स्वास्थ्य

शुक्रराज ट्रपिकलमा औषधि सेवन गर्न आउने नयाँ एचआइभी संक्रमितहरू बढे

देशभरका ४० केन्द्रमा औषधि वितरण हुँदै

अतिन आचार्य |
कात्तिक २२, २०७८ सोमबार १७:३० बजे

फाइल तस्बिर

काठमाडौँ- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा मासिक ३० जना नयाँ एचआईभी संक्रमित औषधि सेवन गर्न जाने गरेका छन् । अस्पतालमा न्यूनतम संख्यामा पनि औषधि प्रयोग गर्नेको संख्या ३० जना भन्दा बढी हुने गरेको अस्पतालले जनाएको छ । 

पछिल्लो समय कोभिड-१९ को महामारीले परीक्षण गर्न आउनेको संख्या घटेको थियो । संक्रमितको संख्या घटेकाले र निषेधाज्ञा हटेकाले पनि परीक्षण गर्न आउनेको संख्या बढेको हो । अस्पतालमा दैनिक एचआईभी परीक्षण गर्नेको संख्या २० जना रहेको अस्पतालले जनाएको छ । परीक्षण गर्न आएकामध्ये पुरुषको संख्या बढी र महिला कम हुने गरेको छ । 


एचआईभी परीक्षण गर्न आउनेहरू लागूपदार्थको दूर्व्यसनीमा लागेका र वैदेशिक रोजगारबाट फर्केकाहरू बढी हुने गरेको अस्पतालकी मेडिकल अफिसर डा. लिना देवकोटाले बताइन् ।

उनका अनुसार समलिंगीहरू र यौन व्यवसायीहरू पनि परीक्षण गर्न आउने गरेका छन् । यौन व्यवसायीका सम्पर्कमा पुगेकाहरूसमेत परीक्षण गर्न आइरहेको देवकोटाले जानकारी दिइन् । वैदेशिक रोजगारमा गएकाहरूको परिवारसमेत परीक्षण गर्न जाने गरेका छन् ।

नियमित रुपमा अस्पतालमा आएर औषधि सेवन गर्नेको संख्या दुई हजार १८ जना छन् । जसमध्ये पुरुष एक हजार ११६ र महिला नौ सय १ जना रहेका छन् । पछिल्लो समय वयस्क उमेरसँगै बच्चाहरूमा पनि एचआईभी संक्रमित देखिन थालेका छन् । अस्पतालमा आएर ४० जना बालबालिकाहरूले नियमित औषधि सेवन गर्ने गरेको डा. देवकोटाले बताइन् । 

उपत्यकामा बालबालिकालाई चार अस्पतालमा एचआईभीको एआरटी औषधि वितरण गरिन्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,कान्ति बाल अस्पताल,  त्रिवी शिक्षण अस्पताल र प्रसुती गृह थापाथलीबाट बालबालिकाले एचआईभीको औषधि प्राप्त गर्न गरेका छन् । सन् २००४ देखि सरकारले एचआईभीको औषधि निशुल्क उपलब्ध गराउन थालेको हो ।

औषधि नियमित सेवन गरी त्यसको प्रभाव देखिनेहरूको संख्या एक हजार ८८४ जना छन्  । 'सप्रेस्ड संक्रमितहरू करिब दुई हजारको हाराहारीमा छन्,' उनले भनिन्,' नियमित ‍औषधि सेवन गर्नेहरूको रोग प्रतिरोधात्मक क्षमता बढने गरेको छ ।'

नियमित औषधि सेवन गर्नाले मृत्युदरसमेत कम गराउने उनको दाबी छ । एचआईभी नियन्त्रण गर्नसमेत यसले सहयोग गर्ने उनको भनाइ छ । एचआईभी रोकथाम गर्न धेरैलाई एचआईभीको परीक्षण गर्न उनले सुझाव दिइन् ।

अस्पतालमा ठेगाना परिवर्तन गरी एचआईभीको परीक्षण गर्न आउने गरेका छन् । परीक्षण गर्ने सबैले काठमाडौँकै ठेगाना उल्लेख गर्ने गरेको देवकोटाले बताइन् । एचआईभी लागेकाप्रति समाजले राम्रो दृष्‍टिकोणले नहेर्ने भएकाले ठाउँ परिवर्तन गरी परीक्षण गरी संक्रमितले औषधि सेवन गर्ने गरेका छन् ।

उपत्यका बाहिर एआरटी पाइने भए पनि उपत्यकाका संक्रमितले बाहिर खाने र बाहिरकाहरू उपत्यका आउने गरेको दृष्‍टान्त देवकोटाले सुनाइन् । कोभिड महामारी सुरु भएपछि अस्पतालमा औषधि सेवन गर्ने एक सय ६७ जना थपिएका छन् ।

देशभर १९ हजार बढीले औषधि सेवन गर्दै

राष्‍ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार हालसम्म ३० हजार ३ सय संक्रमित छन् । जसमध्ये पुरुष १६ हजार ३१४ र महिला १३ हजार ९८६ जना छन् । बालबालिका एक हजार २६८ जना रहेको केन्द्रले उपलब्ध गराएको तथ्‍यांकमा उल्लेख छ ।

देशभर औषधि सेवन गर्नेको संख्या १९ हजार ८२७ जना छ्न् । विभिन्‍न जिल्ला गरी ४० वटा एआरटी केन्द्रमा औषधि वितरण गर्ने गरिएको केन्द्रका वरिष्ठ स्वास्थ्‍य अधिकृत लोकराज पाण्डेले बताए । उनका अनुसार ८१ ठाउँबाट एचआईभी परीक्षण गरिने उनले जानकारी दिए ।

मुलुकमा सन् २०२० मा ६३६ संक्रमितको मृत्यु भएको छ । सोही वर्ष नयाँ ७५४ संक्रमित थपिएका थिए । ‍औषधि सेवन गरेका मुलुकमा मृत्युदर घटेको पाण्डेले बताए । केन्द्रले एचआईभी रोकथाम तथा न्यूनीकरणका कार्यक्रम गरेकाले पनि मृत्युदरमा कमी आएको उनको भनाइ छ ।

औषधिको पहुँचमा संक्रमित पुगेकाले पनि संक्रमित घटेको उनले दाबी गरे । पछिल्लो एक दशकमा ६४ प्रतिशतले एचआईभी संक्रमित घटेका छन् । ८५ प्रतिशत बालबालिकाहरूमा समेत संक्रमण घटेको उनले प्रस्ट पारे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x