सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउनेको संख्या बढ्यो
प्रत्यारोपण गराउनेमा पुरुषको संख्या बढी
तस्बिरः शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
काठमाडौँ- कोभिड-१९ संक्रमणको संख्या मुलुकमा घट्न थालेपछि अस्पतालमा सेवाग्राहीको संख्या बढ्न थालेको छ । उपत्यकाकै विभिन्न सरकारी अस्पतालमा सेवा लिनेको संख्या बढ्न थालेको हाे ।
यससँगै काठमाडौँ उपत्यकामा मानव अंग प्रत्यारोपण गर्नेको पनि संख्या बढन् थालेको छ । पछिल्लो समय अस्पतालमा अंग प्रत्यारोपण गराउनेहरू हरेक दिनजसाे बढ्दै जान थालेको अस्पतालले जनाएका छन् ।
उपत्यकामा भक्तपुरस्थित सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा मानव अंग प्रत्याराेपण हुँदै आएकाे छ । सबै सरकारी अस्पतालले बिरामीकाे चाप बढेकाे बताएका छन् । दोस्रो लहरको कोभिड संक्रमण तीव्र रुपमा फैलिएपछि उपत्यकाका सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण कार्य स्थगित भएको थियो । निषेधाज्ञा खुकुलो भएपछि मानिसहरूको आवतजावतमा सहज हुन थालेपछि देशभरका मिर्गौलाका बिरामीहरूको प्रत्यारोपण गर्नेको संख्या बढेको हो ।
निषेधाज्ञा खुलेपछि भदौ २ देखि कात्तिकको पहिलो सातासम्म सरकारी अस्पतालमा २६ जनाले मिर्गौलाको प्रत्यारोपण गरेका छन् ।
दुई महिनामा मात्र सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रले १८ जनाको मिर्गौला प्रत्यारोपण गरिरसकेको शाखा अधिकृत हरिहर पोखरेल बताउँछन् । केन्द्रमा कोभिड संक्रमितको संख्या कम हुदै गएपछि देशभरैबाट मिर्गौला प्रत्यारोपण गर्नेको संख्या बढ्दै गएको छ ।
केन्द्रमा कलेजो र मिर्गौलाको प्रत्यारोपण हुने गरेको छ । केन्द्रमा मिर्गौलाको मात्र प्रत्यारोपण भइरहेको उनले जानकारी दिए । कलेजोको पनि प्रत्यारोपण गर्ने तयारी भइरहेको उनले बताए ।
प्रत्यारोपण गर्नेहरू महिला भन्दा पुरुषको संख्या बढिरहेको पोखरेलले सुनाए । २० वर्षदेखि ६० वर्ष माथिका मानिसहरूले प्रत्यारोपणको सेवा लिइरहेको उनले जानकारी दिए । बिरामी सबै कानुनी प्रक्रृया पूरा गरेर आएमा अस्पतालले सातामा २ जना भन्दा बढीलाइ प्रत्याराेपण सेवा दिन सक्छ,' उनले भने ।
सरकारले सरकारी अस्पतलमा मिर्गौला प्रत्यारोपण २०७४ वैशाख १ गतेदेखि निशुल्क सेवा सुचारु गरेको थियो । केन्द्रले नि:शुल्क गरेपनि सम्पूर्ण खर्च ४ लाख रुपैयाँमा गर्ने गरेको उनले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपण गर्न पूर्वाधार मेसिनहरू नभएको पोखरेलले बताए । पूर्वाधार अभाव तर, सेवा लिनेको संख्या बढी भएकाले धेरै सेवाग्राहीले पर्खनुपरेको उनको भनाइ छ ।
दुई महिनामै १७ जनाको प्रत्यारोपण
त्रिवि शिक्षण अस्पतालमा पनि सेवाग्राहीको संख्या बढ्न थालेको छ । दुई महिनामा १७ जनाले मिर्गौला प्रत्यारोपण गरेका छन् । १२ जना पुरुष र ५ महिलाको मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले जानकारी दिए ।
अस्पतालले सातामा दुई वटा मिर्गौला प्रत्यारोपण गरिरहेको अधिकारीले बताए । बिरामीले प्रत्यारोपण गर्न सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर आउँदा समस्या नहुने उनले बताए । कानुनी प्रक्रिया पूरा गरेर आउनेका लागि अहिलेसम्म कुनै पनि समस्या नभएको उनको भनाइ छ ।
वीर अस्पतालमा पनि डेढ वर्षपछि मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु भएको छ । कोभिड-१९ संक्रमणका कारण रोकिएको प्रत्यारोपण सेवा सुरु भएको कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतले ईकागजलाई जानकारी दिए ।
कोभिड संक्रमण तीव्र रुपमा फैलन थालेपछि पहिलो पटक लकडाउन भएपछि २०७६ चैत ११ गतेबाट वीरमा प्रत्यारोपण सेवा रोकिएको थियो । सातामा सम्भव भएमा दुई जनाको प्रत्यारोपण गरिने तयारी भएको उनले बताए ।
डायलासिस गराउनेको संख्या बढ्यो
काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा नियमित डायलासिस गराउनेको संख्या बढ्दै गएको छ । दैनिक डायलासिस गर्न १५० जनाको हाराहारीमा आउने गरेको केन्द्रको सम्पर्क अधिकृत मनिषा भट्टराईले जानकारी दिइन् । डायलासिस गराउनेको संख्या बढी भएकाले बिरामीलाई फर्काउनु परिरहेको उनले बताइन् ।
केन्द्रमा डायलासिस गराउने पुरुषहरू बढी रहेको भट्टराईले जानकारी दिइन् । १२ वर्ष माथिकादेखि मानिसहरू आउने गरेको उनले बताइन् । केन्द्रले दिनमा तीन सिफ्ट गरेर डायलासिस गरिरहेको छ ।
'स्थानीय तहको सिफारिसका आधारमा बिरामीले डायलासिसको सुविधा नि:शुल्क पाउनेछन्,' उनले भनिन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया