स्वास्थ्य

बूढीगंगामा भाइरल ज्वरोका बिरामी बढे

इकागज |
कात्तिक १३, २०७८ शनिबार ९:२० बजे

मार्तडी - जिल्लाको बूढीगङ्गा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तसँगै यहाँका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । 

बेमौसमी वर्षासँगै भएको मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढ्न थालेको सोही नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र ताँप्राकी स्वास्थ्य सहायक आशा थापाले जानकारी दिए । उनकाअनुसार स्वास्थ्य संस्थामा दैनिकरूपमा १० देखि १५ जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको र कतिपय बिरामीलाई घरमै गएर उपचार गर्ने गरेको बताए । 


 मौसम परिवर्तनसँगै र चिसो बढ्न थालेपछि भाइरल ज्वरोका बिरामी स्वास्थ्य संस्थामा बढ्न थालेको अहेव थापाले बताए । अहिले स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, हातखुट्टाका जोर्नी दुख्ने, झाडा पखाला लाग्ने वान्ता हुनेलगायतका बिरामी आउने गरेको थापाको भनाइ रहेको छ । भाइरल ज्वरोका बिरामी गाउँमा बढ्न थालेपछि महिला स्वयंसेविका र महिला समूहले सचेतजना जगाउँदै आएको अहेव थापा बताउँछन् । 

'औषधि अभाव छैन' 

बूढीगङ्गा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढेका भए पनि औषधिको अभाव भने नभएको स्वास्थ्य शाखाले जनाएको छ । दैनिकरूपमा भाइरल ज्वरोलगायतका बिरामीको स्वास्थ्य संस्थामा चाप बढ्दै गएको भए पनि उनीहरूको उपचार र सेवन गर्ने औषधि पर्याप्त मात्रामा रहेको बूढीगङ्गा स्वास्थ्य शाखाका सहसंयोजक हस्तबहादुर खडायतले बताए । 

बिरामी बढी आउने गरेको खबरपछि स्वास्थ्य शाखाले आवश्यक औषधि पठाएको सहसंयोजक खडायतले बताए । चिसो मौसम बढेपछि रुघाखोकी, ज्वरो, निमोनिया, दमका बिरामी आउने गरेको त्रिवेणी नगरपालिका–९ मा रहेको पैमा आधारभूत स्वास्थ्यकेन्द्रकी स्वास्थ्यसहायक सीता खत्रीले बताएका छन् । रासस


Author

थप समाचार
x