स्वास्थ्य

दिउँसो सुत्दा स्वास्थ्यमा हानी

इकागज |
कात्तिक २६, २०७८ शुक्रबार ७:४६ बजे

प्राकृतिक रुपमै शरीरलाई निन्द्रा चाहिन्छ । निदाउनु भनेको शरीरलाई रिचार्ज गर्नु हो । राम्रो निन्द्रालाई राम्रो दिनको सुरुवात पनि मानिन्छ । सुत्दा शरीरका बाहिरीसँगै भित्री अंगले पनि आराम लिइरहेको हुन्छ । तर, कतिबेला सुत्‍ने त्यसको भने हेक्का राख्नुपर्छ । सुत्‍ने समय नमिलाउँदा रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउनुका साथै थुप्रै स्वास्थ्य समस्या देखिन सक्छ ।

हामीमध्ये घेरैको राति जागा बसेर दिनमा सुत्‍ने बानी हुन्छ । राति ढिलासम्म बसेर दिउँसो सुत्‍ने बानी राम्रो होइन । निन्द्रालाई समय तालिका अनुसार सन्तुलन गर्न सकियो भने दिनभर शरीरमा स्फुर्ति हुन्छ । यसका लागि बेलुका सकेसम्म छिटो सुतेर बिहान छिटो उठ्नुपर्छ । बेलुका १० बजेभन्दा ढिला बस्‍नु हुँदैन । सामान्यतया सबै उमेर समूहका मानिसको लागि ६ घन्टाभन्दा कम सुत्नु भने स्वास्थ्यको लागि राम्रो मानिँदैन ।


सात वर्षभन्दा मुनिका बालबालिकाको हकमा दिनमा १२ देखि १५ घन्टाको निन्द्रा आवश्यक हुन्छ । ७ वर्षदेखि १३ वर्षसम्मकाको लागि ९ देखि ११ घन्टा सुत्‍न आवश्यक हुन्छ । त्यस्तै, १४ देखि १९ वर्षका किशोरकिशोरीले ८ देखि १० घन्टा सुत्नुपर्छ । वयष्क मानिसहरूले भने ६ देखि ८ घन्टा सुत्नुपर्छ । ६० वर्षभन्दा माथिका वृद्धवृद्धाले हरुको तुलनामा धेरै समय सुत्नुपर्छ । उनीहरूका लागि १० देखि १२ घन्टा निन्द्रा आवश्यक हुन्छ । 

जहिले मन लाग्यो उहिले सुत्दा कोही मोटाउने कोही दुब्लाउने हुन्छ । निन्द्रा अव्यवस्थित हुने बित्तिकै जीवनशैली नै अव्यवस्थित हुन जान्छ । खानपानको समय मिल्दैन । खानेतालिका नमिल्दा त्यसले पनि स्वास्थ्यलाई हानी गर्छ । हामीले खाएको खाना पचाउनका लागि शारीरिक श्रमको आवश्यकता हुन्छ । दिउँसो खाएर सुतेपछि शरीरको अंगले परिश्रम गर्न पाउँदैन र शरीरका भित्री अंगहरू निस्क्रिय हुँदै जान्छ ।

निन्द्रा अव्यवस्थित हुँदा जति नै आराम गरे पनि थाकेको अनुभव हुन्छ । शरीरमा आलस्य हुन्छ । छाला फुस्रो हुने, चाउरी छिटो पर्ने हुन थाल्छ । दिउँसो सुतेर उठ्दा छटपटी हुने, टाउको भारी हुने, मन बेचैन हुने हुन्छ । त्यसैले, दिउँसो सुत्दा हामीले जहिल्यै यस्ता कुरामा विचार पुर्‍याउनुपर्छ । 


 


Author

थप समाचार
x