स्वास्थ्य

'उपत्यकाका ५३% दीर्घ रोगीले कोभिडविरुद्धको खोप पाएनन्'

पुससम्ममा लक्षित समूहको ६६% ले खोप पाउने

अतिन आचार्य |
कात्तिक २६, २०७८ शुक्रबार १५:५ बजे

काठमाडौँ- उपत्यकाका ५३ प्रतिशत दीर्घ रोगीले कोभिडविरुद्धको खोप लगाउन पाएका छैनन् । अधिकांश सामान्य नागरिकले कोभिडविरुद्धको अन्य कम्पनीका खोप लगाइ सकेकाले फाईजर खोप दीर्घ रोगीलाई लगाउन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

कोभिडविरुद्धको खोप लगाउनमा मुलुकमा सिंगो समूह छुटेकाले पहिलो प्राथमिकतामा राखी फाईजर खोप लगाउन लागेको छ । महामारीमा सबैभन्दा बढी जोखिममा  दीर्घ रोगी र ज्येष्‍ठ नागरिक उच्च जोखिममा रहने भएकाले खोप उनीहरूलाई सरकारले खोप उपलब्ध गराएको हो । सुरुवातमा पनि खोप ज्येष्‍ठ नागरिकलाई उपलब्ध गराएको थियो ।   


शुक्रबार विभागको तालिम केन्द्र भवनमा कोभिड-१९ खोप अभियानबारे अन्तरक्रिया कार्यक्रममा परिवार कल्याण महाशाखा प्रमुख सागरकुमार दाहालले दीर्घ रोगीलाई यो खोप निकै लाभदायक हुने बताए ।

उपत्यका लगायत देशभरका दीर्घ रोगीले कोभिडविरुद्धको खोप नपाएको दाहालको तर्क थियो । 'अन्य कम्पनीको खोप लगाइसकेकाले नयाँ खोप आएकाले प्रभावकारीता पनि राम्रो हुने भएकाले दीर्घ रोगीलाई दिन लागिएको हो,' उनले भने ।

अन्तरक्रिया कार्यक्रममा उनले १२ देखि १७ वर्षसम्मका बालबालिकाले खोप पाउने पनि दाबी गरे । सीमित खोप आयात भएकाले सबैलाई नपुग्‍ने उनको भनाइ छ । कात्तिक ९ गते  अमेरिकाबाट एक लाख ६ सय २० खोप आयात भएको थियो ।

सरकारले खरिद गरेको फाईजर खोप आगामी डिसेम्बरसम्म आयात हुने दाहालले सुनाए । अहिले जस्तै फाईजर खोप आयात गरिएपछि पनि विद्यालयका बालबालिका र लक्षित मानिसलाई उक्त खोप लगाइने उनको भनाइ छ । 

सरकारले पुससम्म लक्षित जनसंख्याको दुई तिहाई ६६ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेको छ । २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनामा कोभिडविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । चैतसम्म लक्षित जनसंख्याको सबैलाई खोप उपलब्ध गराउने योजना रहेको दाहालले बताए ।

मुलुकमा गत वर्षको माघ १४ गतेदेखि कोभिडविरुद्धको खोप लगाउन थालिएको थियो । हालसम्म कोभिसिल्ड, भेरोसेल, अष्‍ट्राजेनिका र जोन्सन एण्ड जोन्सनको खोप लगाइसकिएको छ । हालसम्म १८ वर्षका माथिका मानिसले मात्र कोभिडविरुद्धको खोप लगाएका छ्न् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले दीर्घ रोगीलाई खोप सुरक्षाकवच रहेको बताए । उनका अनुसार विकसीत मुलुकमा निर्माण गरिएको खोप महामारीको समयमा कोभिडविरुद्धको खोप लगाउन पाउनु अवसर हो ।

'नेपाल कोभिडविरुद्धको खोप लगाउनलाई नयाँ चरणमा प्रवेश गरेको छ,' सिंहले भने,' केही समयअघि सम्म अमेरिकामा उत्पादित खोप लगाउन सम्भव थिएन । केही दिनमा अमेरिकाबाट ल्याइएको खोप लगाउन सुरु गरिन्छ ।'

थप फाईजर खोप खरिद ल्याइने तयारी भइसकेको उनले बताए । खोप आयात भएसँगै धेरै मानिस सुरक्षित हुने उनले विश्वास व्यक्त गरे । 'पछिल्लो समय मुलुकमा कोभिडको जोखिम कम हुँदै गइरहेको छ,' अन्तरक्रिया कार्यक्रममा सिंहले भने ।

सबै नेपाली नागरिकले खोप प्राप्त सक्ने गरी अभियान सञ्चालन गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्‍ण पौडेलले बताए । अहिलेसम्म लगाएका खोपहरूले कतिको प्रभावकारी भयो भनेर एक चरणको अध्ययन पनि भइसकेको उनको भनाइ छ ।

'कोभिसिल्ड र भेरोसेल खोप लगाएका तीन हजार मानिसको कुन खोपको प्रभावकारीता बढी भयो भनी सर्भे भइरहेको छ,' पौडेलले भने,' पहिलो र दोस्रो डोज लगाएका मानिसमा यसको प्रभावकारीताको अध्ययन भइसकेको छ ।'

झाडापखाला तथा हैजाविरुद्ध खोप लगाउन सरकारले आइतबार खोप ल्याउने भएको छ । २ लाख ५२ हजार खोप ल्याउन लागेको हो । केही साताअघि कपिलवस्तुमा झाडापखाला फैलिएको ठाउँमा उक्त खोप लगाउने भएको हो । 

उक्त जिल्लामा करिब १५ सय मानिस प्रभावित भएका थिए । १३ सय बढी मानिस संक्रमणमुक्त भइसकेका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x