स्वास्थ्य

मिर्गाैला प्रत्याराेपण

दुई श्रीमती : जसले दिए श्रीमानलाई पुनर्जीवन

अतिन आचार्य |
कात्तिक १४, २०७८ आइतबार २१:१३ बजे

काठमाडौँ- विराटनगरस्थित नोबल अस्पतालले करिब दुई महिनामा दुई वटा मिर्गौलाको सफल प्रत्यारोपण गरेको छ । मिर्गौला लिने दुवै जना पुरुष र दान गर्नेहरू पनि ती दुवै जना पुरूषका श्रीमती थिए ।

दोस्रो पटक एक साताअघि ३० वर्षीय पुरुषको मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालका मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. शैलेन्द्र श्रेष्‍ठले जानकारी दिए । उनकाअनुसार मिर्गौला ती पुरुषको २६ वर्षीया श्रीमतीले दान गरेकी थिइन् । उनीहरू विगत दुई वर्षदेखि नियमित डायलासिसका लागि आउने गरेका थिए । मिर्गौला लिने र दिने दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्‍ठले जानकारी दिए ।


काठमाडौँबाट गएका युरोलोजिस्ट एवम् मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. रामसागर शाह, अर्का मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. प्रेम ज्ञवाली, डा भोजराज लुइटेल, एनेस्थेसियोलोजिस्ट डा. अर्चन अधिकारीको समूह रहेका थिए । उनकाअनुसार मिर्गौलाजस्तो संवेदनशील अंगको शल्यक्रिया गर्नलाई ठूलो समूह हुन्छन् । हरेक शल्यक्रियामा एक्लो चिकित्सकले मात्र केही गर्न नसक्ने श्रेष्‍ठ बताउँछन् ।

यसअघि पनि अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण आठ साताअघि गरिएको थियो । ३५ वर्षीय पुरुषलाई उनकै ३० वर्षीय श्रीमतीले मिर्गौला दान गरेकी थिइन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्‍ठले बताए ।

पूर्वाञ्चलमा नोबल अस्पतालमा मात्र मिर्गौला प्रत्यारोपण हुने गरेको छ । नोबेल अस्पतालले गएको साउन ३ गते मिर्गौला प्रत्यारोपणका लागि सरकारबाट अनुमति प्राप्त गरेको थियो भने मिर्गाैला प्रत्याराेपणका अस्पतालले २०७६ भदाै ९ गते आवेदन  दिएकाे थियाे । 

नोबेल अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको खर्त कति लाग्छ ?

डा. श्रेष्‍ठको भनाइ जस्ताकाे तस्तै : मिर्गौला प्रत्यारोपण गर्नलाई सहज छैन । अंग दान गर्नलाई नेपालको सम्पूर्ण कानुनी प्रक्रिया गर्नुपर्छ । मिर्गौला लिने र दिनेको दुवैको म्याचिङ हुनुपर्छ  । त्यसपछि मात्र मिर्गौला दिने प्रक्रिया अगाडि बढ्नेछ । मिर्गौला दान गर्नेको उच्च रक्तचापदेखि सम्पूर्ण अवस्था परीक्षण गरिन्छ ।

मिर्गौला रिजेक्सन नहोस् भनेर म्याचिङ गरेको एकदेखि डेढ लाख रूपैयाँ लाग्छ । शल्यक्रिया गर्ने समयमा कडा खालको इन्जेक्सन दिइन्छ । त्यसको करिब ३ लाख  रूपैयाँ लाग्छ ।

लिने र दिनेको मिर्गौलाको शल्यक्रिया गर्दा करिब ६ लाख रूपैयाँ खर्च लाग्छ । निजी अस्पतालमा कुल १० लाख रूपैयाँमा सहजै मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । सरकारी अस्पतामा करिब साढे पाँच लाख रूपैयाँमा शल्यक्रिया गर्न सकिन्छ । नोबेल अस्पतालमा दुई साता र चार साताको बीचमा मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ ।

प्रत्यारोपण गरिसकेपछि दुवै जनालाई सातासम्म मिर्गौला वार्डमा राखिन्छ । मिर्गौला दान गर्नासाथ मानिस कमजोर भइन्छ भन्‍ने भ्रम छ । कमजोर भइँदैन र त्यस्तो भ्रम राख्‍नु हुँदैन । मिर्गौला दान गरेपछि लिने र दिनेले आफ्‍नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । 

एउटा मिर्गौला नहुँदैमा मानव शरीर कमजोर हुँदैन । यौन शक्ति ह्रास हुँदैन । एउटा मिर्गौला दान गर्दैमा कमजोर भइँदैन ।  स्वास्थ्यको नियमित परीक्षण गर्नुपर्छ । उच्च रक्तचाप हुन नदिन नूनकाे सेवन कम गर्ने, खानपानमा ध्यान दिनुपर्छ । आवश्यकताअनुसार औषधि पनि सेवन गर्नुपर्छ । ६-६ महिनामा नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । एउटै मिर्गौलाले लामो समयसम्म बाँच्‍न सकिन्छ ।

 

र, याे पनि 

सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउनेको संख्या बढ्यो


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x