स्वास्थ्य

डेढ वर्षपछि वीर अस्पतालमा पुन: मिर्गौला प्रत्यारोपण सुरु

इकागज |
कात्तिक १०, २०७८ बुधबार १३:९ बजे

फाइल तस्बिर

काठमाडौं – वीर अस्पतालमा डेढ वर्षपछि मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु भएको छ । कोभिड-१९ संक्रमणका कारण रोकिएको प्रत्यारोपण सेवा सुरु भएको कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्‍नेतले ईकागजलाई जानकारी दिए।

उनकाअनुसार मंगलबार सिराहाका ५० वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको हो । ती पुरुषलाई उनकी ४९ वर्षीया श्रीमतीले मिर्गौला दिएकी हुन् । देशमा पहिलो पटक लकडाउन भएपछि २०७६ चैत ११ गतेबाट वीरमा प्रत्यारोपण सेवा रोकिएको थियो। प्रत्यारोपण डा. अनिल श्रेष्ठ, पारश श्रेष्ठ र डा. रबिन बस्नेतको टोलीले गरेको हो।


बिरामीको चापको आधारमा सातामा दुईजनासम्म बिरामीको मिर्गौला प्रत्यारोपण गर्ने गरी जुटेको डा. बस्‍नेतले बताए । अस्पतालमा कोभिड संक्रमण फैलिएपछि (लकडाउन भएसँगै)  प्रत्यारोपण सेवा रोकिएको थियो। डा. बस्नेतले भने,' हामीले पुन: सेवा सञ्चालनमा ल्याएका छौं। प्रत्येक हप्ताको मंगलबार एकजनाको प्रत्यारोपण गर्ने योजना बनाएका छौं।’

‘मिर्गौला प्रत्यारोपण गर्ने सोचमा रहेका बिरामीलाई सेवा लिन आउन आग्रह गर्छु’, डा. बस्नेतले भने,‘अबको दुई हप्तापछि प्रत्यारोपण गर्ने तयारीमा हामी जुटेका छौं।’ मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकको टोलीमा डा. पारसमणि श्रेष्ठ, डा.अनिल श्रेष्ठ, डा. रविन बस्नेत, डा. रजनी हाडा, डा. अनिल बराललगायतका चिकित्सकहरू छन्।

 


Author

थप समाचार
x