीको मात्रा कम हुन्छ । जसले छालालाई सुख्खा बनाउँछ । 

सुख्खा छालाका लक्षणहरू
- कपालमा चाया आउने ।
- अनुहार कक्रक्क हुने, पोल्ने ।
- ओठ सुख्खा हुने, फुट्ने, खटिरा आउने ।
- हात सुख्खा हुने, चिरा पर्ने ।
- घामको एलर्जी हुने ।
- साबुनको एलर्जी हुने ।

रोकथाम के ?
- न्यानो र पुरै बाहुला भएको कपडा लगाउनुपर्छ ।  
- बेलाबेलामा म्वइस्चराइजर लगाउनुपर्छ । 
- नुहाउनुभन्दा अघि बडी ओइल लगाउनुपर्छ । 
- धेरै तातो पानीले छाला सुख्खा गर्ने भएकाले मनतातो पानीले नुहाउनुपर्छ ।
- नुहाउने पानीमा नुन हालेर नुहाँउदा पनि छाला सुख्खा हुनबाट बच्छ । 
- नुहाउने बित्तिकै पानीको थोपा शरीरमा हुँदै म्वइस्चराइजर वा बडी ओइल लगाउनुपर्छ । 
- छालामा टाँसिने ‘सिन्थेटिक’ खालका कपडा लगाउनु हुँदैन । घर्षण भएर झनै छालामा समस्या हुन्छ । 
- भित्र सुतिको कपडा लगाएपछि मात्रै अरु कपडा लगाउनुपर्छ । 
- नुहाउँदा म्वइस्चराइजरयुक्त साबुन प्रयोग गर्नुपर्छ । 
- छालाको एलर्जी हुनेहरूले बेबी साबुन वा सेम्पुको प्रयोग गर्नुपर्छ ।
- एलर्जी हुनेले गन्द र रङरहित सामग्रीको प्रयोग गर्नुपर्छ । 
(कुराकानीमा आधारित ।)


Author

प्रा. डा. धर्मेन्द्र कर्ण

कर्ण छाला तथा सौन्दर्य विशेषज्ञ


थप समाचार
x